PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित, साझेदारी बनाउन नसक्दा ब्याटिङमा संघर्ष



पहिलोपोस्ट

वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित, साझेदारी बनाउन नसक्दा ब्याटिङमा संघर्ष

काठमाडौँ: क्रिकेट विश्वकप छनोटमा नेपाली क्रिकेट टोली वेस्ट इन्डिजसँग पराजित भएको छ। जिम्बावेको हरारे स्पोर्टस क्लबमा सम्पन्न खेलमा नेपाल १०१ रनले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४९.४ ओभरमा अलआउट हुँदै २३८ रन बनायो।

साझेदारी बनाउन र तोड्न संघर्ष

फितलो सुरुवात गरेको वेस्ट इण्डिजले साइ होप र निकोलस पुरनको सानदार साझेदारीमा इनिङ्स उकासेको थियो। दुबै खेलाडीले शतक प्रहार गर्दा १७२ बलमा २१६ रनको साझेदारी बनाएका थिए। नेपाली बलरले उनीहरुको साझेदारी समयमै तोड्न नसक्दा वेस्ट इन्डिजले ठूलो स्कोर बनाउन सकेको थियो। ४३.६ ओभरमा पुगेर बल्ला दीपेन्द्रसिंह ऐरीले पुरनलाई आउट गराउँदै साझेदारी तोडेका थिए। तर, त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो।

त्यस्तै नेपालले ब्याटिङका क्रममा ठूलो साझैदारी बनाउन सकेन। नेपालका लागि सबैभन्दा ठूलो साझेदारी बनाएका आरिफ शेख र गुलसन झाले ९४ बलमा ६८ रनको साझेदारी बनाए।

वेस्ट इण्डिजको इनिङ्स

टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको हो।

वेस्ट इण्डिजका ओपनर केल मेयरको पहिलो विकेट लिँदै करण केसीले नेपालको सुखद सुरुवात गराए। केसीले उनलाई खेलको १.३ ओभरमा कुशल भुर्तेलबाट क्याच आउट गराए।

दोस्रो विकेट गुलसन झाले लिए। उनले ४.१ ओभरमा जोनसन चार्ल्सलाई आशिफ शेखबाट क्याचआउट गराए। त्यतिबेला स्कोर बोर्डमा वेस्ट इण्डिजले ९ रन बनाएर २ विकेट गुमाएको थियो।

तेस्रो विकेट सन्दीप लामिछानले लिए। उनले ३२ रन बनाएका ब्रान्डन किंगलाई १५.३ ओभरमा बोल्ड आउट गराए। त्यसपछि आएका निकोलस पुरनले कप्तान साइ होपसँग साझेदारी गर्दै वेस्ट इण्डिजको इनिङ्स उकासे। उनले होपसँग १७२ बलमा २१६ रनको साझेदारी बनाए। उनीहरुको बीचको साझेदारी तोड्न नेपाली बलरले संघर्ष गरे। उनीहरु बीचको साझेदारी दीपेन्द्रसिंह ऐरीले तोडे। ऐरीले ४३.६ ओभरमा निकोलस पुरनको विकेट लिए। पुरनले ९४ बलमा ११५ रन बनाए।

त्यस्तै रोभनम पावेललाई छैटौँ विकेटका रुपमा ललित राजवंशीले ४७.१ ओभरमा आउट गराए। त्यस्तै शतकीय इनिङ्स खेल्दै सर्वाधिक १३२ रन बनाएका साइ होपलाई ४९.२ ओभरमा राजवंशीले नै आउट गराए। उनले अन्तिम बलमा १ रन जोडेका किमो पउललाई बोल्डआउट गरे।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए। नेपालका लागि करण केसी सबैभन्दा महँगो सावित भए। उनले १० ओभरमा १ विकेट लिएर ८१ रन दिए।

नेपालको इनिङ्स

३४० रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुवात राम्रो गर्न सकेन। ५ रन बनाएका कुशल भुर्तेल १.४ ओभरमै अल्जारी जोशेफको बलमा बोल्ड आउट भए।

दोस्रो विकेट नेपालले भीम सार्कीको गुमायो। बाउन्ड्री हान्ने सुरमा २ रन बनाएका उनी उनी जेसन होल्डरको बलमा कप्तान होपबाट क्याचआउट भए।

ओपनर आशिफ शेख २८ रन बनाएर तेस्रो विकेटका रुपमा आउट भए। उनी कीमो पउलको बलमा केल मेयर्सबाट क्याचआउट भए। उनीपछि कप्तान रोहित पौडेल पनि १९.४ ओभरमा ३० रन बनाउँदै जेसन होल्डरको बलमा क्याचआउट भए।

२२.१ ओभरमा ब्याट्सम्यान कुशल मल्ल अकिल होसैनको बलमा क्याचआउट भए। उनी आउट हुँदा नेपालको स्कोर बोर्डमा ५ विकेट गुमाएर ९२ रन थियो।

छैटौ विकेटका लागि दीपेन्द्रसिंह ऐरीले आरिफ शेखसँग ३७ रनको साझेदारी गरे। उनी २० बलमा २३ रन बनाउँदै होसैनको बलमा २८.१ ओभरमा क्याचआउट भए।

सातौँ विकेटका लागि नेपाली टोलीले सबैभन्दा ठूलो साझेदारी बनायो। गुलसन झा र आरिफ शेखले ९४ बलमा ६८ रनको साझेदारी गरे। तर,४३.३ ओभरमा बाउन्ड्री हान्न खोज्दा ४२ रन बनाएका गुलसन किमो पउलको बलमा होपबाट क्याचआउट भए। त्यसपछि आएका सन्दीप लामिछाने १ रन बनाएर जेसन होल्डरको बलमा क्याभआउट भयो।

नेपालका लागि सर्वाधिक रन बनाए आरिफ शेखले। उनले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ६३ रन बनाएर ४५.६ ओभरमा आउट भए। अन्तिम विकेटका लागि ललित राजवंशीसँग साझेदारी गर्नेक्रममा हिटर करण केसीले २७ बलमा २८ रन बनाउँदै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोहोर्‍याए।

अमेरिकालाई हराएको नेदरल्याण्ड्स अर्को प्रतिस्पर्धी

आजै सम्पन्न समूह 'ए' को अर्को खेलमा अमेरिकालाई नेदरल्याण्ड्सले हरायो। टाकासिंगा स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा नेदरल्याण्ड्सले अमेरिकामाथि ५ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले ४३.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

नेपालले अर्को खेलमा नेदरल्याण्ड्ससँग शनिवार खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell