PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बनेन अर्धशतक, जमेन साझेदारी: नेदरल्याण्ड्सलाई फितलो लक्ष्य



पहिलोपोस्ट

बनेन अर्धशतक, जमेन साझेदारी: नेदरल्याण्ड्सलाई फितलो लक्ष्य
photo: ICC

काठमाडौँ: क्रिकेट विश्वकप छनोटको समूहको अन्तिम खेलमा नेपालले फितलो प्रदर्शन गरेको छ। टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनाएको हो।

ओपनर आशिफ शेख २.२ ओभरमा डक आउटहुँदा पहिलो धक्का ब्यहोरेको नेपालले आफूलाई सम्हालिने अवसर नै सिर्जना गर्न सकेन। उनलाई लोगन भान विकले बोल्ड आउट गरेका थिए। दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल १४.२ ओभरमा २७ रन बनाएर विक्रम जितसिंहको बलमा स्कट एडवार्ड्सबाट क्याचआउट भए।

तेस्रो विकेट आरिफ शेखको गुम्यो। स्वभाविक भन्दा माथिल्लो क्रममा आएर ब्याटिङ गरेका उनी १६.१ ओभरमा सिंहकै वलमा भान विकबाट क्याचआउट हुन पुगे।

चौथो विकेट भीम सार्कीको गुम्यो। १८.१ ओभरमा २२ रन बनाएर खेलिरहेका सार्की क्लाटन फ्लोयडको बलमा क्याचआउट भए। उनी आउट हुँदा नेपालको स्कोरबोर्डमा ४ विकेट गुमाएर ५५ रन थियो।

पाँचौँ विकेट २५.२ ओभरमा कुशल मल्लको गयो। १२ रन बनाएर खेलिरहेका उनी आर्यन दत्तको बलमा विकेटकिपर एडवार्ड्सबाट क्याचआउट भए।

भान विकले छैटौँ विकेटका रुपमा कप्तान रोहितकुमार पौडेलको विकेट लिएपछि नेपालको ब्याटिङ पूर्णतय संकटतर्फ मोडियो। उनी ३१.१ ओभरमा ३३ रन बनाएर आउट हुँदा नेपालको स्कोर बोर्डमा ६ विकेट गुमेर मात्र ११६ रन थियो।

अर्का अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी १४ रन बनाएर ३३.५ ओभरमा भान बिकको बलमा एडवार्ड्सबाट क्याचआउट हुन पुगे।

त्यसपछि आएका सन्दीप लामिछानेले गुलसन झासँग मिलेर ३२ रनको साझेदारी गरे। तर, झा ४१.२ ओभरमा १५ रन बनाएर आउट हुँदा नेपालको स्कोर उकास्ने जिम्मेवारी लामिछानेमाथि आयो।

गुलसन पछि आएका करण केसी पनि ३ बलमा १ रन बनाउँदै ४१.६ ओभरमा क्याचआउट भए। ४४.३ ओभरमा क्याच आउट भएका लामिछानेले २७ रन बनाए।

बलिङतर्फ नेदरल्याण्ड्सका लोगान भान बिकले सर्वाधिक ४ विकेट लिँदा बस डी लीडे र विक्रम जितसिंहले समान २ विकेट लिए। त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान १ विकेट लिए।

ब्याटिङमा कप्तान पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन बनाए। त्यस्तै भीम सार्कीले २२ रन बनाउँदा गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए। कुनै पनि नेपाली ब्याट्सम्यानले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्न सकेनन् भने सबैभन्दा ठूलो साझेदारी नै कुशल भुर्तेल र भीम सार्कीबीच ३९ रनको बनेको थियो।

नेदरल्याण्ड्स केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell