PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भक्तपुरको २ अर्ब २६ करोडको बजेट : सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीको तलब दुई हजार बढ्यो



पहिलोपोस्ट

भक्तपुरको २ अर्ब २६ करोडको बजेट : सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीको तलब दुई हजार बढ्यो

काठमाडौं : भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको बजेट प्रस्तुत गरेकी हुन्। 

भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरि आर्थिक वर्ष २०८०-८१ को लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको हो।

विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख ९४ हजार रुपैया अर्थात् ५५.८० प्रतिशत र  पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैया अर्थात् ४५.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात् ४.१९ प्रतिशत विनियोजन गरिएको छ। 

बजेटमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ त्यस्तै, ख्वप कलेज अफ ल का लागि आवश्यक जग्गा खरिद गर्न पनि बजेटमा रकम विनियोजन गर्ने उल्लेख छ।

नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड बजेटको व्यवस्था गरिएको जोशीले बताइन्। शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन २ करोड रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउँदै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक दुई हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरिएको जोशीले बताइन्।

ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको लागि ८ करोड रुपैयाँ, अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रुपैयाँसँगै सञ्चालन खर्चका लागि थप ३ करोड रुपैयाँ  विनियोजन गरिएको छ। नगरपालिकाको वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख र वडा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरिएको छ।

सम्पदा र संस्कृतिक संरक्षणतर्फ वडा नं. ३ स्थित ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि २ करोड रुपैयाँ र इन्द्रायणी द्यो छेँ पुनः निर्माणको लागि २० लाख रुपैयाँ थप विनियोजन गरिएको छ। वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख रुपैयाँ, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख रुपैयाँ र हाडा छेँ पुनःनिर्माणको लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको जोशीले बताइन्।

यस्तै, वडा ७ मा साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र वडा नं. २ मा कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। वडा नं ६ स्थित छुमा गणेश द्यो छेँ पुनःनिर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ, वडा नं. ५ मा तरकारी बजार निर्माण गर्न ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख रुपैयाँ र व्यवस्थित वधशाला निर्माण गर्न १० लाख बजेट विनियोजन भएको छ।

नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि १ करोड रुपैयाँ, वडा नं १० मा डिप बोरीङ गर्न २५ लाख रुपैयाँ, वडा नं १ को सिंहख्वातेमा डिप बोरिङ गर्न २० लाख  रुपैयाँ र वडा नं ९ को तुमचोमा खानेपानी पूर्वाधार निर्माण गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैयाँ, अरनिको सभाभवन निर्माणका लागि नगरपालिकाबाट ३ करोड २० लाख रुपैयाँ र वाग्मती प्रदेश सरकारबाट ८० लाख गरि कुल ४ करोड विनियोजन गरि बहुवर्षिय योजनाका रुपमा अघि बढाइने उपप्रमुख जोशीले बताइन्। साथै, कमलविनायक बहुउद्देश्यीय भवन निर्माण कार्यका लागि ४ करोड रुपैयाँ, वडा नं ९ तौलाछे वाथिकुथि (लिवि)मा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण कार्यका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।  वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तरोन्नतिका लागि ५०-५० लाख गरी कुल ५ करोड रुपैया विनियोजन गरिएको छ।

खेलकुदअन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख रुपैयाँ, बेखाल कभर्ड हल निर्माणमा १ करोड र शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरिएको छ।

विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख रुपैयाँ, देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड रुपैयाँ, पार्किङ पूर्वाधार निर्माणमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै, सिसिटिभी प्रणाली जडान गर्न २३ लाख रुपैयाँ, आदर निकेतन भवन निर्माण गर्न थप ५० लाख विनियोजन रुपैयाँ, यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड रुपैयाँ बराबरको ऋण कोषको व्यवस्था पनि बजेटमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell