काठमाडौं : कोशी प्रदेशका कृषि उत्पादनलाई सहज रुपमा विक्रीवितरण गर्न तथा परामर्श प्रदानका लागि सहज च्यालेन्ज फन्डले नवीनतम योजना भएका सेवा प्रदायक कम्पनीबाट आवेदन मागेको छ। सहजको चौथो र पाँचौ चरणको कार्यक्रमबारे जानकारी दिँदै फन्डले आवेदन आह्वान गरेको हो। 'सेवा प्रदायक कम्पनीसँग हामी मिलेर काम गर्न चाहन्छौ,' काठमाडौंको आरान्या बुटिक होटलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) टिम लिडर रिमा श्रेष्ठले भनिन्। सहजले कोशी प्रदेशमा उत्पादित मकै, दुधजन्य पदार्थ, अलैंची र तरकारी बिक्रीवितरणका लागि नवीनतम योजना मागेको हो। यसमा नेपाल सरकार र स्विस सरकारको सहयोग रहेको एनएएमडीपीकी प्रबन्धक शुभेच्छा श्रेष्ठले जानकारी दिइन्।
कति छ फन्ड, कसरी पाइन्छ?
सहजले यसअघि तेस्रो चरणको कार्यक्रम पुरा गरिसकेको छ। यसपटकबाट सहजले चौथो र पाँचौ कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो। एनएएमडीपीका अनुसार नेपालभरका खाद्य सुरक्षा, खाद्य अनुसन्धानसम्बन्धी कम्पनीहरुले यस फन्डमा आवेदन दिन सक्नेछन्। तर उनीहरुले सेवा भने कोशी प्रदेशको कृषि उत्पादनमै दिनुपर्नेछ। यसका लागि ५ लाखदेखि ५० लाख रुपैयाँ सम्मको अनुदान हुने प्रबन्धक श्रेष्ठले बताइन्। अनुदानको आधार के त? 'आइडियामा डिपेन्ड हुन्छ। अर्को कुरा सेवा प्रदायकको पनि ७० प्रतिशत लगानी देखिनुपर्यो,' उनले भनिन्। बजारलाई तान्ने खालको प्रस्ताव दोस्रो चरणमा पुगेपछि मात्र अनुदान पाइने बताइएको छ। उनको भनाइ अनुसार सहजले उत्पादन निर्माण र गुणस्तर सुधारको लागि परामर्श सेवाहरू प्रदान गर्ने कम्पनीलाई पनि अनुदान दिइनेछ।
चौथो चरणमा उपकरण तथा मेसिनेरीका लागि सहयोग उपलब्ध नरहेको र पाँचौ चरणमा भने उपकरण तथा मेसिनेरी खरिदका लागि प्रयोग गर्न सकिनेछ। पाँचौ चरणको फन्ड जलवायु परिवर्तनसम्बन्धी विषयमा जोड दिइने कार्यक्रमका विपिन बस्नेतले बताए। यस च्यालेन्ज फण्डका लागि २०८० साउन ७ गतेसम्म आवेदन दिन सकिने सहजले जनायो। आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मुल्यांकन गरिने र सफल आवेदकहरुलाई पूर्ण व्यवसायिक योजना बुझाउने बताइएको छ।
आवेदकको मागअनुसार बित्तिय र प्राविधिक सहयोगमार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवाहरुमा पहुच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य-प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ।