PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव



पहिलोपोस्ट

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

काठमाडौं : भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ।

भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ। अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ।

अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएका छन्।

भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताए।

उनले भने, ‘अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो।’

अस्पताल प्रशासनका अनुसार सो खोप लगाउने बिरामी दैनिक एकसय हाराहारीमा अस्पताल आउने गर्छन्। सङ्घबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ। कुकुरले टोकेकोलगायतका अवस्थामा सो खोप लगाइने गरिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell