
बलिउडमा अप्रत्यासित रुपमा हिट भयो दी केरला स्टोरी। फिल्म विवादित पनि बन्यो। सत्य घटनामा जसरी स्टोरी न्यारेट गरियो तर यथार्थमा त्यस्तो थिएन। जतिसुकै माइनुपुलेट भएको कथा भए पनि फिल्म हिट भयो। बक्स अफिसको मानकले ब्लकवस्टर नै ठहर्यायो। तर, रोचक के भने यही फिल्म ओटीटी प्लेटफर्ममा भने बिकेको छैन। हिट फिल्म आफ्नो ओटीटीमा अपलोडका लागि होडबाजी गर्नेहरु यस फिल्मप्रति पोजेटिभ देखिएका छैनन्।
फिल्मको ओटीटी रिलिजको चर्चा चलेपछि बलिउड हंगामाका लागि सुवास कुमार झाले फिल्म निर्देशक सुदीप्तो सेनलाई यसबारे सोधे।
'कुनै पनि ओटीटी प्लेटफर्मबाट हामीले योग्य अफर पाएका छैनौं,' सुदीप्तोको जवाफ मिल्यो। विभिन्न अनलाइनले यो फिल्म ओटीटीमा रिलिज हुनै लागेको सार्वजनिक गरेका थिए। 'होइन। त्यो सबै फेक न्युज हो। हामी राम्रो ओटीटी प्लेटफर्मसँग सम्झौताका लागि प्रतीक्षामा छौं,' उनले भनेका छन्, 'अहिलेसम्म हामीले कुनै अफर पाएका छैनौं। यस्तो लाग्दैछ कि फिल्म इन्ड्रस्टी हामीविरुद्ध "ग्याङअप" गरिरहेको छ दण्ड दिनका लागि।'
दण्ड केका लागि? 'हाम्रो बक्स अफिस सफलताले यस क्षेत्रका धेरैलाई चिढ्याएको छ। हाम्रो सफलताको सजायँ दिनका लागि उनीहरु एकतावद्ध भएका छन्।'
ओटीटी प्लेटफर्महरुले भने कुनै पनि राजनीतिक विवादले घेरिएको विषयवस्तुलाई लिएर विवादमा बस्न नचाहेको जनाएका छन्।
फिल्म जुन कुराले विवादित बनेको छ त्यसले भारतीय समाजको एउटा ठूलो तप्कालाई चिढ्याएको प्रष्ट हुन्छ। त्यसैले ओटीटी संचालकहरु यसमा संवेदनशील देखिएका हुन्। यसलाई प्रोपागान्डा फिल्म भन्नेहरु पनि धेरै छन्। जसका कारण ओटीटी प्लेटफर्महरु फिल्मदेखि टाढा रहन चाहेका हुन्।