PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वाग्‍नरको विद्रोहले के साँच्चै कमजोर देखिएका हुन् पुटिन? सबैतिरको त्रास : अझै बर्बर त बन्ने होइनन्?



सहयोग रञ्जित

वाग्‍नरको विद्रोहले के साँच्चै कमजोर देखिएका हुन् पुटिन? सबैतिरको त्रास : अझै बर्बर त बन्ने होइनन्?
Photo : The Telegraph

रसिया र युक्रेनबिच युद्ध भएको ४८८ दिन बितिसक्यो। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सुरु भएको युद्ध रोकिने संकेत छैन। खर्बौं रुपैयाँ लगानी भइसकेको युद्धको परिणाम के होला? अहिले नै भन्न सकिँदैन। तर, यसले दोस्रो विश्वयुद्ध पछि युरोपले नदेखेको आर्थिक, राजनीतिक र सामाजिक संकट ल्याउने निश्चित छ। किनकि त्यसको असर देखिन सुरु भइसक्यो।

लाखौं युक्रेनी पलायन हुन बाध्य हुँदा त्यहाँ रहेका जनता गरिबीसँग जुध्दै आधारभूत सुविधाको आशामा छन्। मृतक, घाइते र भौतिक क्षतिको कुनै 'रेकर्ड' नै छैन।

युक्रेन युद्धपछि रसियाका राष्ट्रपति भ्लादमिर पुटिन पनि गृहयुद्धको त्रासमा छन्। नागरिकहरु नै युद्धको पक्ष विपक्षमा विभाजित हुँदा पुटिनलाई जित अपरिहार्य आवश्यक छ - सत्तामा टिक्न र विश्वमा रसियालाई जीवित राख्‍न। पुटिनले भनिसकेका छन्, 'पश्चिमा देशको निशानामा रसिया छ। उनीहरु रसियालाई टुक्राउन चाहन्छन्।' त्यसैले पुटिन कुनै पनि हालतमा रसियालाई राष्ट्र बनाइराख्‍न उद्दत देखिन्छन्।

असार ९ गते शनिवार पुटिनले देखेको खतरा मस्को नजिकै आइपुगेको थियो। क्रेमलिनका लागि अनपेक्षित थियो घटना। पुटिनका आफ्नै सहयोगी येभ्गेनी प्रिगोजिन एकाएक विद्रोही बनेर निस्किए। निजी सेनाको संस्था 'वाग्‍नर' को नेतृत्व गरेर रसियालाई साथ दिइरहेका प्रिगोजिन उल्टै २५ हजार सेनालाई लिएर मस्को कब्जा गर्ने उद्देश्यका साथ अगाडि बढे। प्रिगोजिनले पुटिनको शासन ढाल्न जुनसुकै हदसम्म जाने बताएका थिए। शनिवार वाग्‍नर समूहले रसियाको रोस्तोभ अन डनका प्रमुख क्षेत्र कब्जा गरेको थियो। र, सो क्षेत्रमा पुटिनको शासन नरहने घोषणा गरेको थियो। वाग्‍नर समूहको यो घोषणापछि उक्त समूहका लडाकूलाई सो क्षेत्रका बासिन्दाले धन्यवाद व्यक्त गरेका थिए। प्रिगोजिन नेतृत्वको सेनाले युक्रेन युद्धमा रसियाको तर्फबाट १६ महिनादेखि लडिरहेको छ। उनै पुटिनका विश्वासिला 'सेफ' ले नेतृत्व गरेको सेना विद्रोही बनेर आएपछि अन्तर्राष्ट्रिय समाचार माध्यम र सामाजिक संजाल हेर्दा लाग्थ्यो – पुटिनको शासन साँच्चै ढल्दैछ।

रसियाका राष्ट्रपति पुटिन यसबिच देखापरे टेलिभिजनमा। उनले सम्बोधन गर्दै रसियाली समाजलाई विभाजित गर्ने विरुद्ध जस्तो सुकै कदम चाल्न तयार रहेको चेतावनी दिए। रसियाली सेनाले देशव्यापी रुपमा वाग्‍नर समूहसँग संलग्न व्यक्तिलाई धरपकड गरेको खबर पनि बाहिरियो। पुटिनले रसियाको सार्वभौमसत्ता खल्बल्याउने कुनै तत्वलाई नछाड्ने घोषणा गरेका छन्। रसियाका छिमेकी र केही सहयोगी देश आन्तरिक रणनीति बनाउनसमेत जुटे। आवश्यक परे केही देशले रसियामा सेना नै पठाएर पुटिनलाई सहयोग गर्ने खबर बाहिरियो।

तर, रसियामा सत्ता कब्जाको 'ड्रामा' २४ घण्टा पनि टिकेन। रसियाका राष्ट्रपति भलाद्‍मीर पुटिनलाई सत्ताच्युत गर्ने चेतावनी दिएका प्रिगोजिन मस्को कब्जा गर्ने घोषणबाट पछि हटे।

मस्कोलाई वाग्‍नरले नियन्त्रण गर्नसक्ने खबरबिच बेलारुसले प्रिगोजिनसँग छलफल गरि उनको मस्को कब्जा गर्ने घोषणालाई रोक्यो। सहमति अनुसार वाग्‍नर लडाकु मस्को प्रवेश गर्ने बाटोबाट फर्किए। प्रिगोजिनमाथि गर्ने भनिएको कारवाही रसियाले रोक्ने पनि सहमति भयो। प्रिगोजिन बेलारुसमा निर्वासनमा हिँडे। करिब २४ घण्टाको उतावचढाव सकियो। तर, अहिले प्रश्न उठेको छ पुटिन माथि नै।

के पुटिन कमजोर भएका हुन्?

पुटिनलाई बचाउन बेलारुसका राष्ट्रपति एलेक्सेन्डर लुकास्हेन नै अघि सर्नु परेको र यो विषय पुटिनका लागि निकै लज्जास्पद भएको तर्क धेरैले गरे वाग्‍नरसँगको सहमतिपछि। ‘युरोपका अन्तिम तानाशाह’ को रुपमा चिनिने लुकास्हेन रसियाकै समर्थनमा सत्तामा छन्। उनी पुटिनका विश्वासपात्र हुन्। त्यसैले पनि पुटिनको शक्तिमाथि शंका गर्नेहरु बढे।

यता, वाग्‍नर सेनाको विद्रोहले पुटिनको शासन निकै कमजोर धरातलमा टिकेको विश्लेषण अमेरिकाले गरेको छ। वाग्‍नर सेनाले सहमति पालना गरेर फर्किए पनि आउने केही दिन, हप्ता वा महिनामा रसियामा फेरि पुटिनलाई सत्ताच्युट गर्ने प्रयास हुने अमेरिकाको दाबी छ।

अमेरिकाका विदेश मन्त्री एन्टोनी बिलन्केनले शनिवारको सो विद्रोहले पुटिन कमजोर भएको पुष्टि गरेको बताएका छन्। यसले रसियाली सेनाविरुद्ध युक्रेनको 'काउन्टर अफेन्सिभ' रणनीतिलाई सहयोग पुग्ने एन्टोनीको विश्वास छ। सो घटनाले पोल्याण्ड लगायत रसियाका छिमेकी देशलाई पनि फाइदा पुग्ने तर्क अमेरिकाको छ।

'हामीले फाइनल एक्ट नै देखेका छैनौं,' बिलन्केनले भनेका छन्।

उनले वाग्‍नर समूहको विद्रोहले रसियाको सैन्य क्षमतामाथि नै प्रश्न उठेको बताएका छन्। युक्रेनमा पनि रसियाली सेना कमजोर भएको उनको दाबी छ। अहिले अमेरिका लुकास्हेन र प्रिगोजिनले गरेको सहमतिबारे थप अध्ययन गरिरहेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले वाग्‍नरको विद्रोहलाई 'सकारात्मक र प्रेरणादायी' भनेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन संवादका क्रममा उनले पुटिनलाई कठघरामा उभ्याउनुपर्नेमा जोड दिएका थिए। हुन त हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले पुटिनविरुद्ध 'वारेन्ट' जारी गरेको महिनौं भइसकेको छ। युक्रेनविरुद्ध युद्ध अपराध गरेको ठहर गर्दै आइसीसीले गत चैतमा पुटिनविरुद्ध 'वारेन्ट' जारी गरेको थियो। तर, त्यसको कार्यान्यवन पक्ष निकै फितलो देखिन्छ। पुटिनलाई कठघरामा उभ्याउन उनले युद्ध हार्नै पर्छ। जुन पुटिन अहिलेको अवस्थामा चाहँदैनन्।

वाग्‍नरको विद्रोहबाट आक्रोशित पुटिन अब आफू कमजोर नरहेको देखाउने पक्षमा उभिने विश्लेषकहरु बताउँछन्। प्रिगोजिनलाई दिएको 'स्पेस'बाट उब्जिएको विद्रोहबाट पाठ सिक्दै पुटिन अघि बढ्ने अनुमान छ। विद्रोहले पुटिनले कमजोरी सच्याउने मौका पनि पाएका छन्।

गएको केही महिनादेखि नै प्रिगोजिनले पुटिन विरुद्ध विद्रोह गर्ने पूरा तयारी गरेका थिए। रसियाली समाजको ठूलो हिस्सासँग भेट्दै उनीहरुको अभिमत बुझ्न वाग्‍नर सेना प्रमुख लागेका थिए। नागरिकसँग मात्रै नभइ सेना र युद्धमा मारिएका व्यक्तिका आफन्तसँग पनि उनको भेट बाक्लिएको थियो। यसले नै उनको राजनीतिक महत्वकांक्षा छताछुल्ला भएको थियो। उनी पुटिनको उत्तराधिकारी मात्र बन्न चाहँदैन थिए, नागरिकस्तरमा आफ्नो लोकप्रियता बढाउन चाहन्थे। जसमा प्रिगोजिन सफल भए। नागरिकले वाग्‍नर सेनालाई दिएको साथ र हौसलाका तस्विरहरु त्यसका साक्षी हुन्। त्यस समय यस विषयमा पुटिन चुप रहेका थिए।

वाग्‍नरको विद्रोह अहिले सतहमा देखिए पनि गत जुनमा 'रसियन भोलुनटियर क्रप्स' र 'फ्रिडम अफ रसिया लिजन'ले रसियाको बेलगोरोड क्षेत्रमा आक्रमण नै गर्‍यो। उनीहरुले एक क्षेत्रलाई नियन्त्रणमा लिएर त्यसलाई सेनामुक्त क्षेत्र बनाउने प्रयास समेत गरेका थिए। त्यसबेला पनि पुटिनमाथि स्थानीयस्तरमा प्रश्न उठेका थिए। पुटिन भने मौन थिए त्यसबेला पनि। उक्त क्षेत्रको सुरक्षामा वाग्‍नर समूहलाई दिनेबारे छलफल चलिरहँदा रमजान कदरोभलाई त्यहाँको सुरक्षाका लागि खटाउने निर्णय गरियो। यसले पुटिनलाई आफ्नो देशको सीमा सुरक्षाका लागि आफ्नै सेनामाथि विश्वास नभएको विश्लेषण पनि गरिएको छ।

प्रिगोजिनलाई 'स्पेस' दिएर छाडेका पुटिनले कुनै पनि हालतमा रसियालाई टुक्रिन नदिने बताएका छन्। बेलारुसले गराएको सहमति अनुसार प्रिगोजिनलाई माफी दिन पुटिन तयार नहुने विश्लेषण पनि गरिएको छ। पुटिनले सुरक्षित खेल खेलेर प्रिगोजिनलाई 'इलिमिनेट' गर्न सक्छन् - आफूलाई शक्तिशाली देखाउन। तर, यसले पुटिनका कमजोरीहरु भने लुक्ने छैन। जसकारण पुटिनको शासनविरुद्ध थप आवाज उठ्ने पक्का छ। ती आवाज र विद्रोहलाई रसियाका सहयोगी देशले पनि पक्कै हेर्नेछन्। र, युक्रेनसँगै पश्चिमा देशहरुले ती आवाजलाई विद्रोहमा परिणत गर्न सहयोग नै गर्नेछन्।

अर्कातिर, यही विद्रोहले पुटिनलाई थप शक्तिशाली बनाएको भन्नेहरु पनि छन्। हतियारसहित २५ हजार लडाकू सयौं किलोमिटर नाघेर मस्कोतर्फ बढ्दै गर्दा रोक्न नसक्नु पुटिनको कमजोरी भएको पोल्यान्डका सांसद रोडोस्ला सिकोसर्की बताउँछन्। तर, अब पुटिन चनाखो हुने उनको विश्लेषण छ।

'अब पुटिनले वाग्‍नरको समर्थन गर्ने र उनीहरुको विरोध नगर्नेहरुलाई पुटिनले छोड्ने छैन। पुटिनले अब के गर्लान् भन्ने कुरा आउने समयले बताउनेछ। तर, अब उनको सत्ता थप निरंकुश र बर्बर हुनेछ।'

उनको यो अभिव्यक्ति इंगित त्यो 'स्पेस' प्रति थियो जुन प्रिगोजिनले पाएका थिए। वाग्‍नरलाई बढावा दिँदै उदय हुने ठाउँ दिनु नै पुटिनको ठूलो कमजोरी थियो जुन शनिवारको विद्रोहले प्रष्ट देखायो। अब त्यस्तै 'स्पेस' पाउनेहरु प्रति पुटिन कठोर हुने पक्का छ।

पुटिन शक्तिलाई प्रयोग गर्न रुचाउँछन्। आफ्नै विश्वासपात्रबाट धोका पाएपछि अब पुटिन थप शक्तिको प्रयोग गर्ने दिशातर्फ अघि बढ्ने छन्। यसबाट युक्रेनसँगको युद्धपछि रसियामा लगाइएका प्रतिबन्धहरु अब थप बढ्ने निश्चित छ। युक्रेनप्रति पुटिन थप आक्रमक हुन पनि सक्नेछन्।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell