PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

बाल साहित्य समाजको वार्षिक सम्मेलन प्युठानमा हुने



पहिलोपोस्ट

बाल साहित्य समाजको वार्षिक सम्मेलन प्युठानमा हुने

प्युठान : नेपाल बालसाहित्य समाजको २८ औं वार्षिक सम्मेलन प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मंसिरको दोस्रो सातामा आयोजना गर्न स्थानीय सरोकारवाला संस्थाहरू सहमत भएका छन्। नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा बिहिवार प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकमा उक्त सहमति भएको हो। बैठकले साहित्य परिषद् प्युठान, राप्ती साहित्य परिषद् प्युठान शाखा, प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, जनता मावि वाग्दुला, उद्योग बाणिज्य सङ्घ प्युठान, नेपाल पत्रकार महासङ्घ प्युठान शाखा, कालिका विकास केन्द्र र नेवा: खल प्युठान  स्थानीय आयोजक रहने निर्णय पनि गरेको छ। बैठकमा साहित्य परिषद् प्युठानका निवर्तमान अध्यक्ष गेहराज थापा, राप्ती साहित्य परिषद् प्युठानका अध्यक्ष विमला खनाल, जनता माध्यमिक विद्यालय-वाग्दुलाका सहायक प्रधानाध्यापक केशवराज पण्डित,  उद्योग बाणिज्य सङ्घ प्युठानका महासचिव सन्देश आचार्य, नेपाल पत्रकार महासङ्घ प्युठान शाखाका अध्यक्ष सञ्जय रिजाल, जेष्ठ नागरिक जिल्ला सङ्घ प्युठानका अध्यक्ष गेहराज शर्मा र कालिका विकास केन्द्रका कार्यक्रम संयोजक सरोज श्रेष्ठको उपस्थिति थियो।

बैठकले नेपाल बालसाहित्य समाजको २८ औं सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक व्यवस्थापनका लागि राप्ती साहित्य  परिषद् प्युठानका उपाध्यक्ष विमला खनालको संयोजकत्वमा सबै संस्थाका एक/एक प्रतिनिधि रहने गरी स्थानीय स्तरको मूल आयोजक समिति पनि गठन गरेको छ। बैठकले नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष सञ्जय रिजालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उद्योग वाणिज्य संघ प्युठानका महासचिव सन्देश आचार्यको संयोजकत्वमा आर्थिक उपसमिति र जनता माविका प्रधानाध्यापक इन्द्रमणि पोखरेलको संयोजकत्वमा व्यवस्थापन उपसमिति पनि गठन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell