PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

महासंकटमा माधव : सधैं धुम्म, सधैं रक्षात्मक ! आफ्नै दलका नेताको बन्दैछन् निशाना



प्रकाश भण्डारी

महासंकटमा माधव : सधैं धुम्म, सधैं रक्षात्मक ! आफ्नै दलका नेताको बन्दैछन् निशाना

काठमाडौं : ‘मैले मेरो दलको अध्यक्षलाई पनि भनेको छु, तपाईँ भोट हाले हाल्नुस्; म सहितका मेरा दलका अरु साथीहरुले भोट हाल्नेवाला छैनन्। यस्तो बेवारिसे तरिकाले बनेको बजेटलाई समर्थन गर्न मिल्छ?,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रतिनिधि सभाको असार ४ को बैठकमा पोखेको आक्रोशले संकेत गर्छ - पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको दृष्टिकोण।

पाण्डेको चुनौती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई त थियो नै, आफ्नै अध्यक्ष माधव नेपालमाथि पनि कम्तिको झटारो थिएन। नेपाल आफ्नै नेताका कारण अप्ठेरोमा परेको पहिलो पटक भने होइन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिएको विश्वासको मतकै बेलामा पनि उनले आफ्नो पक्षमा रहेका सबै सांसदलाई एक ठाउँमा उभ्याउन सकेका थिएनन्। योगेश भट्टराई, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका १० सांसदले त्यतिबेलै नेपालको साथ छाडेका थिए। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,अमृत बोहोरा, घनश्याम भुसाल, भीम आचार्य, र रघु जी पन्तले पनि एकएक गरी अन्तिममा नेपाललाई साथ दिएनन्। भुसाल भने एमालेले प्रतिनिधि सभामा टिकट नदिएपछि पार्टी परित्याग गरेर एकीकृत समाजवादीको महासचिव बनेका छन्।

नेपालको पक्षमा उभिएर ओलीको विपक्षमा मत हालेकै सांसद पनि अहिले नेपाललाई चेतावनीको भाषामा जवाफ दिइरहेका छन्।

उनन्तीस सांसद र ५३ केन्द्रीय सदस्य लिएर २०७८ भदौ २ मा एकीकृत समाजवादी गठन गरेका थिए नेपालले। पार्टी गठनयता नेपाल लगातार अस्तित्व रक्षाको चुनौतिपूर्ण अवस्थामा छन्। कतिसम्म भने एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेर पार्टी विभाजनमा नेपाललाई साथ दिएकाहरु अझै पनि पुरानै पार्टीतिर फर्किरहेका छन्। एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य चुडामणि जंगली लगायतका नेता वैसाख ९ मा एमालेमा फर्किए। उनीमाथि पार्टी विभाजनको औचित्य नेपालले पुष्ट गर्न नसकेको आरोप यसरी पार्टी फेर्नेहरुले गर्दै आएका छन्।

नेपाल पार्टी भित्रको संकटमा मात्रै होइन, जनमतका हिसाबले पनि शक्ति गुमाइरहेका छन् पछिल्लो समय। स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा टिकटको किचलोका कारण एकीकृत समाजवादी संकटमा पर्‍यो। चुनावी परिणामले नेपाल कतिसम्म संकटमा परे भने निर्वाचनको ६ महिना अघिमात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभामा २१ सिट जितेर चौथो दल बन्दा एकीकृत समाजवादीलाई राष्ट्रिय दलको मान्यता दिलाउन सकेनन्। तीन प्रतिशतको थ्रेस होल्ड कटाउनबाट एकीकृत समाजवादी चुक्यो। आफूले गुमाएको शक्तिबारे भने माधव नेपालले सधैं भन्दै आएका छन् - गठबन्धनको पेलान भयो।

प्रतिनिधि सभामा १० सिटमात्रै जितेपछि पार्टी विभाजनबारे नेपाल अहिले पूरै रक्षात्मक छन्। नेपालले कहिले आफैंले तिरस्कार गरेका ओलीलाई सहकार्यका लागि आह्वान गरिरहेका छन् त कहिले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)सँग पार्टी एकताबारे वार्ता। २०७८ भदौमा माओवादी केन्द्रसँग एकताका लागि कार्यदल नै बनाएको थियो एकीकृत समाजवादीले। माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसँग एकता गर्न चासो देखाएको थियो। तर, पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग सहकार्य गरेर प्रधानमन्त्री भएपछि नेपाल प्रचण्डसँगको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकालदेखिकै दोस्तीमा ब्रेक लाग्यो। फागुन १३ मा प्रचण्ड कांग्रेस- एकीकृत समाजवादीसँगको सहकार्यमा ‘यु टर्न’ भएयता नेपाल फेरि प्रचण्डसँग दोस्ती जमाइरहेका छन्।

माओवादी र जसपासँग एकताका लागि एकै साथ नेपालले वार्ता गरेका थिए। तर दुवै पार्टीसँग एकता हुन नसकेपछि नेपालले अस्तित्व रक्षाका लागि अर्को अस्त्र चलाए - समाजवादी मोर्चा नेपाल गठन।

प्रधानमन्त्री प्रचण्ड र नेपालको योजनामा समाजवादी मोर्चा नेपाल गठन भएको छ। ‘लेफ्टहरुलाई एक ठाउँमा जोड्न के गर्न सकिएला भनेर गरिएको एउटा प्रयास न हो। गठबन्धन भन्दा अलि कसिलो तर पार्टी एकता होइन। विचार मिल्नेहरु मोर्चामा आएको मात्रै हो,’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने।

मोर्चा घोषाणाकै दिन पनि नेपालले ओलीलाई सहकार्यका लागि प्रस्ताव गरेका थिए। ‘आउनुस्, हातेमालो गरौं। हामी कसैसँग मुकाबिला गर्न चाहदैनौं,’ ओलीले मुकाबिला गर्न समाजवादी मोर्चा बनाएको आरोप लगाएपछि नेपालको जवाफ थियो।

घुर्काउने र गठबन्धनमा बार्गेनिङ गर्ने नेपालको रणनीति नै भइसकेको छ सत्ता गठबन्धनमा। किनभने अहिले नेपालले एकातिर आफूलाई हेपिए सरकार नै ढल्ने चेतावनी एकातिर दिइरहेका छन् भने भित्रभित्रै गठबन्धन जोगाउन कसरत पनि गरिरहेका छन्। ‘एउटा विशिष्ट परिस्थितिबाट बनेको गठबन्धन हो। यस्तो चानचुने हावाले यो गठबन्धन हल्लिनु पनि हल्लिँदैन,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बजेट विवादकै कारण सत्ता गठबन्धन नटुटने दाबी गरे।

नेपालले आफूलाई सत्ता गठबन्धनले हेपेको भन्दै सरकार ढल्नसक्ने बताएका थिए। ‘ढलाउने योजनामा छैन भनौं ढुक्क होलान् फेरि। कुनै कुनै कुरालाई रहस्यको गर्भमा राखिदिनुपर्छ,’ नेपालले जेठ २८ मा प्रतिनिधि सभाबाट बाहिरिने क्रममा भनेका थिए।

नेपालमाथिको संकट अरुको कारण भन्दा पनि आफ्नै सहयात्रीकै कारण छ। २०७८ साउन ३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदा ओली समूहमा रहेका ८ जना सांसद प्रेम आले, कृष्णकुमार श्रेष्ठ, हिराचन्द्र केसी, पार्वती विशंखे, कलिला खातुन, विनादेवी बुढाथोकी,धनबहादुर बुढा र समिना हुसेनले नेपालको पक्षमा उभिँदै देउवालाई मत दिएका थिए। उनीहरुसहित एमालेका तत्कालीन २२ जना सांसदले 'फ्लोर क्रस' गरे।

आफ्ना सांसद पद नै दाउमा राखेर नेपालको पक्षमा उभिएकै नेताहरु पनि पछिल्लो समय भने नेपालको पक्षमा छैनन्। विवादकै कारण वरिष्ठ नेता न्यौपानेसहितले एकीकृत समाजवादी छाडेका थिए। विरोध खतिवडा, रामकुमारी झाँक्री, निरा देवी जैरु, कृष्ण लाल महर्जन, गोपाल बम र पुष्पा कुमारी कर्ण लगायतका नेताहरुले पनि एकीकृत समाजवादीभित्र नेपालको आलोचना गरिरहेका छन्। कतिसम्म भने चुनावमा पराजित भएयता सार्वजनिक रुपमै झाँक्रीले आफू एमालेमा पनि फर्कन सक्ने अभिव्यक्ति दिँदै आएकी छिन्। एकीकृत समाजवादीका नेताका अनुसार सचिवको भूमिकामा रहेकी झाँक्री पछिल्लो समय एकीकृत समाजवादीमा त्यति सक्रिय छैनन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका बेलामा पनि माधवकुमार नेपाल आफ्नै पार्टीका नेताहरुका कारण संकटमा थिए। एकीकृत समाजवादीको सचिवालयको २०७८ जेठ २२ गतेको बैठकले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी तत्कालीन ४ जना मन्त्रीलाई फिर्ता बोलाएको थियो। तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई पार्टीले फिर्ता बोलाए पनि महिना दिनसम्म उक्त निर्णय कार्यान्वयन भएन। त्यहाँ पनि नेपाल नमीठोगरी हेपिए।

पार्टी विभाजन गरेको दुई वर्षसम्म पनि नेपाल रक्षात्मक स्थितिमै छन्। आफ्नै पार्टी भित्रका किचलोसमेत मिलाउन नसकिरहेका नेपालले यसपटक बजेटमा देखिएको असन्तुष्टिलाई पनि व्यवस्थापन गर्न सकिरहेका छैनन्। आगामी दिनमा उनले आफूलाई कसरी स्थापित गर्छन् त्यो चाहिँ चासोको विषय बनेको छ। तत्कालका गतिविधि हेर्दा चाहिँ नेता नेपालको हालत खराब नै मान्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell