काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा संस्थापन पक्षका योगेन्द्र कुँवर निर्वाचित भएका छन्। कांग्रेस निकट कर्मचारीहरुको साझा संगठन ट्रेड युनियनको सातौं महाधिवेशनबाट कुँवर ४४१ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन्।
पार्टीको नयाँ नेतृत्वका लागि बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान भएको थियो। योगेन्द्र यसअघि महासचिव थिए।
पार्टी उपसभापति पूर्णबहादुर खड्का निकट मानिने योगेन्द्र संस्थापन पक्षका उम्मेदवार हुन्। उनीसँग महेन्द्र यादव चुनावी प्रतिस्पर्धामा थिए। यादवले ३७६ मत ल्याएका छन्। यादव डा शेखर कोइराला समूहका हुन्।
शेखर पक्षबाट महासचिवसहित पदाधिकारी बर्चश्व कायम भएको छ। महासचिवमा अजय कुमार राई ४६४ मतका साथ निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्थी डीपी अर्यालले ३३७ मतमात्र पाए।
वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अयोध्यप्रसाद यादवले ३३६ मत पाए। उपाध्यक्षमा गणेशबहादुर केसी(खुला) र ज्योति कोइराला(खुला), राधिका कुइकेल(महिला), नेत्रविक्रम थापा(सेवा क्षेत्र), ललितबहादुर श्रेष्ठ(उत्पादन क्षेत्र), राजेश पालिखे(अनौपचारिक तथा स्वरोजगार) निर्वाचित भएका छन्।
उपमहासचिवमा जनार्दन भट्टराई(खुला), बलदेव तामाङ(खुला), सुशीला घिमिरे(महिला),देवदत्त बडु(सेवा क्षेत्र), कुलबहादुर खड्का(उत्पादन क्षेत्र), रक्मणी थापा(अर्चना)(अनौपचारिक तथा स्वरोजगार) निर्वाचित भएका छन्। कोषाध्यक्षमा संजयकुमार दाहाल र सहकोषाध्यक्ष रशामाया गुरुङ निर्वाचि भएका छन्।