PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपाली क्रिकेटमा खुलेको ‘एक्स्पोजर’ : जमेको छ भारत, पाकिस्तानसँगको संयोग



मुकुन्द घिमिरे

नेपाली क्रिकेटमा खुलेको ‘एक्स्पोजर’ : जमेको छ भारत, पाकिस्तानसँगको संयोग

काठमाडौं : सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले २०२३ मा लिग २ बाट उपलब्धि नवीकरण गर्‍यो। सन् २०१९ बाट २०२३ सम्म चलेको यस प्रतियोगिताबाट नेपालले शीर्ष पाँचमा रहे एक दिवसीय मान्यता जोगिने थियो। तर नेपालले अझ शीर्ष तीनमा रहँदै क्रिकेट विश्वकप छनोटमा अवसर पायो।

त्यही विश्वकप छनोट खेल्न नेपाली टोली हाल जिम्बावेमा छ। जिम्बावेबाट भारतमा हुने विश्वकप पुग्ने बाटो भने टुंगिसकेको छ। बाटो बन्द भइसके पनि नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले भनेजस्तो यस प्रतियोगिताबाट धेरै कुरा लिन पाएको छ नेपालले।

विश्वकप छनोटबाटै नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग एक दिवसीय क्रिकेट खेल्न पाएको हो। यही प्रतियोगिताबाटै नेपालले पहिलो पटक विश्वकप विजेतासँग एक दिवसीय मान्यता प्राप्त खेल खेल्यो।

नेपाल रहेको समूहमा टेस्ट मान्यता प्राप्त जिम्बावे, वेस्टइण्डिज साथसाथै अमेरिका र नेदरल्याण्ड्स थिए। समूहमा अमेरिकालाई हराएको नेपालले दुई टेस्ट राष्ट्र र नेदरल्याण्ड्ससँग पराजय ब्यहोर्‍यो।

वेस्ट इण्डिज र जिम्बावेसँगको हार नेपालका लागि स्वभाविक थियो। यस मामिलामा नेदरल्याण्ड्स पनि कमजोर टोली भने होइन। सुपर लिगमा नेदरल्याण्ड्स, भारत, पाकिस्तान, इङ्ग्ल्याण्डलगायत सबै शीर्ष टोलीसँग खेलेर अनुभव लिएर विश्वकप छनोट खेल्न आएको हो।

Photo: CAN


माथिल्लो स्तरमा खेलेर तल्लो स्तरमा आउँदा नेदरल्याण्ड्स हावी हुनु स्वभाविक थियो। किनभने नेपालले त हालसम्मकै माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्दै थियो।

त्यसैले नेपालका लागि कुनै पनि नतिजा अप्रत्यासित थिएन्। तर एक्स्पोजरका हिसाबले हरेको खेल ठूलो अवसरभन्दा कम पनि थिएन। 

जिम्बावेमा नेपाललाई अझै प्ले अफका दुई खेल खेल्न बाँकी छ। मतलब, नेपालले एक्सपोजरको अवसर पाउनेछ। नेपाली सिनियर पुरुष टोलीमात्र नभएर महिला टोली र उमेर समूहमा पनि त्यस्ता अवसरहरु मिलेका छन्।

 

एसीसी इमर्जिङ टिम्स पुरुष एसिया कप

नेपालले क्रिकेट विश्वकप लिग २ का खेल सकेपछि तुरुन्तै खेलेको अर्को प्रतियोगिता थियो- एसीसी प्रिमियर कप। नेपालले घरेलु मैदानमा प्रतियोगितामा च्याम्पियन बन्दै दुई फरक प्रतियोगिताका लागि ढोका खोल्यो। पहिलो: एसीसी इमर्जिङ टिम्स एसिया कप र दोस्रो एसिया कप। प्रिमियर कपको शीर्ष तीन टोलीले इमर्जिङ टिम्स एसिया कप र च्याम्पियनले एसिया कप खेल्ने एसियाली क्रिकेट परिषद (एसीसी)को रोडम्याप थियो।

Photo: CAN


यिनै दुई प्रतियोगितामध्ये इमर्जिङ टिम्स एसिया कप यही महिना हुने प्रतियोगिताका लागि पाकिस्तान र बंगलादेशले त आफ्नो टोली नै घोषणा गरिसकेका छन्। पाकिस्तानले मोहम्मद हरिस र बंगलादेशले सइफ हसनको कप्तानीमा टोली घोषणा गरेका हुन्।

यस प्रतियोगितामा नेपाल रहेको समूहमा भारत 'ए', पाकिस्तान 'ए', श्रीलंका 'ए' र नेपाल छन्। विश्वकप छनोटमा नयाँ अनुभव लिएको नेपालले लगत्तै एसियाली टोलीको इमर्जिङ टिम्ससँग खेलेर अर्को ठूलो एक्सपोजरको अवसर पाउँदैछ।

 

एसिया कप

एसीसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपालले पाएको ठूलो अवसर हो- एसिया कप। अगस्ट ३१ बाट सुरु हुने एसिया कपलाई लिएर विवाद पनि उत्तिकै छ। पाकिस्तान आयोजक रहेको यस प्रतियोगिता आयोजनाका लागि पछिल्लो पटक 'हाइब्रिड मोडल' एसीसीले पास गरेको छ। तर, विवाद भने अझै थामिएको छैन। खासगरी भारत र पाकिस्तानको असमझदारीले समस्या निम्ताएको छ।

Photo: CAN


एसिया कपमा नेपाली टोली भारत र पाकिस्तान रहेको समूहमा छ। नेपाल, पाकिस्तान र भारत समूह 'ए' मा रहँदा समूह 'बी' मा बङ्गलादेश, अफगानिस्तान र श्रीलंका छन्। 

 

महिला टोलीले पाएको आकस्मिक अवसर

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले झण्डै एक वर्ष कुनै अन्तर्राष्ट्रिय खेल खेलेन। नेपाली महिला टोली सन् २०२२ को जुन २४ मा अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रिएको थियो।

गत मे महिनामा मलेसियासँग अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्यो सोही टोलीले।

पाँच खेलको सिरिजपछि नेपाल फर्किएको राष्ट्रिय टोलीलाई अहिले ‘सरप्राइज’ मिल्यो। नेपाली टोलीले अहिलेसम्मकै ठूलो स्तरमा खेल्ने अवसर पाएको थियो।

Photo: ACC


हङकङमा एसीसी वुमन इमर्जिङ टिम्स एसिया कपमा थाइल्याण्डले नाम फिर्ता लिँदा नेपालले सहभागिता जनाउने अवसर पायो।

नेपालले हङकङमा समूहमा भारत, पाकिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो। तर, पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेपछि पछिल्ला दुई खेलमा मैदान उत्रनै पाएन। पानीले खेल रोक्यो। भारत र हङकङसँग नेपालले अंक बाड्न बाध्य भयो।

 

यू १९ विश्वकपमा पुनरागमन

नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको थियो। एसिया छनोटतर्फ नेपालले सबै खेलमा जित हात गर्दै आठ वर्षपछि विश्वकप यात्रा तय गरेको थियो। सन् २०१६ पछि उमेर समूहको विश्वकपमा युवा टोलीको आठ वर्षपछिको पुनरागमन हो।

नेपाल सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २००८ र सन् २०१२ र २०१६ को विश्वकपमा छनोट भएको थियो।

Photo: ICC


यस प्रतियोगिता २०२४ मा श्रीलंकामा हुँदैछ। प्रतियोगिताले युवा टोलीलाई अन्तर्राष्ट्रिय अनुभव र गौरवका हिसाबले राम्रो एक्सपोजर मिल्छ।

यति धेरै प्रतियोगिताहरुमा नेपालको भारत र पाकिस्तानकै समूहमा पर्ने संयोग जुरेको छ। विश्वकपको तालिका आउँदासम्म यस सम्भावनालाई कसरी नकार्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell