PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अपार्टमेन्टको बास, 'लिभ इन रिलेसन'को विलासी जीवन, चोरीको कारोबार, बेच्‍ने ठाउँ 'हाम्रो बजार'!



पहिलोपोस्ट

अपार्टमेन्टको बास, 'लिभ इन रिलेसन'को विलासी जीवन, चोरीको कारोबार, बेच्‍ने ठाउँ 'हाम्रो बजार'!

काठमाडौं : एक जोडी केही दिनदेखि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छ। ३९ वर्षीय सुवोध श्रेष्ठ र १९ वर्षीया रोशनी महर्जनलाई प्रहरीले समातेपछि केही रोचक तथ्यहरु खुल्यो। जोडीको गेटअप हेर्दा चिरिचट्ट। लवाइखवाई पनि हाइप्रोफाइल। तर, उनीहरू माथि आरोप भने चोरीको।

'एकदम राम्रो लाइफस्टाइलमा बसेको देखियो। तर धन्दा भने चोरीको हो,' जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले भने।

समातिएका दुवैजना काठमाडौँका रैथाने हुन्। डेढ वर्षदेखि उनीहरू लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ। उनीहरू सोल्टी सिटी अपार्टमेन्टको आठौं तलामा बस्दै आएका थिए। महिनाको ६० हजार रुपैयाँभन्दा बढी भाडा बुझाउँथे। त्यही भाडा बुझाउनका लागि पैसा भने चोरीको सामान बेच्ने गरेको प्रहरीको दावी छ।

'खाना समेत होटेलबाट मगाएर एकदम बिलासी जीवन बिताउँदै आएको देखियो,' एसपी कार्कीले भने।

प्रहरीले उनीहरूको कोठामा खानतलासी गर्दा चोरीका सामान जफत गरेको छ। उनीहरूले ल्यापटप नै टार्गेट बनाएर चोरी गर्ने गरेको खुलेको छ। उनीहरू विरुद्ध प्रहरीले जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्‍ने म्याद लिएर अनुसन्धान गरिरहेको छ।

पसल नचलेपछि चोरीको बाटो !

पक्राउ परेका सुवोध प्राविधिक पक्षमा दक्ष देखिएका छन्। ल्यापटप मर्मतदेखि अरु आवश्यक प्राविधिक ज्ञान छ उनमा। त्यसैले उनले केही समय अगाडि काठमाडौंमा ल्यापटप पसल समेत सञ्चालन गरेका थिए। तर उनको व्यापार त्यति चलेन। केही समयमा नै घाटा खेपेर उनले पसल बन्द गरे। त्यसपछि उनको चोरी धन्दा सुरु भएको प्रहरी दाबी छ।

'पहिले पसल गरेको देखिन्छ। तर, राम्रोसँग नचलेपछि चोरी धन्दा गरेको देखिन्छ,' एसपी कार्कीले भने।

त्यसो त सुवोधका अघिल्ला वर्ष पनि सुखद थिएन। उनी चोरी केसमा नै  जेल सजाय भुक्तान गरेर निस्किएका थिए। २०७०/७१ मा उनले ९ महिना जेल सजाय भुक्तान गरेर निस्किएका हुन्। त्यसपछि पनि पसल र चोरी धन्दा दुवै चलेको देखिन्छ उनको।

जेठ २८ गते राति ललितपुर महानगरपालिका वडा नम्बर ५ मानभवनमा ओमप्रकाश प्रधानको कार्यालयमा चोरी भयो। ग्लोबल लिङ्क टेक्नोलोजी प्रालिको झ्यालको ग्रील काटेर भित्र छिरी चोरी भएको थियो।

कार्यालयको भित्र रहेको १ लाख ८ हजार रुपैयाँ र अर्को कोठामा रहेको ३७ हजार रुपैयाँ पनि चोरी भयो। त्यति मात्र होइन कार्यालयमा रहेका ल्यापटप समेत चोरिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू समक्ष पुगेको थियो। यही जोडीले नै चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

'केटाले चोरी गर्ने र केटीले सहयोग गर्ने गरेको देखिन्छ,' एसपी कार्कीले भने।

चोरी गर्नुभन्दा पहिले सुवोधले ल्यापटप पसलमा पुगेर जानकारी लिने गर्थे। त्यसपछि त्यहाँ चोरी गर्ने सम्भावनाको अध्ययन गरेर रातिको समयमा मौका छोपेर चोरी गर्ने गरेको देखिएको हो। यसरी चोरी गरेको सामान दुवै जनाले बोकेर लगेको सीसीटीभी क्यामरा फुटेज समेत प्रहरीले बरामद गरेको छ।

उनीहरूले चोरी गरेको सामान  'हाम्रो बजार'मा बिक्री गर्न राखेको देखिएको छ। बिक्री गरेर आएको पैसा खान र बस्नमै खर्च गरेको देखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell