PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेदरल्याण्डसँग पराजयसँगै रोकियो विश्वकप पुग्ने नेपालको बाटो



पहिलोपोस्ट

नेदरल्याण्डसँग पराजयसँगै रोकियो विश्वकप पुग्ने नेपालको बाटो
Photo: ICC

काठमाडौँ: भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्ने नेपालको बाटो टुंगिएको छ।

जिम्बावेमा जारी विश्वकप छनोटमा नेपालले समूहको आफ्नो चार खेलमध्ये तीनवटामा हार ब्यहोरेसँगै नेपालको विश्वकप पुग्ने बाटो टुंगिएको हो।

शनिवार जिम्बावेको टाकासिंगा स्टेडियममा सम्पन्न खेलमा ७ विकेटको पराजय ब्यहोरेसँगै नेपाल सुपरसिक्समा पुग्ने सम्भावना टुंगिएको हो। समूह 'ए' बाट नेपाल र अमेरिका बाहिरिँदा जिम्बावे, वेस्टइण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन्।

शनिवार टस हारेर नेदरल्याण्ड्स विरुदध् उत्रिएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

नेदरल्याण्ड्सलाई लक्ष्यसम्म पुर्‍याउन ओपनर म्याक्स ओडउडले सर्वाधिक ९० रन बनाउँदा विक्रमजित सिंहले ३० तथा विस्ले बरेसीले ३ रन बनाए। त्यस्तै बस डी लीडे ४१ रनमा र तेजा निदमनुरु २ रनमा अविजित रहे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिँदा गुलसन झाले एक विकेट लिए।

नेपालको इनिङ्स

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो।

ओपनर आशिफ शेख २.२ ओभरमा डक आउटहुँदा पहिलो धक्का ब्यहोरेको नेपालले आफूलाई सम्हालिने अवसर नै सिर्जना गर्न सकेन। उनलाई लोगन भान विकले बोल्ड आउट गरेका थिए। दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल १४.२ ओभरमा २७ रन बनाएर विक्रम जितसिंहको बलमा स्कट एडवार्ड्सबाट क्याचआउट भए।

तेस्रो विकेट आरिफ शेखको गुम्यो। स्वभाविक भन्दा माथिल्लो क्रममा आएर ब्याटिङ गरेका उनी १६.१ ओभरमा सिंहकै वलमा भान विकबाट क्याचआउट हुन पुगे।

चौथो विकेट भीम सार्कीको गुम्यो। १८.१ ओभरमा २२ रन बनाएर खेलिरहेका सार्की क्लाटन फ्लोयडको बलमा क्याचआउट भए। उनी आउट हुँदा नेपालको स्कोरबोर्डमा ४ विकेट गुमाएर ५५ रन थियो।

पाँचौँ विकेट २५.२ ओभरमा कुशल मल्लको गयो। १२ रन बनाएर खेलिरहेका उनी आर्यन दत्तको बलमा विकेटकिपर एडवार्ड्सबाट क्याचआउट भए।

भान विकेले छैटौँ विकेटका रुपमा कप्तान रोहितकुमार पौडेलको विकेट लिएपछि नेपालको ब्याटिङ पूर्णतय संकटतर्फ मोडियो। उनी ३१.१ ओभरमा ३३ रन बनाएर आउट हुँदा नेपालको स्कोर बोर्डमा ६ विकेट गुमेर मात्र ११६ रन थियो।

अर्का अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी १४ रन बनाएर ३३.५ ओभरमा भान बिकको बलमा एडवार्ड्सबाट क्याचआउट हुन पुगे।

त्यसपछि आएका सन्दीप लामिछानेले गुलसन झासँग मिलेर ३२ रनको साझेदारी गरे। तर, झा ४१.२ ओभरमा १५ रन बनाएर आउट हुँदा नेपालको स्कोर उकास्ने जिम्मेवारी लामिछानेमाथि आयो।

गुलसन पछि आएका करण केसी पनि ३ बलमा १ रन बनाउँदै ४१.६ ओभरमा क्याचआउट भए। ४४.३ ओभरमा क्याच आउट भएका लामिछानेले २७ रन बनाए।

बलिङतर्फ नेदरल्याण्ड्सका लोगान भान बिकले सर्वाधिक ४ विकेट लिँदा बस डी लीडे र विक्रम जितसिंहले समान २ विकेट लिए। त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान १ विकेट लिए।

ब्याटिङमा कप्तान पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन बनाए। त्यस्तै भीम सार्कीले २२ रन बनाउँदा गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए। कुनै पनि नेपाली ब्याट्सम्यानले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्न सकेनन् भने सबैभन्दा ठूलो साझेदारी नै कुशल भुर्तेल र भीम सार्कीबीच ३९ रनको बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell