
काठमाडौं : चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओसमा पर्याइ बन्धक बनाएर जबरर्जस्ती ‘अनलाइन स्क्यामिङ’मार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ।
उनीहरुले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौंबाट कोलकात्ता, थाइल्याण्ड हुँदै लाओसको बोया प्रोभिन्सस्थित गोल्डेन ट्रियाङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पुर्याइ बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्रयापमा पारी जबरर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।
ब्यूरोका अनुसार पीडित दुई व्यक्ति लाओसमा रहेको नेपाली कन्सुलर कार्यालयको सहयोगमा पाँच महिनापछि गत बैशाखमा छुटेर आएका थिए। उनीहरुले दिएको जाहेरीका आधारमा दुई जना भने पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा ब्यूरोले कालिकोट घर भई हाल काठमाडौंको नागर्जुन बस्ने २५ वर्षीय पदम नेपाली र नुवाकोट घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षका श्यामकुमार तामाङलाई पक्राउ गरेको छ। उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ।
पदम नेपाली भने लाओस, कम्बोडिया, म्यानमारलगायतका देशमा चाइनिज भाषाको ट्रान्सलेटरको रुपमा काम गर्दै आएका र सोही क्रममा चाइनिजसँग मिलेर उक्त धन्दामा संलग्न रहेको पाइएको छ। उनले युवालाई आकर्षक रोजगारी पाइने लोभ देखाएर लाओस पुर्याएका खुल्न आएको छ।
त्यहाँ पुर्याएपछि त्यो गिरोहले फेसबुक, ह्वाट्सएपमा फेक आइडी बनाएर अपरिचित व्यक्तिहरुसँग चिनजान गरी मन जितेर उनीहरुलाई फसाउन परिचालन गर्ने गरेका पाइएको छ। नेपाल, थाइल्याण्ड, भियतनाम, म्यानमार, लाओस दुबईजस्ता देशमा चिनियाँ कम्पनीले नेपाललगायतका देशबाट आकर्षक रोजगारीको लोभ देखाइ बेरोजगार युवालाई प्रयोग गरेर अनलाइन स्क्यामिङमार्फत विशेष गरी अमेरिका युरोपका नागरिकलाई लक्षित गरी ठगी गर्ने गरेका थिए।
पीडितलाई उनीहरुले नेपालबाट लाओस् पर्याउनका लागि लागेको आठ लाख फिर्ता गरेपछि मात्र नेपाल फर्काउने भनेर मानसिक यातना दिएको पाइएको र यसमा चिनियाँ र नेपालीको संलगनता रहेको ब्यूरोले जनाएको छ। रासस