PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वान एक्स बेटमा प्रहरीको एक्सन : करौडौंका कारोबारी खोज्दा 'लाखौं'का कलाकार र युट्युबर फन्दामा !



पहिलोपोस्ट

वान एक्स बेटमा प्रहरीको एक्सन : करौडौंका कारोबारी खोज्दा 'लाखौं'का कलाकार र युट्युबर फन्दामा !

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सट्टेबाजी वान एक्स बेटमाथि थालेको अनुसन्धान अझै रोकिने अवस्थामा छैन। दर्जनभन्दा बढी अभियुक्त पक्राउ गरिसकेको छन् यससँग जोडिएका। यसमा नेपालको योजनाकारको खोजीमा प्रहरी रहेको छ।

अहिलेसम्म प्रहरीले १४ जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। लामो समयदेखि बिट क्‍वाइन र सट्टेबाजीका खेलाडीमात्र होइन, यस पटक प्रहरीको अनुसन्धानको घेरामा कलाकारदेखि युट्युबरसम्म परेका छन्। दर्जन भन्दा धेरै कलाकार र युट्युबरहरु समातिएका छन्। नाम चलेका कलाकारदेखि युट्युबरको लिस्ट प्रहरीसँग रहेको छ। ।

आइतवारमात्र प्रहरीले २२ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको तेमाल घर भएका तामाङलाई प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो। उनीमाथि आफ्नो युट्युब च्यानलमा वान एक्स बेटको विज्ञापनमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिएर प्रचारप्रसार गरेको आरोप लागेको छ।

तामाङले केही वर्षदेखि मोटरसाइकलमा देशका विभिन्न भागमा पुगेर भ्लग बनाउँदै आएका थिए। यसरी ट्राभल गर्दा सडकका ट्राफिक प्रहरीसँगको सम्वाददेखि केही रियालिष्टिक कुरालाई आफ्नो भ्लगमा देखाउने भएकाले छोटो समयमा नै इन्फ्लुएन्सर बनिसकेका थिए। उनको राजकुमार थापा मगर नामको युट्युब च्यानलमा ८ लाख ६८ हजारले सस्क्राइब गरेका छन्। ७ सय भन्दा बढी भिडियो पोस्ट गरेका छन् उनले। जसमा अधिकास बाइकमा विभिन्न ठाउँमा ट्राभल गरेको भ्लग नै रहेको छ।

दुई साताअघि मात्र उनले भारतको दार्जिलिङ र सिक्किमसम्मको भ्लग पोस्ट गरेका छन्। उक्त भिडियो डेढ लाख पटक भिडियो हेरिसकिएको छ। उनले बनाएको भ्लगले युट्युबमा भ्युज पाउन थालेपछि विज्ञापन समेत प्रयोग गर्न थालेका थिए। त्यसैक्रममा उनले वान एक्स बेटबाट रकम लिएर विज्ञापन गरेको प्रहरीको दावी  छ।

नेपालमा गैर कानुनी मानिएको उक्त कारोबारका लागि एक  लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म कलाकारहरूले लिएको प्रहरीको दाबी रहेको छ।

'राम्रो रकम लिएर विज्ञापन गरेको देखियो। त्यसैले अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ। अरु पनि खोजी भइरहेको छ,' काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने।

जेठ ३२ गते प्रहरीले अरु कलाकार तथा युट्युबरलाई समेत नियन्त्रणमा लिएको थियो। त्यस्तै मरीचमान श्रेष्ठ, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), अफिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) रहेका थिए। हुनीहरूमा पौडेल, श्रेष्ठ, खतिवडा, नेपाली भने चलेका कलाकार हुन्। उनीहरुको कार्यक्रम टेलिभिजनदेखि युट्युबमा समेत प्रसारण हुने गरेको छ।

त्यस्तै एलिस राई र  जलन घर्तीमगर भने युट्युब कन्टेन्ट बनाएर चर्चामा आएका हुन्। एलिस प्राङ्क भिडियो बनाउँछन्। उनले बनाएको भिडियो युट्युबमा पोस्ट गरेको केही घण्टामा नै ट्रेन्डिङमा पर्ने गर्छ। उनीहरूले पनि यस्ता युट्युब भिडियोमा वान एक्स वेटको प्रचारप्रसार गरेको प्रहरीको दावी छ। यसरी पोस्ट भएका विज्ञापन मार्फत ५० लाखसम्म कमाई गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अहिले यस प्रकरणमा काठमाडौं जिल्ला प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको छ। उनीहरूको बयान गर्ने काम भइरहेको छ।

वान एक्स बेट प्रकरणको सुरुवात भने मुख्य कारोबारी दिनेश खड्का पक्राउ परेपछि सुरु भएको थियो। सट्टेबाजी गरेको अभियोगमा सुरमा प्रहरीले ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरूले ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको थियो। मुख्य अभियुक्त भनिएका दिनेश खड्काले मात्र ६४ करोड रुपैयाँको कारोबार गरेको खुलेको थियो। उनले रामविलास थारु, तेजबहादुर कठायत, नवीन चौधरी, अनिता धितालको कागजपत्र प्रयोग गरेर ६३ वटा बैंकमा खाता खोलेको फेला परेको छ। १२ वटा बैंकबाट ६४ करोडको कारोबार भएको प्रहरीले भेटेको हो।

यही प्रकरणमा दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने पनि समातिएका छन्। दीपेशले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ, दिनेश चन्दले प्रभु बैंकबाट ४५ लाख र आशिष लामिछानेले विभिन्न बैंकको खाताबाट २ करोड ९८ लाख ९६ रुपैयाँ भन्दा बढीको कारोबार गरेको खुलेको छ। उनीहरूसँग ७४ करोड १३ लाख ५० हजार रुपैयाँको कारोबार भएको देखिएको छ।

उनीहरू सँगै खोलिएको अनुसन्धानको पाटो केलाउँदा कलाकार देखि युट्युबरसम्म पुगेको हो। युट्युबर र कलाकारलाई पक्राउ गरेपछि केहीले आफ्नो भिडियोबाट वान एक्स वेटको विज्ञापन समेत हटाइसकेका छन्।

'केही कलाकार र युट्युबरले यस्तो भिडियो हटाएको भन्ने जानकारी आएको छ। तर, पनि हामी उनीहरू माथि पनि अनुसन्धान भने गरिरहेका छौँ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ मा सट्टाबाजी गर्न गराउन नहुने भनेर परिभाषित गरिएको छ। केही कलाकारले आफूले कानुन थाहा नभएर विज्ञापन गरेको समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell