PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एकैदिन दुई महत्वपूर्ण खेलमा पराजय : तुहियो विश्वकप सपना, साफबाट पनि बाहिर



पहिलोपोस्ट

एकैदिन दुई महत्वपूर्ण खेलमा पराजय : तुहियो विश्वकप सपना, साफबाट पनि बाहिर

काठमाडौं : नेपालमा लोकप्रिय खेलको चर्चा गर्दा दुई महत्वपूर्ण खेल अगाडि आउँछन्, फुटबल र क्रिकेट। शनिवार नेपाली फुटबल र क्रिकेट दुबैका लागि महत्वपूर्ण दिन थियो।

दुई फरक प्रतियोगिताका समूह 'ए' मा रहेका यी दुवै टोलीलाई जित्नै पर्ने दबाब थियो। तर, दुबै टोली पराजित भएका छन्।

क्रिकेटतर्फ एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोली शनिवार नेदरल्याण्ड्ससँग पराजित भयो। र, सुपर सिक्समा पुग्दै विश्वकप छनोट खेल्ने सपनाबाट हात धोयो।

शनिवार नै फुटबलतर्फ दक्षिण एसियाली फुटबलको महासंग्राम साफ च्याम्पियनसिपको समूह 'ए' मा नेपाल र भारतबिचको खेल थियो। पहिलो खेलमा कुवेतसँग ३-१ गोलले हारेको कारण सेमिफाइनलमा स्थान बनाउन खेलमा जित्नै पर्ने दवाब नेपाललाई थियो। तर, भारतले नेपाललाई २-० गोलअन्तरले हराइदिँदा अघिल्लो सिजन फाइनल खेलेको नेपाल यो सिजन समूह चरणबाटै बाहिरिने पक्का भयो।

क्रिकेटमा के भयो?

जिम्बावेमा जारी विश्वकप छनोटमा नेपालले समूहको आफ्नो चार खेलमध्ये तीनवटामा हार ब्यहोरेसँगै नेपालको विश्वकप पुग्ने बाटो टुंगिएको छ।

शनिवार जिम्बावेको टाकासिंगा स्टेडियममा सम्पन्न खेलमा ७ विकेटको पराजय ब्यहोरेसँगै नेपाल सुपरसिक्समा पुग्ने सम्भावना टुंगिएको हो। समूह 'ए' बाट नेपाल र अमेरिका बाहिरिँदा जिम्बावे, वेस्टइण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन्।

शनिवार टस हारेर नेदरल्याण्ड्स विरुद्ध उत्रिएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

नेदरल्याण्ड्सलाई लक्ष्यसम्म पुर्‍याउन ओपनर म्याक्स ओडउडले सर्वाधिक ९० रन बनाउँदा विक्रमजित सिंहले ३० तथा विस्ले बरेसीले ३ रन बनाए। त्यस्तै बस डी लीडे ४१ रनमा र तेजा निदमनुरु २ रनमा अविजित रहे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिँदा गुलसन झाले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो। ब्याटिङमा कप्तान पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन बनाए। त्यस्तै भीम सार्कीले २२ रन बनाउँदा गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए। कुनै पनि नेपाली ब्याट्सम्यानले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्न सकेनन् भने सबैभन्दा ठूलो साझेदारी नै कुशल भुर्तेल र भीम सार्कीबीच ३९ रनको बनेको थियो।

फुटबलमा जोखिएन साख

यसपाला साफ च्याम्पियनसिप त्यसै पनि थप प्रतिस्पर्धात्मक छ। दक्षिण एसियाका ६ राष्ट्र र दुई आमन्त्रित टोली कुवेत र लेबनान यसपटक प्रतियोगितामा सहभागी छन्। यसले पनि अघिल्लो साफ खेलेको नेपाललाई साख जोगाउनै कठिन पर्ने पहिल्यै निश्चित जस्तै थियो।

त्यसै पनि नेपाल समूह 'ए' मा मध्यपूर्वको कुवेत, दक्षिण एसियाको सर्वाधिक सफल भारत र पाकिस्तानको समूहमा परेको थियो। नेपाली टोलीका कप्तान किरण चेम्जेङले भारत जानु अघि आफूहरु 'ग्रुपअफ डेथ'मा रहेको बताएका थिए।

भयो पनि त्यस्तै। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित हुँदा दोस्रो खेलमा शनिवार भारतसँग २-० गोलले हार ब्यहोर्‍यो। नेपालरहेको समूहबाट भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाउँदा नेपाल र पाकिस्तान बाहिरिसकेका छन्। समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्ने छ, तर यो खेल सेमिफाइनल पुग्न नभएर प्रतिष्ठाका लागि मात्र हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell