
पोखरा : पोखरा महानगरपालिकाले आगामी आव २०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ। भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा दुई अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो।
आइतवार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणमा ५४ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ। महानगरको प्रशासकीय भवन निर्माण यसै वर्ष थालिने बजेटमा उल्लेख छ।
शहरी क्षेत्रमा ‘आस्फाल्ट’ प्रविधिको सडक निर्माणका लागि १० करोड रुपैयाँ बजेट छुट्टाइएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्। आगामी आवमा ठूल्ढुङ्गा-सुर्ताने-चैनपुर, घाँटीछिना-दमदमे-सिदाने-पञ्चासे, कास्कीकोट-बनपाले-गुण्टेचौर-पँदेली कृषि सडक, लामाचौर-माछापुछ्रे, लामगादी-पुँडीटार सडकलगायत बहुवर्षीय योजना सम्पन्न गरिने जनाइएको छ।
शहरी सौन्दर्य बिगार्ने सवारी साधनका वर्कसपलाई एकै स्थानमा व्यवस्थित गर्न ‘अटो भिलेज’को स्थापनार्थ ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। पोखरा चक्रपथको सम्भाव्यता अध्ययन अघि बढाउन एक करोड ५० रुपैयाँ बजेट छुट्टाइएको छ। स्थानीय फिर्के खोलाको अतिक्रमण हटाई करिडोर निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
वडा कार्यालयबाट प्राथमिकतापूर्वक छनोट भई पेश भएका सडक योजनाका लागि ४९ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन्। हाँडीखोला, खइतेखोला, खहरेखोला, खुदीखोला, ठूलीमजुवा, फिर्के खोला, सुरौदी खेलालगायत पुल र कल्भर्ट निर्माणमा १६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
‘एक घर, एक धारा’ खानेपानी आयोजनाअन्तर्गत सराङकोट, थाक, निर्मलपोखरी, भरतपोखरी, चैनपुरलगायत क्षेत्रमा खानेपानी आयोजनाका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ। ‘हामी बनाउँछौँ, हाम्रो महानगर’ अन्तर्गत स्थानीय उपभोक्ता र महानगरपालिकाको ५०/५० प्रतिशत साझेदारीमा पूर्वाधार आयोजना सञ्चालनका लागि पाँच करोड रुपैयाँ छुट्टाइएको छ। छिमेकी स्थानीय तहसँग आवश्यकताका आधारमा साझदोरी आयोजना सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
फेवा, बेगनासलगायत पोखराका सबै तालको संरक्षण तथा अतिक्रमण नियन्त्रण गरिने बजेटमा उल्लेख छ। फेवातालको सुन्दरतासँगै पर्यटकीय गतिविधि बढाउन ‘फेवाफेरो पदमार्ग’ निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पोखरा बहुउद्देश्यीय भवन, नयाँ विमास्थलबाट लेकसाइड जोड्ने फास्ट ट्रयाक, फेवा-बेगनास कनेक्टिभिटी सडक, पोखरा बसपार्क, बिन्ध्यवासिनी बसपार्क, कोमागाने पार्क, बेगनास बराहक्षेत्र परियोजना, पञ्चासे विकास परियोजना, ड्यामसाइड पर्यटन पार्कलगायत महानगर गौरवका आयोजनाहरुलाई बजेटमा प्राथमिकता दिइएको छ।
विकास आयोजनामा हुने लगानीलाई दिगो बनाउन आगामी वर्ष पोखरा महानगरपालिकाको विकास गुरुयोजना तयार पारिने बजेटमा उल्लेख छ। हरित, उत्थानशील र दिगो पूर्वाधार विकाससँगै बजेटमा पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेश, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन, गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता र व्यवसायिक कृषि प्रणालीमा जोड दिइएको छ।
गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मानवस्रोत विकास तथा गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवाको विकास र व्यवस्थापन बजेटको प्राथमिकतामा परेका छन्। आर्थिक विकासतर्फ व्यावसायिक कृषि, कृषिको यान्त्रिकीकरण, सिँचाइ सुविधाको विस्तार, रुग्ण उद्यम, व्यवसायको पुनःउत्थानलगायतका कार्यक्रम बजेटमा समावेश छन्।
