काठमाडौं: साफ च्याम्पियनसीपमा नेपाल लगातार दुई खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ। नेपाल रहेको समूह 'ए' मा भारत र कुवेतले लगातार दुई जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरे। भारत र कुवेत दुबैले नेपाल र पाकिस्तानमाथि जित निकालेका थिए। अब समूहको अन्तिम दुई खेलमा बाँकी एउटा खेल हो कुवेत भर्सेस भारत र नेपाल भर्सेस पाकिस्तान।
मंगलबार यी दुई टोली आमने सामने हुँदैछन। यी दुई टोलीबीच केही समानता छ। पहिलो भनेको टिम कम्बिनेसन्।
नेपालबाट अघिल्लो साफ खेल्न गएका २३ खेलाडीमध्ये १३ जना खेलाडी नेपाली टोलीबाट पलायन भइसकेका छन्। अर्थात् नेपालले नयाँ टिम लिएर उत्रिएको छ। त्यसमा पनि लिगले गर्दा तयारीका लागि प्रसस्त समय नमिल्दा नेपालले सोचेजस्तो नतिजा हात पार्न सकेन।
अर्कोतर्फ अघिल्लो (माल्दिभ्समा) भएको साफमा फिफाको प्रतिबन्धमा रहेको पाकिस्तानसँग नयाँ टोली छ। पाकिस्तानले विभिन्न देशमा खेलिरहेका खेलाडी भेला गरेर टोली बनाएको छ, तर, प्रतिबन्धबाट फर्किएयता एउटा पनि जित निकाल्न सकेको छैन। पाकिस्तान फिफाको प्रतिबन्धबाट निस्किएको एकवर्ष बढी भयो। यसबिचमा पाकिस्तानले मैत्रीपूर्ण खेल खेल्नुका साथै मेहेनत बढी गरेको क्षेत्र हो- खेलाडी कलेक्सन।
पछिल्लो पटक घोषणा गरिएको पाकिस्तानी टोलीमा सात जना ‘डायस्पोरा’का खेलाडी छन्। जसमा पोर्चुगलमा खेल्ने ईएसा सुलेमन, इङ्ग्ल्याण्डको राष्ट्रिय टोलीबाटै उमेर समूहमा खेलिसकेका ओटिस खानसमेत छन्।
एकातर्फ नेपालले भएका खेलाडी गुमाएर लय बिगारिरहेको छ भने अर्कातर्फ पाकिस्तानले बाहिरका खेलाडी ल्याएर पनि टोलीमा सन्तुलन ल्याउन सकेको छैन।
पाकिस्तान, श्रीलंका, माल्दिभ्सजस्ता देशहरुले विदेशमा रहेका आफ्नो देश मूल रहेका खेलाडी भित्र्याएर टोली बलियो बनाउने प्रयासमा छन्। बंगलादेशले पनि प्रिमियर लिग खेलिरहेका हम्जा चौधरीलाई भित्र्याउन पहल गरिरहेको छ।
नेपाली मूलका विदेशी खेलाडी ल्याउने सम्भावना
नेपाली मूलका विदेशी खेलाडीबारे बहस सुरु भएको अहिलेमात्र होइन। अघिल्लो साफ च्याम्पियनसिपमा नेपाली टोलीका तत्कालीन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली मूलका विदेशी खेलाडी ल्याएर टोलीलाई थप बलियो बनाउन सकिने बताएका थिए। महिला र पुरुष दुबैतर्फ नेपाली मूलका राम्रा खेलाडी रहेका छन्।
त्यतिबेलै पनि अलमुताइरीले आफूसँग विदेशमा रहेका त्यस्ता नेपाली खेलाडीसँग सम्पर्क रहेको जसलाई ल्याउन सके स्तर सुधार्न सम्भव हुने बताएका थिए।
उनले संकेत गरेका खेलाडी थिए, विकास मेराग्लिया। पछि लिगमा उनी नेपाल आए पनि सोचेअनुरुप सफल भने हुन सकेनन्।
विदेशी नागरिकता लिएर नेपाली खेलकुदमा आउन कति कठिन हुन्छ भन्ने पछिल्लो उदाहरण हुन् प्रशिक्षक प्रदीप हुमागाईं। नेपाली राष्ट्रिय टोलीको समेत प्रशिक्षण सम्हालिसकेका उनी लिगमा चर्च ब्वाइजको प्रशिक्षक रहेर ए डिभिजन लिगमा आएका थिए। तर, कागजी झमेलाले गर्दा उनले प्रशिक्षण दिइरहन भने सकेनन्।
'नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृती (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लब छोडेको जानकारी गराउन चाहान्छु,' हुमागाइँले फेसबुकमा लेखेका थिए, ' क्लब, खेलाडी र फुटवलसँग नेपाली खेल मैदानमा सँगै जोडिन नपाउँदा खल्लो अनुभूति भए पनि मेरो मन, मस्तिष्क र हृदयभरि नेपाली फुटबलको उज्जवल भविष्य र सफलता सधैं रहिरहेको र रहिरहने छ।'
उनी नेपाली मूलका अमेरिकी नागरिक हुन्।
'मैले एनआरएनको कार्ड लिएको। म खासमा कसैसँग सोधेको पनि छैन। ऐन हेरेको पनि छैन,' हुमागाईंले भने, 'त्यहाँ काम गर्दागर्दै गर्न पाइएन। चित्त दुख्यो। मलाई केही जानकारी छैन यसबारेमा।'
नागरिकता कानुन
नागरिकता ऐनले दक्षिण एसियाभन्दा बाहिर रहेका साविकमा वंशजको वा जन्मको आधारमा उसका बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।
यद्यपि कानुनका जानकारहरु भने यो प्रावधानको फरक फरक ब्याख्या गर्छन्।
बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे एनआरएनको नागरिकता लिएपछि राष्ट्रको प्रतिनिधित्व खेलाडीले गर्न मिल्ने तर्क गर्छन्।
'मिल्छ मज्जाले मिल्छ। साँस्कृतिक रुपमा गएर नाँच्न मिल्छ। देशलाई प्रतिनिधित्व गर्न मिल्छ। राष्ट्रिय टोलीबाट मज्जाले खेल्न मिल्छ', उनले भने।
तर, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेको मत भने फरक छ। राष्ट्रिय टोलीमा प्रतिनिधित्वबारे अझै निश्चित भइनसकेको न्यौपाने तर्क गर्छन्।
'एनआरएनको कानुन स्पष्ट आइसकेको छैन। दिने भन्ने चाहिँ आएको छ। राजनीतिक भोटिङ अधिकार बाहेक सबै कुरा दिने भनेको छ। तर स्पष्ट छैन,' उनले भने, 'तर, यसमा राष्ट्रिय संघले पनि उताबाट सहमति लिएर गर्नुपर्ने हुन्छ।'
यसमा नेपालबाट खेल्नेकी कि उताबाट भन्ने उसको छनोटको विषय हुने उनले बताए। तर, यो विषय त्यति सहज नहुने उनको तर्क छ।
'उताबाट छनोट भएन। अब यो देशबाट आएर खेल्छु भन्यो भने दिने कि नदिने? कतिपय देशले कोटाको हिसाबले पनि ओलम्पिकमा सहभागिता जनाइरहेको हुन्छ। त्यसको मतलब कमजोर मानिस पनि अर्को देशबाट आइरहेको हुन्छ', उनी भन्छन्।
त्यस्तै ट्राभल डकुमेन्टले पनि यसमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। एनआरएनलाई नेपाली नागरिक सरहको अधिकार देखाएपछि मात्र राष्ट्रिय टोलीबाट सहभागिता जनाउने कुरा आउने उनी बताउँछन्।
उनी भन्छन्, 'ऐनले त्यो सबै कुरालाई ब्यवस्थापन गरेको छैन। भोलि पासपोर्ट दिँदा कसको दिने? ट्राभल डकुमेन्ट दिन सक्नु पर्यो नि यहाँबाट।'
पासपोर्ट कहाँको प्रयोग हुन्छ भन्ने अन्यौल उत्पन्न हुने उनले बताए।
'यहाँबाट दियो भने यहाँबाट गएर क्लेम गर्न मिल्यो। तर, अर्को देशको पासपोर्ट लिएर गएर यहाँको खेलाडीभन्दा कसरी मान्ने?'
यसले नेपाली मूलका विदेशी खेलाडीलाई राष्ट्रिय टोलीबाट खेल्ने अवसर त दिएको छ। तर, भएका खेलाडी नै जोगाउन नसकिरहेको अवस्थामा नेपाली खेलकुद क्षेत्रलाई यसलाई सदुपयोग गर्ला? यो यक्ष प्रश्न बन्न सक्छ।