PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

घट्दो विदेशी लगानी : चिनियाँ व्यवसायी पलायन हुँदा नेपाली व्यवसायलाई पनि मर्का



रिना थापा

घट्दो विदेशी लगानी : चिनियाँ व्यवसायी पलायन हुँदा नेपाली व्यवसायलाई पनि मर्का

पोखरा : पोखरा घुम्न आउनेमा अधिकांश चिनियाँ पर्यटक हुन्थे पहिल्यै। तर, अहिले यो अंकमा फेरबदल भएको छ। भारतीय र चिनियाँ पर्यटकबाट पोखराका पर्यटन व्यवसायीले लाभ कमाइरहेका थिए। तर, कोरोनापछि चिनियाँ पर्यटकको संख्या ओरालो लाग्यो। यता, भारतीय पर्यटकको संख्या दोब्बर बन्यो। कोरोनापछि भारतीय पर्यटकको संख्यामा वृद्धि आउँदा व्यवसायलाई लागेको थियो चिनियाँ पाहुना आएसँगै व्यवसाय चलायमान हुन्छ

  स्रोत : पर्यटन मन्त्रालय गण्डकी प्रदेश 


पोखरासँग विशेष सम्बन्ध रहेको चिनियाँ पाहुना आशा थिए पर्यटन व्यवसायका लागि। तर, पोखरामा चिनियाँ पर्यटक मात्र घटेनन् प्रत्यक्ष विदेशी लगानीकर्ता पनि घटे। जसले पोखराको पर्यटन व्यवसायलाई मर्कामा पारिरहेको छ। 

पोखरा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)को तथ्यांक अनुसार कोरोना महामारी अगाडि पोखरामा १४ वटा चिनियाँ रेष्टुरेन्ट थिए। प्रत्यक्ष विदेशी लगानी रहेको रेष्टुरेन्ट चिनियाँ पाहुनको संख्यामा कमी आएसँगै आधा मात्रामा घटेको छ। ७ जना चिनियाँ व्यवसायी कोरोना महामारीपछि पलायन भए। जसको मार पोखराको पर्यटन बजारमा परेको छ। बाँकी रहेका चिनियाँ रेष्टुरेन्टलाई आन्तिरक पाहुनाले धानिरहेका छन्। 

रेवान अध्यक्ष नरेश भट्टराई भन्छन्,‘१४ वटा थिए (चिनियाँ होटल व्यवसायी)। अहिले कोभिड पछि पलायन भएर जम्मा ७ वटा रहेछन्। अहिले चाइनिज रेष्टुरेन्टमा खाने नेपालीको माहोल र क्रेज बढेको छ। त्यसैले धानिरहेको छ।’

रेवान अध्यक्षको भनाईलाई प्रत्यक्ष अनुभव गरिरहेकी छिन् चाइनिज रेष्टुरेन्ट सञ्चालक विष्णुमाया आचार्य। पोखरामा चिनियाँ स्वाद लिनका लागि चर्चित रेष्टुरेन्टमा पर्छ चाइना टाउनको रेष्टुरेन्ट , ‘द ओल्ड ल्यान हुआ चिनियाँ रेष्टुरेन्ट’। २१ वर्ष भयो यो रेष्टुरेन्ट सञ्चालनमा आएको। चिनियाँले सञ्चालनमा ल्याएको यो रेष्टुरेन्टमा नेपाली पनि स्वाद लिन पुग्छन्। पछिल्लो समय चाइनिज फुड कल्चरले नेपालीलाई आर्कषित गरिरहेको छ। जसको लाभ बाह्‍य पर्यटक नभए पनि चिनियाँ रेष्टुरेन्टले पाएका छन्। 

‘अहिले व्यापार चाइनिजको छैन। नेपालीनै आउँछन् हाम्रोमा। नेपालीले नै गर्दा अलिकति चलिरहेको छ। चाइनिज पर्यटक पनि छैन। पर्यटक नभएपछि रेष्टुरेन्ट बन्द भएका छन्। अहिले रेष्टुरेन्ट पनि घटे,’उनले भनिन्। 

प्रत्यक्ष विदेशी लगानी अन्तर्गत पोखरामा रेष्टुरेन्ट मात्र होइन होटल पनि घटेको होटल संघका अध्यक्ष लक्ष्मण सुबेदी बताउँछन्। पोखरामा चिनियाँले खोलेको होटल र रेष्टुरेन्टको मुख्य टार्गेट चिनियाँ पाहुना हुन्छन्। त्यसको लाभाशं पर्यटन बजारले पाउँछ। तर, पर्यटकको संख्यामा कमी आएसँगै चिनियाँ होटल व्यवसायपनि पलायन भइसकेका छन्। अहिले पोखरामा चिनियाँ लगानीमा खुलेको होटल शून्यमा झरेको अध्यक्ष लक्ष्मण बताउँछन्।  

‘होटल खासै छैन। एउटा दिदी गेष्ट हाउस थियो त्यो पनि उनीहरु छोडे कोभिड पछाडि रेष्टुरेन्छ चाहिँ छ। होटलमा निकै लगानी गरेका थिए पहिला चाहिँ। अहिले छैन। कोरोना ताका १०, १२ वटा थियो। अहिले खासै चाइनिजहरुको लगानी छैन,’उनले भने। 

पर्यटन बजारमा ओरालो लाग्दै गएका चिनियाँ पाहुनाको संख्याको कारण व्यवसायी पलायन हुँदा रोजगार पनि घुमेको छ। यो सँगै सरकारले भित्राउने चाहेको प्रत्यक्ष विदेशी लगानीमा कमी हुँदै गएको छ। प्रत्यक्ष विदेशी लगानीमा कमी आएपछि सरकारले लगानी बढाउन लचिलो नीति लिएको थियो। गत वर्ष विदेशी लगानीका लागि न्यूनतम दुई करोड रुपैँया लगानी सरकारले तोक्यो। त्यसअघि न्यूनतम लगानी ५ करोड थियो। यद्यपि, लचिलो नीतिले पनि नेपालमा प्रत्यक्ष विदेशी लगानी बढ्न सकेको छैन।

प्रत्यक्ष विदेशी लगानीबाट नेपालले सबैभन्दा बढी भारत र दोस्रोमा चीन रहेको छ। दोस्रोमा पर्ने चीनको लगानीमा ह्वास आउँदा यसले पर्यटन बजारमा असर गरिरहेको रेवान प्रथम उपाध्यक्ष विश्वराज पौडेल बताउँछन्। पर्यटक लक्षित गरि खोलिएका व्यवसायहरुमा पनि यसले मर्का परेको सुनाउँछन् उनी। 

‘अवश्य पनि नेपाली बजारको क्लाइन्ट चिनियाँ हुनुहुन्छ। अहिले चाइनिजहरुको फ्लो कम भएका कारण लगानीमा मात्र होइन उनीहरुले गर्ने सपिङमा पनि इम्‍प्याक्‍ट पार्छ। अहिले रेष्टुरेन्ट मर्कामा परेको त छ नै यो बाहेक अरु व्यवसायलाई पनि धेरै असर गरेको छ। नेपाली प्रोडक्टहरु पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरुपनि पूर्ण मर्कामा छन्,’उनले भने।

 यी सबै असरलाई कम गराउन सुरुवातमा चिनियाँ पर्यटकलाई लक्षित गरि प्याकेज ल्याउनुपर्ने बताउँछन् उनी। पाहुनाको रोजाइ पुन: पोखरा बनेसँगै मर्कामा परेका व्यवसाय चलायमान हुने उनको भनाइ छ।  

‘नेपाल सरकारले पनि पर्यटकहरु आइरहँदा गर्नुपर्ने छुट दिने। अन्य चिज प्याकेज ल्याउनुपर्‍यो। सरकारले उताको सरकारसँग वार्ता गर्नुपर्‍यो। यसरी पर्यटक आए सप्लाई आउने बित्तिकै अन्य चलायमन हुन्छ। आम नेपालीहरुको पनि व्यवसायमा पनि राम्रो हुन्छ,’उनले भने।

विदेशी लगानीमा कमी आउने बित्तिकै अन्य व्यवसायमा पनि अप्रत्यक्ष असर पार्नुको अर्को कारण हो गण्डकीमा विदेशी लगानी। सात प्रदेशमध्ये गण्डकी तेस्रो स्थानमा पर्छ प्रत्यक्ष विदेशी लगानी भएको प्रदेशमा। 

      
         प्रदेशगत हिसाबले प्रत्यक्ष विदेशी लगानीको तथ्यांक 


के कारणले घटे चिनियाँ पर्यटक? 

दुई छिमेकी देश भारत र चीनमध्ये भारतबाट पर्यटक आउन सहज छ। खुल्ला सीमाका कारण पनि भारतीय पर्यटकलाई नेपाल भ्रमण गर्न सहज वातावरण बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि पनि गण्डकी क्षेत्रमा भारतीय पर्यटक बढेका छन्। 


 
                   पोखरामा भारतीय पर्यटकको संख्या बढ्दो ट्रेन्ड


यता, चिनियाँ पाहुनाको संख्या भने कमी हुँदै गएको छ। जसको दुई कारण रहेको बताउँछन् ओभरसिज चाइनिज एसोसिएसन पोखराका सचिव स्याङ सोआ। नेपाली नाम ‘सन्देश’ले परिचित चिनियाँ नागरिक उनी चिनियाँ पर्यटकलाई थाईल्याण्डले आर्कषण गरिरहेको बताउँछन्। नेपाल आउने जहाज टिकटभन्दा थाईल्याण्डको सस्तो भएका कारण चिनियाँ पर्यटकको संख्यामा कमी आएको बताउँछन् उनी। 

‘फलाईट टिकट महंगो छ। यताभन्दा थाईल्याण्ड सस्तो छ। मान्छे थोरै छ अहिले आउने। मान्छे आउन सजिलो पनि छैन। हामी मान्छे तान्न त सजिलै सक्छौं नि तर टिकट महंगो छ। अर्कैै देश जाने भन्छन्,’उनले भने,‘पर्यटक नआएपछि, पर्यटन घाटामा गएको छ। पर्यटक आए बढ्छ,’उनले भने। 

ड्रागन बोट रेसले ल्याएको आश 

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि भारतीय पर्यटकको संख्यामा वृद्धि भयो। अहिले पर्यटन व्यवसाय त्यस्तै आश पोखरामा हुने ड्रागन बोट फेस्टिभलबाट राखेका छन्। चीनमा निकै महत्व राख्ने यो फेस्टिभल दक्षिण एसियामा पहिलोपटक नेपालमा हुन लागेको हो। असार ८ र ९ गते हुने फेस्टिभलको लागि चीनका विभिन्न शहरका प्रमुख लगायतको उपस्थिति छ। 

यसलाई पर्यटन व्यवसायले अवसरको रुपमा हेरेका छन्। यही फेस्टिभलका लागि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तराष्ट्रिय उडानसमेत भयो। मंगलबार चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले चाटर्ड उडानले पोखराको पर्यटनमा पुनः आशा जगाएको बताउँछन् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ। 

‘यो ठुलो इभेन्ट हो। जबकि यो फेस्टिबलको लागि जहाज नै चाटर्ड गरेर चाइनाबाट आउनुभएको छ। त्यसले गर्दा अब बढी भन्दा बढी चिनियाँ पर्यटक भित्रिन्छ भन्ने आशा छ। त्योसँगै लगानी पनि बढ्छ सरकारले त्यो वातावरण पनि बढाउनुपर्छ,’उनले भने। 

दुई दिन हुने फेस्टिभलका लागि आएका पाहुनाबाट सकारात्मक सन्देश जाने आश पर्यटन व्यवसायको छ। फेस्टिभलका लागि नै पोखरा आइपुगेका छन् नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि। 

राजदूत सोङले चीन सरकारले नेपालसँगको सम्बन्धमा पर्यटनलाई महत्वपूर्ण रुपमा राखेको बताए। पोखरा घुम्न आउने चिनियाँ पर्यटकले स्थानीय पर्यटनको पुनरुत्थानलाई मात्र नभई यहाँको आर्थिक र सामाजिक विकासलाई पनि बलियो बनाएको भनाइ राखे। 

‘अहिले हामी महामारीपछिको युगमा प्रवेश गरेका छौं। चीन सरकारले नेपालसँगको सम्बन्धलाई सधैं महत्व दिएको छ र दुई देशबिच विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ गर्ने आशा राखेको छ। जसमध्ये पर्यटन पनि महत्त्वपूर्ण छ। पर्यटनले नै नेपालका लागि लगानी, उद्योग, रोजगारीलगायतका धेरै सम्भावित अवसरहरू ल्याउन सक्छ,’ उनले भने। 

केही वर्ष अघिसम्म नेपालमा भारत प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशमा दोस्रो पर्थ्यो भने चीन पहिलोमा। अहिले पर्यटकको संख्यासँगै लगानीमा भारत अघि देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा २९ अर्ब विदेशी लगानी भित्रयाउने प्रतिबद्धता गरेको थियो। तर, तथ्यांकले जम्मा ६ अर्ब लगानी भित्रिएको छ। सरकारले प्रतिबद्धता पूरा गर्न नसकिरहेको समयमा भारतले नेपालमा लगानी गर्नका लागि चासो देखाइरहेको छ।

यता, चिनियाँ राजदूत सोङ पनि सान्दर्भिक लगानी नीति र व्यवसायिक वातावरण अनुकुल बन्दै गए लगानीकर्ता बढ्ने बताउँछन्। 

‘चीन र नेपालबिचको मित्रताले दुई देशबिचको व्यापारिक क्षेत्रमा सहयोगको लागि निकै राम्रो जग खडा गरेको छ। लगनशील नेपाली जनताले धेरै चिनियाँ लगानीकर्तालाई आशा र विश्वास दिएका छन्। सान्दर्भिक लगानी नीति र व्यवसायिक वातावरणलाई अनुकूल बनाउँदै लगे थप चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न र व्यवसाय सुरु गर्न आउनेछन् भन्ने मेरो विश्वास छ,’उनले भने।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell