PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणः २४ वर्षीय बुढाथोकी समातिए, बैंक खातामा लाखौं रकम डिपोजिट!



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी प्रकरणः २४ वर्षीय बुढाथोकी समातिए, बैंक खातामा लाखौं रकम डिपोजिट!

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सोही क्रममा फरार रहेका आशीष बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। काठमाडौंबाट उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो। जसमा १८ जना पक्राउ परिसकेका छन्। अदालतको आदेशले अहिले १६ जना पूर्पक्षका क्रममा थुनामा छन्।

अदालतमा दर्ता अभियोगपत्र अनुसार शरणार्थी प्रकरणमा बुढाथोकीको खातामा रकम जम्मा भएको उल्लेख गरिएको छ।

पूपर्क्षका क्रममा थुनामा रहेका केशव दुलाल र सागर राईले भने आफूहरुले आशीषलाई नचिनेको बयान गरेका छन्। 

'आशीष बुढाथोकी र मोहन राईलाइ मैले चिनेको छैन। मैले उनीहरुको खातमा रकम जम्मा गर्नु भनी  लगाएको छैन,' सागरले बयानमा भनेका थिए।

प्रहरीको अनुसन्धानमा आशीषको खातामा रकम जम्मा भएको देखिएको थियो।

सागर राईले पीडितलाई प्रोसेसिङको लागि रकम जम्मा गर्न भन्दै आशीषको एनआइसी एसिया बैंकको खाता दिएका थिए। जसमा पहिलोपटक ९ लाख ९९ हजार जम्मा गरेका  र पछि १ लाख २१ हजार डिपोजिट गरेको अनुसन्धानमा देखिएको थियो। अभियोगपत्रमा बुढाथोकीले संगठित अपराध गरेको पुष्टि हुने आधार प्रमाण भेटिएको उल्लेख गरिएको छ। उनीविरुद्ध ठगी मुद्दा समेत आकर्षित भएको छ।

काठमाडौं जिल्ला अदालतले हाइप्रोफाइलसहित १६ जनालाई पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिइसकेको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो।

त्यस्तै, केशव दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, सन्दीप रायमाझी, शमशेर मियाँ, आङटावा शेर्पा, रामशरण केसी, गोविन्द चौधरीलाई पनि थुनामै राख्न आदेश अदालतले दिएको थियो। अदालतले लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छोड्न आदेश दिएको थियो। गुरुङलाई १० र महर्जनलाई ५ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell