PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपालले किन हार्‍यो? देशाइको तर्क : वेस्ट इण्डिजविरुद्ध उत्रनु नै गौरव, अधिकांशले टिभीमा मात्रै देखेका थिए



मुकुन्द घिमिरे

नेपालले किन हार्‍यो? देशाइको तर्क : वेस्ट इण्डिजविरुद्ध उत्रनु नै गौरव, अधिकांशले टिभीमा मात्रै देखेका थिए
फाइल फोटो

काठमाडौं : क्रिकेट विश्वकप छनोटका क्रममा नेपाल जिम्बावेमा छ। समूह 'ए'मा नेपालले दुई हार र एक जित निकाल्दै 'सुपर सिक्स'मा पुग्ने सम्भावना कायम राखेको छ। तीन खेल खेल्दा नेपालले अमेरिकालाई हराएको छ भने टेस्ट राष्ट्रहरु वेस्ट इण्डिज र जिम्बावेसँग पराजित भएको छ।

बिहीवार सम्पन्न खेलमा वेस्ट इण्डिजसँग नेपाल पराजित भयो। हारका बावजुत बलिङ र ब्याटिङ दुवैमा आफ्नो सम्मानजनक उपस्थिति कायम राख्न भने नेपाल सफल रह्यो।

खेलपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले वेस्ट इण्डिजसँग खेल्न पाउँदा नेपाली खेलाडीले राम्रो अनुभव लिने अवसर पाएको बताए।

‘हामीसँग टिममा सन्दीप लामिछानेमात्र यस्ता खेलाडी थिए, जसले विश्वभरका लिग खेलेका थिए र वेस्ट इण्डिजका केही खेलाडीसँग खेलेका थिए’, उनले भने, ‘बाँकी अधिकांशले वेस्ट इण्डिजका खेलाडीलाई टेलिभिजनमा मात्र देखेका थिए। उनीहरुका लागि वेस्ट इण्डिजविरुद्ध मैदानमा उत्रनु नै पनि गौरवको क्षण थियो।’

देशाइले टेस्ट राष्ट्र अनि टेस्ट बलरसामू उनीहरुले आफ्नो ‘स्ट्रेन्थ टेस्ट’ गर्ने अवसर पाएको बताए। उनले छोटो समयमा गर्न सक्ने ट्रेनिङ गरेर जिम्बावे पुगेको बताए।

वेस्ट इण्डिजका खेलाडी जेसन होल्डरसँग खेलपछि कुराकानी गर्दै नेपाली खेलाडीहरु। फोटो : क्यान।


‘यो हाम्रो टोलीका लागि राम्रो अनुभव रह्यो। यो हाम्रोलागि राम्रो सिकाइको अवसर थियो। फुलमेम्बर टोलीसँग हामीले पहिलो पटक एकदिवसीय क्रिकेट खेल्यौँ’, उनले भने, ‘वेस्ट इण्डिजसँग यसपाला नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट खेलेको थियो। यो खेलबाट धेरै सकारात्मक कुराहरु हामी लिनेछौँ।’

नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले पनि टेस्ट राष्ट्रहरुसँगबाट धेरै सिक्ने अवसर मिलेको बताए।

‘टेष्ट खेल्ने राष्ट्रहरूसँग खेल्दा मलाई धेरै कुरा सिकाएको छ। हामीले हरेक खेलमा 'अप टु द मार्क' हुनुपर्छ,’ पौडेलले भने।

खेलपछि वेस्ट इण्डिजका अनुभवी खेलाडीहरुले नेपाली खेलाडीहरुसँग खेलबारे छलफलसमेत गरेका थिए।

कप्तान रोहित पौडेल। फोटो : क्यान।


टस जितेर पहिलो बलिङ रोजेको नेपालले पावर प्लेसम्म योजना अनुरुप राम्रो खेलेको देशाइले बताए।

‘सुरुका दुई तीन फेजमा राम्रो पनि गर्‍यौँ। योजना अनुसार गर्‍यौँ। होप र पुरनले आएर उनीहरुको क्लास देखाए। व्यक्तिगत रुपमा म उनीहरुको प्रदर्शनले धेरै खुशी छु’, वेस्ट इण्डिजका पूर्व ब्याटिङ प्रशिक्षकसमेत रहेका देशाइले भने, ‘२८० या ९० सम्मको लक्ष्य थियो भने कुरा अर्कै हुने थियो।’

नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले पनि प्रशिक्षक देशाइको कुरामा सहमति जनाए।

‘मलाई लाग्छ, प्रारम्भिक चरणमा हामीले राम्रो बलिङ गर्‍यौं तर हामीले केही क्याचहरू छोड्यौं, हामीले मैदानमा अझ राम्रो गर्न सक्थ्यौं। हामी सामान्यतया राम्रो फिल्डिङ गर्छौं तर आज हामीले केही अवसरहरू गुमायौं’, कप्तान पौडेलले भने, ‘पूरन र होप दुवैले राम्रो ब्याटिङ गरे त्यसैले श्रेय उनीहरूलाई पनि। आरिफ र गुलसनले राम्रो खेले।’

पौडेलले भने जस्तै नेपाली खेलाडी तिखारिने अवसर मिलेको देशाइले बताए।

वेस्ट इण्डिजका खेलाडी अल्जारी जोसेप सँग खेलपछि कुराकानी गर्दै नेपाली खेलाडीहरु। फोटो : क्यान।


‘एसोसिएट टोलीका रुपमा खेलाडीले सकारात्मक कुराहरु पाएका छन्। हाम्रा खेलाडी पोलिस्ड भइसकेका छैनन्’, देशाइले भने, ‘फुलमेम्बर टोलीसँग जस्तो स्कील पनि विकास भइसकेको छैन। त्यसका लागि उनीहरुले अझै धेरै खेल खेल्नुपर्छ। अहिले उनीहरु आफ्नो स्किललाई तिखारि रहेका छन्।’

वेस्ट इण्डिजका कप्तान साइ होपले पनि नेपाली बलिङको प्रसंसा गरे।

‘उनीहरूले राम्रो बलिङ गरे। उनीहरूका बलरहरू, विशेष गरी स्पिनरहरूको प्रशंसा गर्नै पर्छ। तिनीहरू आफ्नो काममा अडिग छन्,’ वेस्ट इण्डिजका कप्तान होपले भने।

नेपालले अर्को खेलमा शनिवार नेदरल्याण्ड्ससँग खेल्दैछ। यो खेलमा जित निकालेर सबैकुरा अनुकुल रहे नेपाल सुपर सिक्समा पुग्न सक्छ।

‘अब नेदरल्याण्ड्स र हामीबिच खेल हुनेछ। उनीहरुले हाम्रो खेल हेरिरहेका छन्, हामी पनि उनीहरुको खेल हेरिरहेका छौँ’, उनले भने, ‘बलियो पक्ष र कमजोर पक्षको एनालाइसिस चलिरहेको छ। अहिले मेन्टल गेम चलिरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell