PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

‘प्रत्यक्ष प्रश्नोत्तर’मा पढेरै पनि जवाफ दिन नसकेपछि प्रचण्डप्रति सत्तापक्षकै आक्रोश: सचिवालय विघटन गरिदिए हुन्छ



प्रकाश भण्डारी

‘प्रत्यक्ष प्रश्नोत्तर’मा पढेरै पनि जवाफ दिन नसकेपछि प्रचण्डप्रति सत्तापक्षकै आक्रोश: सचिवालय विघटन गरिदिए हुन्छ

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दोस्रोपटक प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तरको सामना गरे।

जेठ ४ र मा पहिलो पटक प्रश्नोत्तर गरेका थिए प्रचण्डले, पुस १० मा प्रधानमन्त्री भए यता।

प्रचण्डको पुरानो शैली शुक्रबार पनि झल्कियो।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा व्यवस्था छ - प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर। यसअनुसार प्रश्नोत्तर ‘लाइभ’ हुनुपर्ने हो। तर, प्रचण्डको ‘स्टाइल’ भने रेकर्डेड।

तीन दिनअघि सांसदले प्रश्न पेस गरेका थिए सभामुख देवराज घिमिरेलाई।

यो तीन दिनको समय प्रश्न ठिक बेठिक भएको छान्ने र उत्तरका लागि तयारी गर्ने समय हो। तर, शुक्रबार प्रचण्डले दिएको जवाफ नै भइदियो पुरै गोलमटोल, औपचारिकताभन्दा अघि बढ्नै सकेन।

हुन त प्रचण्डले संसदप्रति सरकार उत्तरदायी भएको देखाउन नखोजेका होइनन्। तर, उनको प्रस्तुति यति भद्दा भइदियो कि आइतबारको भद्रगोल नै काफी छ –प्रश्नोत्तर प्राथमिकतामा छैन भन्ने देखाउन।

कतिसम्म भने लेखेर ल्याएको फाइलमा पनि प्रश्न सोधिरहेका सांसदको नाम भेटाउन सक्दैनन् प्रचण्ड -‘भर्खरै सोध्ने माननीयको नाम थाहा पाउन सकिन फेरि भन्दिन पर्ने भयो।’

प्रचण्डले स्वीकारेका पनि छन्, ‘माननीय सदस्य मेरो तयारीमा केही कमजोरी रहेको देखियो।’

हरेक महिनाको पहिलो हप्ता नभ्याए लगत्तैको बैठकमा प्रश्नोत्तर हुने नियमावलीमा उल्लेख छ।

३ दिनको तयारीले पनि गोलमटोल

प्रधानमन्त्रीलाई तत्कालै प्रश्न सोधेर सांसदले अक्क न बक्क बनाएका भने होइनन्। प्रतिनिधि सभा नियमावली अनुसार सांसदले सभामुखलाई तीन दिनअघि नै प्रश्नबारे जानकारी गराउनुपर्छ।

प्रश्न सोध्न योग्य भए नभएको निर्णय गर्ने अधिकार सभामुखलाई छ। प्रश्न गर्नै नपाइने र प्रश्न अयोग्यताबारे पनि उल्लेख छ नियमावलीमा।

तथ्याङ्क सम्बन्धीका प्रश्नको जवाफ लिखित दिनुपर्ने भए पनि अरू प्रश्नको जवाफ तत्कालै दिनुपर्ने नियमावलीको नियम ५६ को उपनियम ४ मा छ। तर, प्रधानमन्त्रीले ३ दिनअघि नै पाएको प्रश्नको लिखित उत्तर समेत प्रस्तुत गर्न सकेनन् शुक्रबार।

एक घण्टाको प्रश्नोत्तरमा १५ जनाले प्रश्न गर्न पाउँछन्। चित्त नबुझे अझ पुरक प्रश्न समेत गर्न पाइन्छ। जेठ ४ मा सांसदले फिर्ता लिनै नमानेपछि नियम निलम्बन गरेर २० जनाले प्रश्न सोधेका थिए।

प्रधानमन्त्री औपचारिकता पूरा गर्न महिनापिच्छे रोष्ट्रममा पुगे पनि जवाफ प्रश्नमा केन्द्रित छैन। त्यसैले प्रश्नोत्तर नै प्रभावहीन।

भएको के थियो?

सभामुख घिमिरेले बोलाएपछि प्रचण्ड शुक्रबार जवाफ दिन रोष्ट्रम पुगे। जवाफमाथि स्पष्टीकरण सोध्न नपाउने व्यवस्था गरेका घिमिरेले सांसदलाई जानकारी प्रचण्डको जवाफ अघि नै गरे।

अच्युत मैनालीले पहिलो प्रश्न सोधेका थिए प्रचण्डलाई। प्रचण्डले सुरुमा श्रद्धाञ्जली दिएका थिए बाढी पहिरोमा परेर मृत्यु भएकालाई। अजयकुमार चौरासिया दोस्रो प्रश्नकर्ता थिए। उनले मधेशमा सबैभन्दा कम बजेट किन? भन्ने प्रश्न गरे। तर प्रचण्डले ‘सबैभन्दा कम बजेट मधेशमा’ भन्ने नै झुटो भएको दाबी गरे।

तेस्रो प्रश्न सोध्ने सांसद थिइन अञ्जली श्रेष्ठ। उनले शून्य, विशेष र आकस्मिक समयमा उठाएका प्रश्नको जवाफ किन नआएको? प्रश्न गरिन।

प्रचण्ड अलमलमा परे। श्रेष्ठको नाम नै थाहा पाएनन्। बरु उनले सभामुखतिर हेरेर भने -अहिले भर्खरै प्रश्न गर्ने माननीयको नाम थाह पाउनुपर्ने भयो। सभामुख घिमिरेले सांसदको नाम सम्झाएका थिए प्रचण्डलाई। प्रचण्डले नियमित रूपमा प्रश्नको जवाफ दिएको र जवाफ दिनबाट सरकार पछि नहट्ने दाबी गरे।

अनिशा नेपाली चौथो प्रश्न गर्ने सांसद थिइन। प्रचण्ड नेपालीको प्रश्नमा भने अलमलमा परेनन्। उनले सजिलै जवाफ दिए -भारतले १० वर्षमा नेपालबाट १० मेगावाट खरिद गर्ने कुरा अवगत भएकै छ।

पूर्वमन्त्री समेत रहेका सांसद अब्दुल खानले पाँचौँ प्रश्न गरे प्रचण्डलाई -हाम्रो सरकारले किन सयमा मल किन्न सकिरहेको छैन? ‘विगतको जस्तो मल अभाव यस पटक रहेको छैन,’ प्रचण्डको जवाफ थियो।

खानपछि प्रधानमन्त्रीलाई छैटौँ प्रश्न सोधेकी थिइन अम्बिका बस्नेतले। बस्नेतको प्रश्नमा प्रचण्ड यति धेरै अलमलमा परे कि। बस्नेतको नाम त थाहा पाउन सकेनन्। नाम सोधेपछि पनि उनले फाइलमा कहाँ जवाफ छ भन्ने नै ठम्याउन सकेनन्।

सभामुखले नाम दोहोर्‍याएपछि पनि प्रचण्डले बस्नेतलाई फेरि प्रश्न पढ्न लगाए। फाइलमा जवाफ खोजेर पनि पत्ता नलगाएपछि ‘यहाँ नम्बर नै छैन’ भनेको आवाज माइकमा सुनिएको थियो। ‘कसरी गडबड खायो त’ भनेका प्रचण्डले फेरि प्रश्न दोहोर्‍याउन भनेपछि बस्नेतले हाँस्दै प्रश्न दोहोर्‍याइन। त्यसपछि पनि प्रधानमन्त्रीले क्रमसँगै जवाफ दिए। शुक्रबार १३ जनाले प्रधानमन्त्रीलाई प्रश्न सोधे। ४२ मिनेट चलेको थियो प्रश्नोत्तर।

‘सचिवालय विघटन गरिदिए हुन्छ’

प्रचण्डको भद्रगोलबाट अरू होइन सत्तारुढ दलकै सांसद नै वाक्क भएका छन्। किनभने एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको सचिवालय विघटन गर्नुपर्ने भन्दै आक्रोश नै व्यक्त गरेका थिए व्यवस्थित तरिकाले जवाफ दिन नसकेको भन्दै।

‘प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ भन्ने कुरा आज उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेन छ। यो त तीन दिनअघिको प्रश्न हो नि। उहाँको सचिवालयले तयार गरिदिनुपर्थ्यो कि पर्थेन। विघटन गरिदिए हुन्छ त्यस्तो सचिवालय,’ पाण्डेको भनाई छ।

उनले अन्त काम गर्न नसक्ने सचिवलाई लिएर प्रधानमन्त्री कार्यालयमा थन्काएको आरोप पनि लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell