PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

टुंगो लागे जस्तो देखिएको एसिया कपको विवाद फेरि उल्झिँदै, हाइब्रिड मोडलको ‘सेटलमेन्ट’ होला अस्वीकृत?



पहिलोपोस्ट

टुंगो लागे जस्तो देखिएको एसिया कपको विवाद फेरि उल्झिँदै, हाइब्रिड मोडलको ‘सेटलमेन्ट’ होला अस्वीकृत?

काठमाडौं : अघिल्लो साता एसियाली क्रिकेट परिषद् (एसीसी)ले हाइब्रिड मोडलमा एसिया कप गर्ने आधिकारिक जानकारी दियो। त्यसअघि पाकिस्तानमा एसिया कप हुने भनेकोमा भारत जान नसक्ने बताउँदा विवाद लम्बिएको थियो।

दक्षिण एसियाली क्षेत्रमा यी दुई ठूला राष्ट्रबिचको तनावले राजनीतिक, सांस्कृतिक, आर्थिकलगायतको पाटोमा सधैँ विवाद निम्तने गर्छ। यसपटक पनि पाकिस्तानमा एसिया कप हुने हुँदा भारतले आफ्नो टोली पठाउन नसक्ने जनाउँदै एसिया कप नै स्थानान्तरण गर्ने जोडबल गर्‍यो।

अर्कोतर्फ पाकिस्तानले आयोजनाको अवसर छाड्न नचाहँदा मध्यबिन्दुमा सहमति भएको थियो ‘हाइब्रिड मोडल’। पछि पाकिस्तानले हाइब्रिड मोडलको प्रस्ताव ल्यायो, सोही अनुरुप पास गर्‍यो एसीसीले।

एसीसीले अघिल्लो बिहीवार एक विज्ञप्ति निकाल्दै ३१ अगस्टबाट १७ सेप्टेम्बरमा आयोजना हुने एसिया कप हाइब्रिड मोडलमा गर्ने प्रस्ताव स्वीकृत भएको जनाएको थियो। यो प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

हाइब्रिड मोडलअनुसार चार खेल पाकिस्तानमा र बाँकी खेल श्रीलंकामा हुनेछन्। प्रतियोगितामा ६ टोलीलाई दुई समूहमा बाँडिएको छ।

समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। जसमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

तर पाकिस्तानको क्रिकेट बोर्डमा परिवर्तनसँगै हाइब्रिड मोडलमा पनि विवाद उत्पन्न भएको छ। यो सहमति बन्दा पाकिस्तान क्रिकेट बोर्डको अन्तरिम व्यवस्थापन कमिटीको प्रमुखमा नजाम अजिज सेठी थिए।

तर बिहीवार यो कमिटी विघटन भइसकेको छ। अब जुन २७ मा चुनाब हुँदैछ जसमा जाका अस्रफ मुख्य दावेदारका रुपमा देखिएका छ्न्।

अस्रफले भने हाइब्रिड मोडललाई स्वीकार्न नसकिने स्पस्ट पारिसकेका छन्।

अस्रफले सार्वजनिक रुपमा हाइब्रिड मोडल नभएर एसिया कपका सबै खेल पाकिस्तानमा हुनुपर्ने भन्दै कडा रुपमा प्रस्तुत भएका छन्।

‘मेरो विचारमा यो सम्पूर्ण हाइब्रिड मोडेल पाकिस्तानका लागि लाभदायक छैन र मलाई यो मन परेन’, उनले भने, ‘आयोजक भएकाले पाकिस्तानले पूरै प्रतियोगिता पाकिस्तानमा खेल्नुपर्ने कुरा सुनिश्चित गर्न राम्रोसँग वार्ता गर्नुपर्थ्यो। पाकिस्तानलाई चार खेल मात्रै छोडेर श्रीलंकाले ठूला खेल खेल्नु हाम्रो देशको हितमा छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell