PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

वाग्मती सरकारको लक्ष्य : सवल, सक्षम र योग्य खेलाडी उत्पादन, पूर्वाधारमा लगानी कति?



निशा गुरुङ

वाग्मती सरकारको लक्ष्य : सवल, सक्षम र योग्य खेलाडी उत्पादन, पूर्वाधारमा लगानी कति?

हेटौंडा : वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सक्षम, योग्य र सवल खेलाडी उत्पादनलाई जोड दिएको छ। शिक्षा, युवा, रोजगार र खेलकुदमा काम गर्दै आएको मन्त्रालयले खेलाडी उत्पादनलाईसमेत प्राथमिकतामा राखेको बताएको छ। खेलकुद नीतिको टड्कारो अभाव र निषेधको राजनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकिरहेका बेला वाग्मती सरकारले खेलाडी उत्पादनलाई महत्वका साथ हेरेको हो।

सक्षम खेलाडी उत्पादन गरी राष्ट्रिय रुपमा प्रतिष्पर्धा गराउने उद्देश्यले मन्त्रालयले राष्ट्रियस्तरको खेल प्रतियोगिताहरु सञ्चालन गर्दै पनि आइरहेको छ।

प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशले चालु आर्थिक वर्ष २०७९/८० मा १ सयभन्दा बढी ठूला-साना खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको छ। ती प्रतियोगिताले वाग्मती प्रदेशमा दुई सयभन्दा बढी नयाँ खेलाडीहरु उत्पादन गर्न सफल भएको परिषद्को दाबी रह्यो।

गण्डकी प्रदेशमा आयोजना भएको नेपाली खेलकुदको कुम्भमेला नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएको वाग्मती प्रदेशले विभिन्न विधाका प्रतियोगितामा १ सय ४५ पदक जित्न सफल भएको थियो। ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ३६ खेल समावेश गरिएको थियो।

प्रतियोगिताका लागि वाग्मती प्रदेशले ‘क्लोज क्याम्प’ नै राखेर खेलाडी सहभागी गराएको प्रदेश खेलकुद विकास परिषद्, वाग्मतीका सदस्य सचिव सूर्यलाल भण्डारीले बताए। जसकारण वाग्मतीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेको उनको तर्को रह्यो। प्रतियोगितालाई लक्षित गरेर मन्त्रालयले खेलाडीमा ५ करोड लगानी गरेको सदस्य सचिव भण्डारीले बताए।

प्रदेश सरकारले नै आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा राष्ट्रियस्तरको सहभागिता रहेको थियो। संघीय सरकारको ८१ लाख र प्रदेश सरकारको ३० लाख गरी करिब १ करोड १६ लाख लागतमा प्रतियोगिता भएको थियो।

त्यसैगरी, वाग्मती सरकारले नै आयोजना गरेको दोस्रो वाग्मती प्रदेश खेलकुद प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका १ हजार ४२७ पुरुष र १ हजार ७५ महिला खेलाडीले सहभागिता जनाएका थिए। सामाजिक विकास मन्त्रालयकै ९ करोड ४२ लाख लागतमा गरिएको प्रतियोगितामा प्रदेशका खेलाडीहरु स्वीमिङ र एथलेटिक्स्मा राष्ट्रिय स्तरकै रेकर्ड कायमसमेत गरेको भण्डारीले जानकारी दिए।

‘प्रदेश खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले सहभागिता जनाएका थिए। सहभागी केही खेलाडीले त रेकर्ड नै ब्रेक गरे’, उनले भने, ‘प्रदेशमा खेलकुद प्रतियोगिताहरु हुँदा राम्रा खेलाडीहरु उत्पादन भएको छ।’

प्रदेशकै आयोजनामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता पनि भएको थियो। सामाजिक विकास मन्त्रालयको करिब ३५ लाख लगानी रहेको उक्त प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका २ सय ५० जना भन्दा खेलाडीले भाग लिएका थिए।

प्रदेश सरकारले खेलाडी उत्पादन गर्न खेल प्रतियोगिता मात्रै नभई उनीहरुको क्षमता बृद्धि गर्न प्रशिक्षण पनि दिँदै आएको छ। प्रदेश खेलकुद परिषद्ले कराते खेलाडीहरुलाई नयाँ टेक्नोलोजी र अहिलेको नियमअनुसार खेल्न तालिम दिएको हो।

सामाजिक विकास मन्त्रालयको १० लाख लागतमा करिब २ सय ७० जना कराते खेलाडीहरुले तालिम लिएका छन्। खेलाडीसँगै रेफ्री तथा प्रशिक्षकलाई समेत तालिम दिएको मन्त्रालयले जनायो। १५ लाख लागतमा सरकारले ५५ जना एथ्लेटिक्सका रेफ्री तथा प्रशिक्षकलाई तालिम दिएको हो।

प्रदेश खेलकुद परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा सहभागिताका लागि खेलाडीको माग आउँदा प्रदेशस्तरका खेलाडीलाई छनौटमा पठाउने गरेको सदस्य सचिव भण्डारीले बताए। उनका अनुसार खेलकुद परिषद्ले खेल र तालिममात्रै नभई सामाजिक विकास मन्त्रालयको सहयोगमा सिन्धुली, काभ्रे, धादिङमा खेलकुद कार्यालय भवन निर्माण गरिसकेको छ।

मन्त्रालयको २१ करोड लागतमा चालु आर्थिक वर्ष २०८९/८० मा विभिन्न खेल प्रतियोगिता सम्पन्न गरेको प्रदेश खेलकुद परिषद्ले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अन्तर प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने र त्यसका लागि सरकारले ६ करोड बजेट छुट्याइएको सदस्य सचिव भण्डारीले बताए। उनले प्रदेशमा अझै राम्रो खेलाडी उत्पादन गर्न आगामी वर्षहरुमा जिल्ला-जिल्लामा पुगेर खेल प्रतियोगितामा सहभागी भई राम्रो खेलाडी छनौट गर्ने बताए।

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा समेत खेलाडी उत्पादन गर्न विभिन्न कार्यक्रमहरु अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले खेलकुद क्षेत्रसमेत हेर्ने सामाजिक विकास मन्त्रालयको लागि ४ अर्ब ६२ करोड १७ लाख विनियोजन गरेको छ।

वाग्मती प्रदेश सरकारले खेल संस्कृतिको विकास गरी युवाहरुमा देशप्रेम र सामाजिक अनुशासनको भावना विकास गर्दै व्यावसायिक खेलाडीको उत्पादन गर्न खेलकुद पूर्वाधार र खेलमा लगानी अभिवृद्धि गर्दै जाने नीति लिएको छ। विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न तथा स्थानीयस्तरमा खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य सम्पन्न गर्न ५ करोड बजेट विनियोजन गरेको छ। प्रदेशभित्रका रंगशाला, कभर्ड हल र खेल मैदानलगायतका खेलकुद पूर्वाधार निर्माणका लागिमात्रै सरकारले ३६ करोड १० लाख बजेट विनियोजन गरेको छ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले चालु आर्थिक वर्ष सम्पन्न भएको खेलहरुको छुट्टै महत्व रहेको बताइन्। खेल प्रतियोगिताबाट वाग्मती प्रदेशको जिल्ला तहदेखि छनौट भएर प्रदेश र त्यसपछि राष्ट्रियस्तरका सहाभागी हुँदा प्रदेशकै नाम राख्ने बताइन्।

‘यो वर्ष जतिपनि ठुला खेल प्रतियोगिता भयो। त्यसले छुट्टै महत्व राखेको छ। जिल्लादेखि छनौट भएर आएका खेलाडीहरु प्रदेश खेल प्रतियोगिता खेल्दै राष्ट्रिय खेल खेल्नसमेत सहभागी भएका छन्,’ मन्त्री मोक्तानले भनिन्, ‘यसैले पनि वाग्मती प्रदेशले खेलाडी उत्पादनमा के गर्न सक्यो भनेर देखाएको छ।’

मन्त्री मोक्तानले आगामी वर्षमा पनि खेलाडीलाई प्रोत्साहन गर्न खेलकुद विकासका लागि कार्यक्रमहरु आयोजना गरिने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell