काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले अदालतमाथि उठाएको प्रश्न जायज भएको बताएका छन्। शुक्रवार मिश्रले फेसबुकमार्फत जनताका जायज पाँच प्रश्न शीर्षकमा बालेनको प्रश्नसँगै न्यायपालिकामा सुधार नगरे गम्भीर संकट निम्तिनेसमेत बताएका छन्।
‘देशमा खासगरी राजनीति मुछिएका मुद्दाहरूमा न्यायपालिकाप्रतिको विश्वास रसातलमा पुगिसकेको छ। बालेनजीको प्रश्नलाई सो परिप्रेक्षमा हेरेर न्यायपालिकामा सुधार नगर्ने हो भने यसले कुनै विन्दुमा गम्भीर संकट निम्त्याउने छ,’ उनले भनेका छन्।
यी हुन् अदालतमाथि रवीन्द्रले उठाएका प्रश्न
१. प्रभावशाली राजनीतिकर्मीहरूले चाहे केही हप्तामै फैसला हुने, उनीहरूले नचाहे बर्षौँसम्म मुद्दा अलपत्र राख्ने न्यायलयको फैसला जनताले चाहिँ किन मान्ने?
२. संविधान र सर्वोच्चका नजिरहरूले ‘यो, यो’ विषयमा राष्ट्रपतिबाट माफी हुन सक्दैन भनेर किटान गर्दागर्दै सर्वोच्चको फैसला सरकारले नै अवज्ञा गर्न मिल्ने हो भने जनताले गर्न किन नमिल्ने?
३. भोलिपल्टै राजनीतिक सहमति गर्नका लागि देशद्रोह लगायतका मुद्दा लागेका व्यक्तिलाई अनायासै छुटाउन राजनीतिक प्रभाव स्वीकार्ने अदालतलाई हामीले चाहिँ किन सम्मान गर्नु पर्ने?
४. हत्याको अभियोग लागेको व्यक्तिलाई सर्वोच्चले पक्रिन आदेश दिँदा नपक्डिने को हो? के सर्वोच्चको निर्णय बालेनजीले मात्र मान्नु पर्ने हो?
५. फौजदारी अभियोग लागेका प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहँदा उनीविरूद्धका मुद्दा चाहिँ अघि नबढाउने अदालतको निर्णय मान्नु पर्ने आधार के छ?