PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पूर्वी नेपालका जलविद्युत आयोजनामा बाढीको क्षति : भेलमा बग्यो ८ अर्ब बढी लगानी



पहिलोपोस्ट

पूर्वी नेपालका जलविद्युत आयोजनामा बाढीको क्षति : भेलमा बग्यो ८ अर्ब बढी लगानी

काठमाडौं : पूर्वी नेपालमा आएको बाढीले ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ।

असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरमा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक अध्ययनले देखाएको हो। बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ ओटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ।

विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ। उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा भएको छ। उक्त जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए।

भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा-२ जलविद्युत आयोजनामा ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए।

उनका अनुसार उक्त आयोजनामा हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउस लगायतका भौतिक संरचना पूर्णरुपमा क्षति भएर आयोजनाको पुनर्निर्माणको लागि २ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ। त्यसैगरी, १४.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए।

 

निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति

बाढीका कारण निर्माणाधीन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ।

उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो। त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्र शव भेटिएको छ।

९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए।

त्यस्तै, ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष वीरेन्द्र बहादुर न्यौपानेले बताए। ९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले बताए।

 

प्रभावित आयोजनाका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्दै इप्पान

बाढीले प्रभावित आयोजनाका बारेमा इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ।

इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रवार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाका बारेमा प्रस्तुतीकरणको लागि समय माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell