
ओम राउतको बहुप्रतीक्षित फिल्म आदिपुरुष अघिल्लो साता रिलिज भयो। फिल्मले सप्ताहन्तमा ऐतिहासिक धमाका गर्यो बक्स अफिसमा। तर, लगत्तै यसको ओरालो यात्रा यसरी सुरु भयो कि फिल्म फ्लप। फिल्मले घाटा बेहोरेको सबैले देखे नै। तर, फिल्मलाई थप घाटा हुनुबाट प्रभासले बचाएको खबर बाहिरिएको छ।
पौराणिक कथामा आधारित थ्री डी फिल्म जुन १६ मा बहुभाषामा रिलिज भएको थियो। तर, यसले क्रिटिक तथा दर्शकको साथ पाएन। सबैले फिल्मको आलोचना गरे। रामायणको यथार्थ कथाबाट बहकिएकोमा यसका निर्माता र निर्देशक तथा लेखकले नमीठो गरी आलोचना सहन पर्यो।
तेलगु ३६० को रिपोर्टअनुसार निर्देशक ओम राउतले फिल्मलाई दुई भागमा विभाजन गर्न चाहेका थिए। प्रिक्वेल बनाउने प्रचलनमा जोड्दै दुई भागमा फिल्म सक्ने ओमको योजनालाई प्रभासले स्वीकार गरेनन्। ओम राउतको योजनाअनुसार हुने थियो भने फिल्मका लागि अर्को एक महिना सुटिङ लम्ब्याउनुपर्थ्यो।
आदिपुरुसका क्रु र निर्देशकलाई प्रभासले दुई भागमा लैजाने रणनीति गलत हुनसक्नेमा विस्वस्त तुल्याए। यो फिल्म ५ सयदेखि ६ सय करोडमा निर्माण भएको हो। दुई भागमा लैजाँदा फिल्मको बजेट १ हजार करोडको हाराहारीमा पुग्ने थियो। अनि जसरी पहिलो भाग नै फ्लप भयो, त्यसले दोस्रो भागलाई झन उत्रिनै नसकिने हालतमा पुर्याउन सक्थ्यो।
बहु प्रतिक्षित मानिएको फिल्मले बक्स अफिस कारोबारमा नउठ्नेगरी डुबे पनि फिल्म रिलिजपूर्वका रिपोर्टलाई मान्ने हो भने लगानीकर्ताका लागि थोरै भए पनि राहतको अवस्था छ। आदिपुरुषको डिजिटल राइट अमेजन प्राइमले २ सय ५० करोडमा किनेको तथा तेलगु भर्सन पनि १ सय ८५ करोडमा बिक्री भएको खबर सार्वजनिक भएका थिए। त्यस आधारमा फिल्मले ४ सय ३५ करोड उठाइहाल्यो।
ओम राउतको लेखन र निर्देशनमा बनेको फिल्ममा राघवको भूमिकामा प्रभास छन् भने सैफ अली खान लंकेशको भूमिकामा। फिल्ममा कीर्ति सेनन जानकीको भूमिकामा छिन्।