
काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ।
राष्ट्रिय सभागृहमा उपप्रमुख सुनिता डंगोलले आगामी वर्षको बजेट पेश गरेकी हुन्। डंगोलले महानगर स्वर्णिम, गौरव र प्राथमिकतायुक्त गरि तीन क्षेत्रमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको बताइन्। उनले गौरवका आयोजनाहरुमा १० वटा विषयगत आयोजनाहरु छनोट गरिएको बताइन्। गौरवका आयोजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ।
साथी महानगर, एक वडा एक नमुना उद्यम कार्यक्रम, महानगरले देख्छ, सुशासनका लागि अनलाइ सेवा, न्याय चौतारी लगायत शीर्षकमा बजेट छुट्याइएको छ।
बजेटमा विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि 'गरीखाने शिक्षा, महानगरको इच्छा' योजना घोषणा गरिएका छ। त्यसका लागि ५० करोड रुपैयाँ छुट्याइएको छ। सामुदायिक विद्यालयमा एक नर्क र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्था गर्ने बजेटमा उल्लेख छ।
महानगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न महानगरले ३० करोड रुपैयाँ छुट्याएको डंगोलले बताइन्।
यस्तै, स्वास्थ्य क्षेत्र तर्फ सरल र सुलभ सेवा उपलब्ध गराउन ३५ करोड बजेट विनियोजन गरिएको छ। सहुलियतमा औषधी उपलब्ध गराउन सुलभ फार्मेसी योजना घोषणा गरिएको छ। देशका विभिन्न नगरपालिकाहरुलाई ३५ वटा एम्बुलेन्स उपलब्ध गराउन ७ करोड विनियोजन गरिएको छ।
महानगरभित्र संचालन हुने मौलिक र स्थानीय जात्रा पर्वको लागि १ करोड ८८ लाख विनियोजन गरिएको छ। महानगर भित्रका नदीहरुको सरसफाइ र नदी किनारको संरक्षणका लागि ७ करोड रकम विनियोजन गरिएको छ।
महानगरमा ३०० जना कुचिकार, ५१ जना कार्यालय सहयोगी, ३२ जना चौकीदार, २६९ जना स्वास्थ्यकर्मी र १५१ जना नगर प्रहरी जवानलाई करारमार्फत सेवामा लगाउन ३० करोड रकम विनियोजन गरिएको छ। नगर प्रहरीतर्फ कूल ५०० जनाको दरबन्दी रहने व्यवस्था गरेको डंगोलले बताइन्।
डंगोलले महानगरमा भित्रिने तरकारी र फलफूलमा विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ। त्यसका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ।
यस्तै, धुलोरहित काठमाडौं बनाउने योजनाको लागि महानगरले १ अर्ब बजेट विनियोजन गरेको छ। धुलोरहित काठमाडौं महानगर क्षेत्र भित्रका सम्पूर्ण डिपीआर भएका सडक पेटी लगायतका योजनाहरु निर्माण तथा मर्मत गर्न उक्त बजेट खर्च गरिने डंगोलले बताइन्।
यस्तै, सुन्दर महानगर योजनाको लागि २५ करोड बजेट विनियोजन गरिएको उनले बताइन्। यसमा काठमाडौं महानगर क्षेत्रभित्रका पार्क तथा अन्य सबै क्षेत्रलाई हराभरा गर्ने योजना महानगरको रहेको छ।
डंगोलले काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने बजेटमार्फत बताएकी छिन्। उनले यसका लागि पाँच करोड विनियोजन गरेको समेत बताइन्।
यस्तै, डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ‘उज्यालो सहर, मेरो महानगर’ कार्यक्रम मार्फत सडक बत्ती जडानका लागिएको बताइन्। महानगरपालिकाले उक्त कार्यक्रमका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ। यही कार्यक्रमअन्तर्गत १०० वटा चोक अथवा क्षेत्रमा हाइ मास्ट लाइट जडान गरिनेछ।