‘एक सहकारी, एक उत्पादन कार्यक्रम’लाई निरन्तरता दिन ५५ लाख रुपैयाँ, व्यवसाय प्रवर्द्धन तथा विकास, रोजगार मेला, युवा उद्यमशीलता विकास कार्यक्रम आदिका लागि दुई करोड रुपैयाँ, छाडा पशुपन्छी व्यवस्थापन, पशुपन्छीको उपचार, पशु स्वास्थ्य शिविरलगायतमा गरी दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षातर्फ विद्यार्थीलाई दिवा खाजाको रकम वृद्धिदेखि छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणसम्मका कार्यक्रम बजेटमा समावेश छ। सङ्घ सरकारले तल्लो तहका विद्यार्थीलाई खाजाबापत दैनिक दिँदै आएको १५ रुपैयाँमा महानगरले १० रुपैयाँ थपी २५ रुपैयाँ पुर्याइने भएको छ। विद्यार्थीको दिवा खाजा र प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रमका लागि चार करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकास र शैक्षिक कार्यक्रम सञ्चालनका लागि तीन करोड ३३ लाख रुपैयाँ बजेट छुट्टाइएको छ। खेलकुद पूर्वाधार र प्रवर्द्धनमा एक करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। कक्षा ६ देखि १२ सम्मका छात्रका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन एक करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ। महानगरमा स्रोत शिक्षा, खेलकुद, युवा र प्राज्ञ प्रतिष्ठानसम्बन्धी कार्यक्रमका लागि १८ करोड रुपैयाँ बजेट छुट्टाइएको छ।
महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्वास्थ्यतर्फ ३५ करोड ५६ लाख रुपैयाँ बजेट छुट्टाइएको छ। शहरी गरिबी निवाकरण कार्यक्रमका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
महानगरले पूर्वाधारतर्फ दुई अर्ब रुपैयाँ, पर्यटन शहरी विकास तथा वातावरणतर्फ ७० करोड रुपैयाँ, आर्थिक विकासतर्फ १० करोड रुपैयाँ, सामाजिक विकासमा छ करोड ५० लाख रुपैयाँ, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख रुपैयाँ, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा १४ करोड, संघीय सशर्त अनुदानतर्फ दुई अर्ब २३ करोड ६२ लाख, प्रदेश सशर्त अनुदानतर्फ ८० लाख र शहरी विकास आयोजनामा आठ करोड ४० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ।
स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट दुई अर्ब ७६ करोड ३२ लाख रुपैयाँ, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार रुपैयाँ, आन्तरिक आयबाट दुई अर्ब २७ करोड ८७ लाख रुपैयाँ खर्च व्यहोरिने उपप्रमुख गुरूङले जानकारी दिइन्। सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट आठ करोड २५ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब एक करोड ७५ लाख रुपैयाँ स्रोत व्यवस्थापन गरिने भएको छ।
यस्तै, सङ्घीय सरकार शहरी विकास आयोजनाबाट आठ करोड ४० लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार रुपैयाँ चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट व्यहोरिने जनाइएको छ।
आन्तरिक राजस्व सङ्कलन न्यून हुनु, अर्थतन्त्रमा देखिएको सङ्कट इत्यादि कारणले चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घटेको हो। चालु आवमा आठ अर्ब ९९ करोड दुई लाख २९ हजार रुपैयाँको बजेट ल्याइएको थियो। बजेटमा उचित नदेखिएका कतिपय पुराना कार्यक्रमलाई हटाइएको र केही नयाँ कार्यक्रम थप गरिएको छ। रासस