PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

घण्टौं हिँडेर विद्यालय पुग्‍नुपर्ने अवस्थालाई अन्त्य गर्ने प्रयासमा वाग्मती सरकार, शिक्षामा पहुँच बढाउन सामुदायिक विद्यालयमा बस सेवा



निशा गुरुङ

घण्टौं हिँडेर विद्यालय पुग्‍नुपर्ने अवस्थालाई अन्त्य गर्ने प्रयासमा वाग्मती सरकार, शिक्षामा पहुँच बढाउन सामुदायिक विद्यालयमा बस सेवा

हेटौंडा : मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ का सबिन वाईबालाई विद्यालय जान सधैं हतार हुन्थ्यो। उनको घरबाट विद्यालयसम्म पुग्न करिब डेढ घण्टा हिँड्नु पर्ने थियो। भीमफेदीकै देउरालीका रस्मीलाई पनि घरदेखि विद्यालयसम्म पुग्न एक घण्टा लाग्थ्यो। घरदेखि विद्यालय टाँढा हुँदा कहिले काँहि उनी ढिला हुँदा विद्यालयमा गेट बन्द भइसक्थ्यो जसकारओ फर्केर घरै आउनुपर्ने हुन्थ्यो उनलाई।

यो समस्या सबिन र रस्मीको मात्रै होइन। भीमफेदी गाउँपालिकाकै देउराली, चिसापानी, दमार, पान्द्राङ, धोर्सिङ्, गोल्पिङवेसी, आँचौर, माण्डु,  गडेली, जुडिखेत, उर्लाघारी, धुसेनीलयातका क्षेत्रका विद्यार्थीहरु हो। तर , अहिले भने उनीहरुको त्यो समस्या समाधान भएको छ।

भीमफेदी गाउँपालिका वडा नम्बर-६ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको  २५ लाख सहयोगमा ४२ सिटे बस सञ्चालनमा आएपछि त्यहाँ अध्ययनरत् विद्यार्थीलाई विद्यालयमा आउन र फर्किन निकै सहज भएको छ। बस सञ्चालन भएपछि यस क्षेत्रका विद्यार्थी अभिभावक निकै खुसी भएका छन्।

सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा अनुदान कार्याक्रम अन्तर्गत सामुदायिक विद्यालयलाई बस सहयोग गर्दै आइरहेको छ। आर्थिक वर्ष २०७६-७७ देखि मन्त्रालयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सुविधाको लागि भन्दै बस सेवा संचालन सुरु गरेको थियो। त्यसका लागि प्रतिविद्यालय २५ लाख रुपैयाँ दिदै आएको छ मन्त्रालयले।

मन्त्रालयका सचिव रामृष्ण पुडासैनीका अनुसार वाग्मती प्रदेशका १३ वटै जिल्लाहरुमध्ये धेरै विद्यार्थी हुने, टाढाबाट आउनुपर्ने अवस्था भएका विद्यालयको मापदण्ड हेरेर बस उपलब्ध गराइएको छ। सामुदायिक विद्यालयमा बस सेवाले शैक्षिक गुणस्तरलाई समेत सहयोग पुर्‍याउने अपेक्षा सरकारले लिएको छ। बसको सुविधा भएमा विद्यार्थी एक-दुई घण्टा हिँड्दा थकित हुने र पढाइमा असर गर्ने अवस्थाको अन्त्य हुने र यसले सिकाइ उपलब्धि बढाउने अपेक्षा पनि गरिएको छ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामुदायिक विद्यालयमा बस सेवाले विद्यार्थीहरु खुशी हुनुका साथै विद्यालय जाने वातावरण पनि बनेको बताइन्। उनले बस सेवाले सामुदायिक विद्यालयका विद्यार्थीहरु घण्टौं हिँड्नुपर्ने समस्याको सामाधान हुनुका साथै विद्यार्थीमा पढ्ने उर्जा मिल्ने दाबी गरिन्।

उनले भनिन्, ‘सामुदायकि वद्यिालयलाई अब्बल बनाउँदै अतिविपिन्न विद्यार्थीको भविष्य सुनश्चिति गर्न हामीले बस सेवा सञ्चालन गरेका हौं। ’

सामाजिक विकास मन्त्रालयले बितेको पाँच वर्षमा वाग्मती प्रदेशका ४१ वटा विद्यालयलाई बस खरिद गरेर पठाइसकेका छन्। जसमध्ये मकवानपुर जिल्लाका ५ वटा सामुदायिक विद्यालयमा बस सञ्चालन छन्। त्यसैगरि काभ्रेपलाञ्चोक जिल्लाका ५ वटा विद्यालय, सिन्धुलीमा ८ वटा सामुदायिक विद्यालयमा, सिन्धुपाल्चोक जिल्लाका ४ वटा विद्यालय, चितवनका ३ र धादिङ जिल्लाका ३ वटा सामुदायिक विद्यालयहरुमा बस सञ्चालनमा छन्। त्यसैगरि, काठ्माण्डौं जिल्लाका २, ललितपुरका २, भक्तपुरका २, दोलखाका ३, नुवाकोटका २, रामेछापका २ र रसुवा जिल्लाका १ वटा सामुदयिक विद्यालयमा बस सञ्चालनमा छन्।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७९-८० का लागि प्रदेश जिल्लाहरुका थप २७ वटा सामुदायिक विद्यालयहरुमा बस सञ्चालन गर्न रकम पठाइसकेको छ। चालु आर्थिक वर्षमा काठमाडौंमा रहेको सामुदायिक विद्यालयका लागि १ वटा, काभ्रेका २, चितवनका ४, दोलखाका २, धादिङका ४ र नुवाकोटका २ वटा सामुदायिक विद्यालयमा बस सञ्चालन गर्न रकम उपलब्ध गराइएको छ। त्यसैगरि, भक्तपुरका १ , मकवानपुरका ५ , रसुवाका १ , रामेछापका १ , ललिपुरका १ , सिन्धुपाल्चोकका १ र सिन्धुली जिल्लाका २ वटा सामुदायिक विद्यालयलाई रकम उपलब्ध गराइएको छ।

२७ वटा विद्यालयहरुमा बस सञ्चालनका लागि रकम उपलब्ध गराइए पनि विद्यालयले बस खरिद गर्दा अख्तियारमा मुद्दा परेर काम रोकिएको कारणले गर्दा बस सञ्चालनमा आइनसकेको शिक्षा निर्देशनालयका निमित्त निर्देशक पुर्ण बहादुर दर्जीले जानकारी दिए। दर्जीले यहि असार २० गते भित्रमा २७ वटै विद्यालयहरुमा  बस सञ्चालन भइसक्ने बताएका छन्। विद्यालयमा बस सञ्चालनले प्रभावकारी देखाएपछि प्रदेशका अन्य सामुदायिक विद्यालयहरुको पनि माग आईरहेको निमित्त निर्देशक दर्जीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell