PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नाइट क्लबको ‘पार्टी ड्रग्स्’ : नारायणथानबाट प्रहरीको अपरेसन, चित्लाङ हुँदै पोखरा पुग्दा खुल्यो डेभिडको ‘एलएसडी’ धन्दा



सविन ढकाल

नाइट क्लबको ‘पार्टी ड्रग्स्’ : नारायणथानबाट प्रहरीको अपरेसन, चित्लाङ हुँदै पोखरा पुग्दा खुल्यो डेभिडको ‘एलएसडी’ धन्दा

काठमाडौं : झट्ट हेर्दा हुलाक टिकटजस्तै। केही त केटाकेटीले हातमा टाँस्ने ट्याटु स्टिकरजस्तै। त्यसलाई पनि ४/५ पिसमा च्यात्न मिल्ने। त्यसपछि प्रयोगकर्ताले जिब्रोमा टाँसेपछि मजाले नशाको लत लिन सक्ने। अर्थात् लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) स्टिकर। यो एक लागुऔषध हो। यो नशा लिएपछि जोकोही ५ देखि ७ घण्टासम्म लट्ठ पर्छन्।

नेपालमा प्रयोग हुनेमध्ये नौलो प्रकृतिको लागुऔषध हो यो। ६/७ वर्ष अगाडि प्रहरीले यस्तो लागुऔषध बरामद गरे पनि पछिल्ला वर्षमा भने यो नेपालमा देखिएको थिएन। तर लागुऔषध नियन्त्रण ब्युरोको टोलीले १० हजार १ सय ३१ पिस यस्तो एलएसडी बरामद गरेको छ। जुन घटनामा नेपालीदेखि विदेशी नागरिकसमेत समातिएका छन्। प्रहरीको दाबी मान्ने हो भने बरामद परिमाण अहिलेसम्मकै सबैभन्दा धेरै हो।

एक सानो पिस एलएसडीको मूल्य २ हजार पर्छ। आवश्यकताअनुसार प्रयोगकर्ताले ५ हजारसम्म तिर्ने गरेको प्रहरी अधिकृत बताउँछन्। लागुऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट बरामद गरेको एलएसडी लागुऔषधको बजार मूल्य २ करोड रुपैयाँभन्दा बढी दाबी गरिएको छ।

‘यसको प्रयोगकर्ता नेपाली नै भएको देखिन्छ। विभिन्न पार्टीहरूमा प्रयोग गरेको देखियो,’ लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रबहादुर जोशीले भने।

यस्तो लागुऔषध कारोबार गरेकोमा असार ५ गते काठमाडौंबाट २९ वर्षीय सुगम मैनालीलाई प्रहरीले पक्राउ गरेको थियो। उनको साथबाट सात पिस एलएसडी बरामद भएको थियो। त्यसपछि प्रहरीले ४२ वर्षीय मुखिया गुरुङलाई समात्यो। त्यसैको आधारमा मोरङको विराटनगर घर भएका  बच्चन भन्ने राज गौतम समातिए।


त्यही लहरोले चेक रिपब्लिक देशका नागरिक मार्टिन सेरन पोखराबाट समातिएका थिए। काठमाडौंको ठमेलमा बस्दै आएका इटालियन नागरिक डेभिड मिनाडियोसमेत जोडिए। उनको साथबाट प्रहरीले ठूलो संख्यामा एलएसडी फेला पारेको थियो। उनीको साथबाट प्रहरीले १० हजार ९८ पिस बरामद भयो।

काठमाडौंको क्लबमा पार्टी ‘ड्रग पार्टी’

ब्युरोको टोलीलाई काठमाडौंका केही क्लबमा एलएसडी ड्रग्सको पार्टी हुने गरेको खबर आएको थियो। त्यसैले प्रहरीले ठमेलका केही क्लबमा रेकी थालेको थियो। प्रहरी आफैँ पनि यस्तो कारोबार अनुसन्धान गर्न सेवनकर्ताको रुपमा सञ्जालमा छिर्न खोजी रहेको थियो।

‘क्लबमा छिर्न गाह्रो भयो। पहिचान लुकाएर छिर्न झनै गाह्रो। प्रहरी भन्दा पार्टी नहुने त्यही भएर केही समय अलमल भयो,’ एक प्रहरी अधिकृतले भने।

सुरुमा प्रहरीलाई काठमाडौंको नारायणथानमा यस्तो पार्टी भएको सूचना आएको थियो। प्रहरी त्यही स्थानमा पुगेर हेर्दा पार्टी सकिएको थियो। त्यसपछि प्रहरी केही दिन अलमलियो।

फेरी मकवानपुरको  चित्लाङमा पार्टी हुने जानकारी आयो। उस्तै प्रक्रियामा प्रहरी चित्लाङ पुग्यो। त्यहाँ पनि केही हात पार्न सकेन।

त्यसपछि प्रहरीलाई पोखरामा पार्टी भएको जानकारी आएको थियो। यता प्रहरीले अर्को एक जना कारोबारीसँग डिल गरिरहेको थियो। त्यही क्रममा सुगम मैनाली प्रहरीको पासोमा परे।

सात पिस एलएसडीसहित उनी समातिए। तर प्रहरी मुख्य कारोबारीसँग पुग्न खोजी रहेको थियो। त्यही क्रममा मुखिया गुरुङ प्रहरीको अनुसन्धान ‘राडर’मा देखिए।

उनी कोकिनको कारोबारी भएको खुल्यो। उनीसँगै बच्चन भन्ने राज गौतम जोडिए। प्रहरी पोखरामा पुगेर बच्चनलाई पक्राउ गर्‍यो। बच्चनबाट नै यसको मुख्य कारोबारी भनिएका विदेशी नागरिक डेभिडसम्म प्रहरी पुगेको देखियो।

भारतबाट ल्याएर नेपालमा बिक्री

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपालमा एलएसडी लागुऔषध भारतबाट भित्रिएको देखिएको छ। जसको मुख्य कारोबारी डेभिड भएको खुल्छ। उनी इटालीबाट नेपालमा आएर कारोबार गरेको देखिन्छ। त्यसैको लागि उनी नेपाल र भारतसमेत आउने जाने गरेका थिए।

‘उसले धेरै पटक भिसासमेत थप गरेको छ। केही समयदेखि नेपालमा नै बसेर कारोबार गरेको देखिन्छ’, एसपी जोशीले भने।

उनले नेपालमा बच्चनलाई आफ्नो सहयोगी बनाएका थिए। बच्चन २०७५ सालमा लागुऔषध मुद्दामा नै २७ महिना जेल बसेर निस्किएका व्यक्ति हुन्।

बरामद गरिएको एलएसडी।


डेभिडको साथबाट प्रहरीले भारतीय रुपैयाँ १ लाख ३९ हजार रुपैयाँसमेत बरामद गरेको छ। उनको कनेक्सन नेपालसँगै भारतीय नागरिकसँग भएको पनि खुल्छ।

हवाई र स्थल मार्ग प्रयोग गरेर उनले नेपालमा उनले एलएसडी ड्रग भित्र्याउने गरेको देखिन्छ। प्रहरीले उनीसँग नेपालमा कनेक्सन भएका अरु मानिसको पनि खोजी गरिरहेको छ।

नेपालमा एलएसडी ड्र्ग्स प्रयोगकर्ता कम छ। कारोबारीहरूले अनलाइनमा ग्रुप बनाएर पार्टीको बन्दोबस्ती गर्ने गरेका थिए। त्यस्तो ग्रुपमा प्रयोगकर्ता र सप्लाएरमात्र सहभागी हुन्छन्। एक चोटिमा एक सय जनासम्मको पार्टी चल्छ।

‘अरु ड्रगजस्तो जसलाई पनि बेच्दैनन्। आफ्नो सर्कलभन्दा बाहिर जाँदैनन्। यसको अग्रिम बुकिङ हुन्छ,’ एक प्रहरी अधिकृतले सुनाए।

एलएसडी ड्रग कडा लागुऔषधको रुपमा लिने गरिन्छ। यो अक्सर गरेर रंग, स्वाद बास्ना रहित झोल पदार्थ हो यो हल्का सेतो पाउडर वा सेतो वा रंगीन पील्स या विभिन्न आकारका टेबलेट तथा क्याप्सुलमा पाइन्छ। सानो परिमाणमा यसको झोललाई सोस्ने कागज, टिकट वा टाँस्ने सानो कागतमा टासेर स्टिकर बनाई प्रयोग गर्ने गरेको भेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell