PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

७५ लाखको लागतमा हुँदै प्रधानमन्त्री कप क्लब लिग, विजेतालाई काभा क्लब च्याम्पियनसीप खेल्ने अवसर



पहिलोपोस्ट

७५ लाखको लागतमा हुँदै प्रधानमन्त्री कप क्लब लिग, विजेतालाई काभा क्लब च्याम्पियनसीप खेल्ने अवसर

काठमाडौं : नेपाल भलिबल संघले असार २३ गतेबाट ३० गतेसम्म एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल आयोजना गर्ने भएको छ। करिब ७५ लाख रुपैयाँ अनुमानित लागतमा आयोजना हुन लागेको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले ४० लाख रुपैयाँ छुट्याएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए।

पुरुषतर्फ ८ टोली, महिलातर्फ ६ टोली

लिगमा पुरुषतर्फ ८ क्लब र महिलातर्फ ६ टोलीले सहभागिता जनाउँदैछन्। पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, दावाँली मिलन क्लब काठमाडौँ, केशवलाल स्मृति प्रतिस्ठान, गण्डकी प्रदेश भलिबल संघ र शैलुङ बाघढुङ्गा स्पोर्ट्स क्लब रामेछाप रहेका छन्।

नेपाल भलिबल संघले प्रत्येक टोलीमा ३ जना विदेशी खेलाडी खेलाउन मिल्ने व्यवस्था गरेको जनाएको छ।

महिलातर्फ नेपाल प्रहरी, न्यु डाइमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघ गरि ६ टोली सहभागी हुनेछन्।

क्रिकेटको उदाहरण दिँदै चन्दको तर्क: जित भन्दा सिकाइ ठूलो कुरा

भलिबल संघका अध्यक्ष चन्दले जितभन्दा ठूलो कुरा अनुभव भएको भन्दै राष्ट्रिय पुरुष भलिबल टोलीको बचाउ गरे। नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हाल किर्गिस्तानको बिस्केकमा छ। काभा नेशन्स लिग खेल्न बिस्केक पुगेको नेपाली टोलीले खेलेका सबै ६ खेलमा पराजय व्यहोर्दै मंगलवार नेपाल फर्किँदैछ।

अध्यक्ष चन्दले ठूलो लगानी भएका खेल, फुटबलको टोलीले साफमा र क्रिकेट टोलीले जिम्बावेमा सफलता हात पार्न नसकेको उदाहरण दिँदै भलिबल टोली पनि सिकाइका क्रममा रहेकाले नतिजा हात पर्न नसकेको बताए।

'सबै कुरालाई नतिजासँग जोड्नु हुँदैन। क्रिकेटमा ठूलो लगानी छ, तर विश्वकपमा छनोट हुन सकेन। हामीले पनि एसियाली स्तरको प्रतियोगितामा सहभागी भएर हाम्रो स्तर मापन गरेका छौं,' उनले भने, 'जित हार हुन्छ। तर, हाम्रो टोलीले 'नेक टू नेक' खेलिरहेको छ।'

महिला पुरुष दुबै टोलीलाई विदेशी प्रशिक्षक

अध्यक्ष चन्दले नेपाली महिला र पुरुष दुबै टोलीलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने बताए। प्रधानमन्त्री कप चलिरहँदा महिला टोलीका प्रशिक्षक आइ पुग्ने बताउँदै एसियन गेम्समा राम्रो प्रदर्शनको लक्ष्य लिएर तयारी गर्ने उनले बताए। त्यस्तै, पुरुष टोलीको पनि केही समय तयारी पछिका लागि मैत्रीपूर्ण खेलको पहल सुरु गरिसकेको बताए।

च्याम्पियन बने काभा क्लब च्याम्पियनसीपमा सहभागिता

भलिबल संघका अध्यक्ष चन्दले प्रधानमन्त्री कप एनभीए राष्ट्रिय पुरुष क्लब लिगको च्याम्पियन टोलीको विजेताले काभा क्लब च्याम्पियनसीप खेल्ने बताए।

'यो प्रतियोगिता जित्ने पुरुष टोलीले डिसेम्बरमा हुने काभा क्लब च्याम्पियनसीपमा सहभागिता जनाउन पाउनेछ। आयोजकको हिसाबले दुई टोली सहभागी गराउने पहल हामी गरिरहेका छौं,' उनले भने।

चन्दका अनुसार प्रतियोगितामा १४ देशका १४ क्लब र नेपालबाट दुई टोली सहभागी गराउन सके १५ टोलीको सहभागिता रहनेछ। नेपालमा वातानुकुलित कभर्डहल नभएकाले उपयुक्त मौसम हेरेर डिसेम्बर महिनामा सो प्रतियोगिता पनि नेपालमै आयोजना गर्ने तयारी गरेको बताए।

प्रधानमन्त्री कपको प्रथम पुरस्कार ६ लाख

प्रधानमन्त्री कपको महिला र पुरुष दुबै तर्फको विजेता टोलीले पुरस्कार ६ लाख रुपैयाँ पाउने भलिबल संघले जनाएको छ। त्यस्तै दोस्रो हुने टोलीले ३ लाख, तेस्रो हुने टोलीले डेड लाख र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, महिला र पुरुषतर्फ उत्कृष्ट खेलाडीले ३५ हजार रुपैयाँ तथा दुबैतर्फका उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिबेरो र प्रशिक्षकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी पुरस्कारमा २५ लाख रुपैयाँ खर्च हुनेछ।

प्रतियोगितामा अनुमानित लागत ७५ लाख रहेकोमा राष्ट्रिय खेलकुद परिषदले ४० लाख दिने तथा अन्य रकम टिकट र प्रायोजकहरुबाट उठाउने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell