PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

ओखलढुङ्गामा पहिरो : मृतकको सङ्‍ख्या चार पुग्यो



पहिलोपोस्ट

ओखलढुङ्गामा पहिरो : मृतकको सङ्‍ख्या चार पुग्यो

काठमाडौं : ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए। बेपत्ता दुबैको शव भेटिएको हो।

बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश  र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो।

आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको थियो।  अन्यले भागेर ज्यान जोगाएका थिए। पहिरोले पुरिएर चार जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ।

विसं २०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उक्त क्षेत्रलाई भूकम्पपछि जोखिमयुक्त भनिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell