PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

घरको नक्सा पास गर्न अनिवार्य रुख रोप्‍नुपर्ने !



रासस

घरको नक्सा पास गर्न अनिवार्य रुख रोप्‍नुपर्ने !

चितवन : भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ। महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताइन्।

नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन एक परियोजनाका रुपमा हरियाली प्रवद्र्धन कार्यक्रमको थालनी गरिने उल्लेख छ।

केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकका रुपमा विकास गरिने कार्यक्रममा उल्लेख छ। गोन्द्राङ–पुल्चोक सडकको दायाँबायाँ किनारमा हरियाली प्रवद्र्धन गर्न ठूला हुर्किएका रुख रोपण र संरक्षण गरिने जनाइएको छ। ‘एक घर दुई रुख’को नीति कडाइका साथ कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख गरिएको छ।

घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्यरुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने नीति महानगरले ल्याएको छ। ‘एक वडा एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि सबै सँगसँगै’को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवद्र्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक सङ्घ संस्थासँग समन्वय र सहकार्य गरिने कार्यक्रममा उल्लेख छ।

वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्‍याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्करूपमा बिरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ।

महानगरको समृद्धि र विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक विकासलाई पनि सँगसँगै अगाडि बढाउन कृषि, वातावरण तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, सिमान्तकृत, लोपोन्मुखलगायतका क्षेत्रको सन्तुलित र दिगो विकासको अवधारणालाई आत्मसात् गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । फोहरमैला व्यवस्थापन निजी क्षेत्रको सहकार्यमा गर्न अन्तिम चरणमा पुगेको कार्यक्रममा उल्लेख छ।

महानगरलाई सुन्दर र व्यवस्थित बसोबासयुक्त बनाउन मापदण्डविपरीत निर्मित संरचना हटाउने कार्य अगाडि बढाइएको महानगर प्रमुख दाहालले बताइन्। कृषिमा यन्त्रीकीकरण, दूधमा प्रतिलिटर रु तीन अनुदान र छात्रासँग मेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ।

सन् २०२४ मा दुई लाख पर्यटक भित्र्याउने गरी भरतपुर भ्रमण वर्ष मनाउने योजनाअनुरुप सूचना प्रविधिसँग जोड्न महानगरपालिकाभित्रका ३० वटै पर्यटकीय गन्तव्यको सम्पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली भाषामा दिइने गरी मोबाइल एपको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘व्यवस्थित पूर्वाधार, समृद्धिको आधार’को अवधारणाबमोजिम महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको छ।

सहरी क्षेत्रमा सडक कालोपत्रसँगै प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी मेगा आयोजना सञ्चालनमा ल्याइने भएको छ। ‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ।

‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ गर्ने नीतिअनुरुप विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ। केरूङ्गा घोल, पुङ्गी खोलालगायतका खोलालाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने जनाइएको छ। यससँगै अतिक्रमित संरचना हटाइने उल्लेख छ।

नारायणी नदी किनारमा निर्माणाधीन ‘सी बीच मोडेल’सहितको मनोरञ्जन पार्कलाई व्यवस्थित गर्न र थप निर्माण कार्यलाई सम्पन्न गर्न गुरुयोजनाबमोजिम सङ्घ एवं प्रदेश सरकारसँगको साझेदारीलाई निरन्तरता दिइने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell