
काठमाडौं : काठमाडौं महानगरपालिकाले भवनको नक्सा स्वीकृत भएको मितिले दुई वर्षसम्मको अवधिलाई निर्माण अवधि मानेर त्यस अवधिको सम्पत्ति करमा छुट दिने भएको छ।
आइतबार नगरसभामा मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको आर्थिक विधेयकले म्याद थप भएमा थप दुई वर्ष सम्पत्ति कर छुट दिने बताएका छन्।
तर, कसैले निर्माण अवधिभन्दा अगावै भवन निर्माणको काम सकेर महानगरपालिकाबाट भवन निर्माण सम्पन्नताको प्रमाण पत्र जारी भएमा सोही आर्थिक वर्षदेखि सम्पत्ति कर लाग्ने छ। यस्तै, नगरकार्यपालिकाले सम्पत्ति करको निर्धारण प्रयोजनका लागि बाटाका आधारमा जग्गाको मूल्य कायम गर्ने भएको छ। र, सोही अनुसार कर निर्धारण हुने महानगरपालिकाले जनाएको छ। एकभन्दा बढी बाटोले छोएको भए सबै भन्दा ठुलो बाटोलाई आधार लिएर जग्गाको मूल्य कायम गरिने भएको छ।
महानगरपालिकाले व्यवसायिक रुपमा सवारीसाधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति करमा छुट शाहले बताएका छन्।
पार्किङ प्रयोजन देखाएर नक्सा स्वीकृत गरेको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेमा भने कारबाही हुने र त्यस्तो अवस्थामा सम्पत्ति कर पनि असुल गर्ने महानगरले जनाएको छ। तर, फार (एफएआर) सुविधा लिएर स्वीकृत गरेको भवनको सवारीसाधन पार्किङ क्षेत्रलाई त्यस्तो सुविधा उपलब्ध नहुने शाहले स्पष्ट पारे।
त्यसैगरी, बहुतला भएको संयुक्त आवास र व्यवसायिक प्रयोजनका लागि निर्माण भएको भवनको सम्पत्ति कर निर्धारण गर्दा एकमुष्टमा कर निर्धारण हुने भएको छ। त्यस्तो भवनको केही भाग मात्र बिक्री हुने भए एकमुष्ट निर्धारण गरिएको अंकबाट बिक्री हुने भागको दामासाही वा औसत अंक निकालेर सो भुक्तान गरे सोही बराबरको कर फुकुवा वा चुक्ता जारी गर्ने शाहले बताएका छन्। भवनको बाँकी भएको भागलाई भने स्टकमा राखिने भएको छ।

यस्तै, महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भए वा लिजमा लिइ सञ्चालन भएको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति करमा थप ३० प्रतिशत छुट दिने उनले बताए।
महानगरले भवनको क्षेत्रफल कायम गर्दा स्वीकृत नक्सा र निर्माण भएको भवनको क्षेत्रफल फरक भएमा निर्माण भएको भवनको क्षेत्रफललाई आधार मान्ने भएको छ। बहुतले आवासीय भवन वा व्यवसायिक भवन वा अपार्टमेन्टमा रहेको एकाइका सम्पत्ति कर निर्धारणका हकमा तलाले ओगटेको भवनको हिस्सा बराबर नै जग्गाको क्षेत्रफल कायम गरी मूल्यांकन हुने शाहले बताएका छन्।
त्यस्तै, महानगले करदाताहरूको सम्पत्ति थप भएमा वा भवन निर्माण सम्पन्न लिदा थप हुन गएको क्षेत्रफलको मात्र जरिवानासहित कर असुल्ने भएको छ। निर्माण भएको वर्ष स्वयं करदाताले घोषणा गरेमा भने सोही वर्षलाई आधारमानेर कर गणना गरिने भएको छ। काठमाडौं महानगरले आगामी आवका लागि सम्पत्ति कर यथावत राखेको छ।
त्यसैगरी, महानगरले वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र अन्य कुनै आम्दानी गर्ने स्रोत नरहेका करदाताहरुले छुट पाउने भएका छन्।
छुट माग गरेमा सम्बन्धित वडा समितिले वास्तविक अवस्था भने बुझ्ने छ। त्यस्तो निवेदन मनासिव भएका वडा समितिको बैठकले निर्णय गरी चालु आर्थिक वर्षमा लाग्ने बहाल करमा ७५ प्रतिशत छुट दिने भएको हो।
यदि अरु आम्दानीको स्रोत भए बहाल करमा छुट हुने छैन। न्यून बहाल देखाएर छुट लिने करदाताहरुलाई भने कारवाही गर्ने महानगरले जनाएको छ।

महानगरले फनपार्कहरुलाई समेत करको दायरामा ल्याएको छ। महानगरले फनपार्क ५ रोपनीसम्म क्षेत्रफल भएकोलाई १० हजार, १० रोपनीसम्म भए २० हजार र १० रोपनीभन्दा बढी भए ३० हजार रुपैयाँ व्यवसाय कर तोकेको छ।