काठमाडौं : नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ। ६३ वर्षीय लामाको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सिन्धुपाल्चोक कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत रहेका लामा लामो समयदेखि विभिन्न रोगले पीडित थिए। लामाको गएराति अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाले पुष्टि गरे।
१४ औं महाधिवेशनमा सहमहामन्त्रीका प्रतिस्पर्धी रहेका लामा गत शनिवार वीरमा भर्ना भएका थिए। २०१६ साल असोज २१ गते जन्मिएका उनले आफ्नो राजनीति यात्रा भने नेपाल विद्यार्थी संघबाट शुरु गरेका थिए। १३ औं जिल्ला अधिवेशनमा लामा सभापतिमा निर्वाचित भएका हुन्। २०७० सालको प्रतिनिधि सभाको निर्वाचन सिन्धुपाल्चोक क्षेत्र २ बाट कांग्रेसबाट उम्मेदवार बनेका उनी गत स्थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिकाबाट अध्यक्षका प्रतिस्पर्धी थिए।
इन्द्रावती गाउँपालिकाको वडा नम्बर ९ स्थित भोटसिपामा जन्मिएका लामा गायनमासमेत चर्चित नाम हो। ‘होइ साइली, माइली, ह्याङ निला, चु दु:ख डान्सी खाईरी ब्याङनिला’ र ‘आपाम बोर्जी, दैवसे’ जस्ता उनले गाएका गीत तामाङ समुदायमा अझै चर्चित छ। २०३७ सालमा रेडियो नेपालबाट आधुनिक गीतको स्वर परीक्षा उतीर्ण गरी नेपाली गीतसंगीत यात्रा थालेका उनले १५८ वटा गीत गाएका छन्। लामाले तामाङ फिल्म ‘डाङ’ पनि निर्माण गरेका छन्।
नेपाली आधुनिक गीत 'स्वर्ग कि परी'बाट गायन क्षेत्रमा डेब्यु गरेका लामा कलाकारितामा सोनाम लामाका नामले चर्चित थिए। उनको निधनप्रति कांग्रेस नेता डा शेखर कोइरालाले दु:ख व्यक्त गरेका छन्। 'नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनले दुःखी बनाएको छ। लामाले कांग्रेस पार्टीको संगठनमा पुर्याउनुभएको योगदान हाम्रा सामु सधैं ताजै रहिरहने छ,' कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'शोकाकुल यस समयमा परिवारजनमा हार्दिक समवेदना तथा स्व. लामाप्रति भावपुर्ण श्रद्धाञ्जली।'