
काठमाडौं : प्रस्तावित प्रधान न्यायधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गरेका न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्।
आज उनले प्रधान न्यायाधीश हरिकृष्ण कार्कीलाई राजीनामा बुझाएका हुन्। उनले राजीनामा बुझाउँदा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारको समेत उपस्थित थियो।
प्रस्तावित प्रधान न्यायाधीश कार्की विरुद्ध उजुरी गरेपछि उजुरीमाथि संसदीय सुनुवाइ समितिको बैठकमा छलफल भएको थियो। कार्कीविरुद्ध २९ वटा उजुरी परेको थियो। कार्कीविरुद्ध बहालवाला न्यायधीश भट्टराईले नै उजुरी दिएका थिए। जुन आफैँमा नयाँ थियो।
उनले कार्कीको कार्यक्षमता, राजनीतिक झुकाव र नेतृत्व क्षमतामा प्रश्न उठाउँदै उजुरी दिएका थिए।
राजीनामा बुझाउँदा पनि उनले प्रधान न्यायाधीशको कार्यकुशलता, नेतृत्व क्षमता, राजनीतिक लगाव लगायतका विषयमा प्रश्न उठाएका छन्। उनले प्रधान न्यायाधीश नियुक्तिमा राजनीति हाबी हुँदा न्यायाधीशको व्यक्तित्व नै बर्वाद भएको बताए।
लिखित बुझाएको राजीनामामा पनि उनले प्रधान न्यायाधीश माथि प्रश्न उठाएका छन्। प्रधान न्यायाधीश कार्कीले आफूलाई असक्षम भनेर बुझाएको राजीनामा पत्र कसरी बुझ्नु भन्दै प्रश्न गरेका थिए। त्यसपछि छुटै कागज मगाएर उनलाई अर्को राजीनामा पत्र लेख्न लगाइएयो।
वैसाख २५ को संवैधानिक परिषदको बैठकले कायम मुकायम प्रधान न्यायाधीश कार्कीलाई प्रधान न्यायाधीशका लागि सिफारिस गरेको थियो। आफुले उजुरी गरेको व्यक्तिको मातहतमा काम गर्न नैतिकताले नदिएको भन्दै आज उनले राजीनामा बुझाएका हुन्।
संसदीय सुनुवाई समितिले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधान न्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो। अनुमोदन गरिएको विषयमा समेत निष्पक्ष नभएको न्यायधीश भट्टराईले राजीनामा पत्रमा उल्लेख गरेका छन्। प्रधान न्यायाधीश नियुक्तिले जिल्ला र उच्च अदालको वृत्ति विकासमा समेत वाधा पुगेको उल्लेख गरेका छन्। त्यही सन्दर्भमा प्रधान न्यायाधीश कार्कीले 'मेरो नियुक्तिले रोकिएको हो?' भन्दै प्रश्न गरेका थिए।
त्यसको जवाफमा न्यायधीश भट्टराईले 'तपाईँ जस्तै प्रवृत्तिका व्यक्तिका कारण' भन्दै प्रणालीलाई दोष दिएका थिए।