काठमाडौं : जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौंमा जारी छ। अधिवेशनको दोस्रो दिन सोमवार सहभागीबिच समूह निर्माण गरेर छलफल जारी रहेको छ।
पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रस्तुत गरेको विधानमाथि समूहगत छलफल भइरहेको छ। उनले विभिन्न १० वटा समूह बनाएर सोमवार दिनभर छलफल हुने बताए।
उक्त समूहगत छलफलमा केन्द्रीय समितिका चार सय छ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत १० जनासहित सात सय ४६ जना प्रतिनिधि सहभागी रहेका सो पार्टीले जनाएको छ।
सोमवारको यो विधान मस्यौदामाथिको छलफल सकिएपछि विधानका विषयमा नेताहरुले धारणा राख्नेगरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए। विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउनेजस्ता नयाँ व्यवस्था राखेको छ। सो अधिवेशनको सोमवार र मंगलवार बन्दसत्र जारी रहने छ। रासस