PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जिम्बावेमा नेपालले थप दुई खेल खेल्ने, कस्तो छ प्लेअफको समीकरण?



पहिलोपोस्ट

जिम्बावेमा नेपालले थप दुई खेल खेल्ने, कस्तो छ प्लेअफको समीकरण?
Photo: CAN

काठमाडौं : विश्वकप छनोट खेलमा समूह 'ए' मा परेको नेपाली क्रिकेट टोलीले चार मध्ये तीन खेलमा पराजित बन्दै विश्वकप पुग्ने बाटो बन्द भएको छ। समूह चरणमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दा जिम्बावे, वेस्ट इण्डिज र नेदरल्याण्ड्सँग क्रमश ८ विकेट, १०१ रन र ७ विकेटको हार ब्यहोर्‍यो।

नेपाल रहेको समूह 'ए' बाट सुपर सिक्समा पुग्ने टोली जिम्बावे, नेदरल्याण्ड्स र वेस्टइण्डिज बनेका छन्। समूह 'बी'को सुपर सिक्समा पुग्ने तीन टोलीको टुंगो भने लाग्न बाँकी छ। समूह 'बी' दुई खेल खेलेर शतप्रतिशत जित निकालेको श्रीलंका ४ अंक जोडेर शीर्षस्थानमा रहँदा समान नतिजा निकालेको स्कटल्याण्ड दोस्रो स्थानमा छ। त्यस्तै, २ जित र १ हार ब्यहोर्दै ४ अंक नै जोडेको ओमन तेस्रो स्थानमा छ। चौथो र पाँचौँ स्थानमा रहेका आयरल्याण्ड र यूएईले क्रमश दुई र तीन खेलमा पराजय ब्यहोरेका छन्।

अब घर फर्किन्छ नेपाल?

सुपर सिक्समा पुग्न असफल रहे पनि नेपालको जिम्बावेमा खेल भने सकिएको छ। दश वटा टोली सहभागि रहेको विश्वकप छनोटमा सुपर सिक्समा टोली निर्क्योल भएसँगै पछिल्ला चार टोलीले प्लेअफ खेल्नेछन्। जसबाट सातौँ देखि दशौँ स्थानसम्मको टोलीको समेत निर्क्योल हुनेछ।

समूह 'बी' बाट सुपर सिक्समा पुग्न नसकेका दुई टोलीसँग समूह 'ए' का नेपाल र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन्। समूह 'बी' को समीकरण नसकिएका कारण नेपालले खेल्ने टोलीको टुंगो भने लागेको छैन।

नेपालले आफ्नो पहिलो प्लेअफ खेलमा जुलाइ २ (आइतवार) मा समूह 'बी' को पाँचौँ स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेललाई प्लेअफको दोस्रो सेमिफाइनल भनिएको छ।

त्यसअघि शुक्रवार अमेरिकाले समूह 'बी' मा चौथो हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेललाई प्लेअफको पहिलो सेमिफाइनल भनिएको छ।

नेपालले जितेको खण्डमा अमेरिका र समूह 'बी' चौथो भएको टोलीबीचको विजेतासँग सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। तर, पराजित भएको खण्डमा ९ औँ स्थानका लागि उक्त खेलमा पराजित भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell