PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बल्खु - कलंकीमा किन भयो हतार हतारमा पिच?



शुक्र गिरी

बल्खु - कलंकीमा किन भयो हतार  हतारमा पिच?

काठमाडौं : बल्खुदेखि कलंकी भाटभटेनीसम्मको १.३ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ।

सडक विभाग र काठमाडौं सडक डिभिजनले कलंकी-बल्खुको राम्रो रहेको सर्भिस लेन भत्काएर मर्मत अघि बढाएको थियो। त्यसको चौतर्फी रुपमा विरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकमा अनियमितताको आशंकामा छानबिन अघि बढाएर अनुसन्धान गरिरहेको छ।

अख्तियारले अहिले नमुनाहरु संकलन गरेर ल्याबमा जाँच गर्ने र अन्य अनुसन्धानका प्रक्रियाहरु गरिरहेको छ। तर अख्तियारको अनुसन्धान नसकिँदै सडक विभागले कालोपत्रे गर्ने काम सकेको छ।

सडक डिभिजन काठमाडौंका इन्जिनियर नेत्र पौडेलले सडकमा कालोपत्रे गर्ने काम सकिएको बताए। उनका अनुसार अख्तियारले अनुसन्धान गर्न थालेपछि चैतदेखि नै निर्माण कार्य बन्द भएको थियो।

‘हामीले सडक कालोपत्रे गर्ने काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘अख्तियारले गर्ने काम गरिरहेको छ। त्यसमा सडक डिभिजनको केही आपत्ति छैन। केही देखिए अख्तियारले आफ्नो हिसावले काम गर्न सक्छ। अहिलेसम्म सडक डिभिजनलाई अख्तियारले केही जानकारी गराएको छैन्।’

यो सडक खण्डमा अख्तियारले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको र विभागले आफ्नै तरिकाले काम गरेको उनले बताए। ‘सडक खण्ड यतिकै अलपत्र परिरहेको थियो। वर्षा लाग्न थाल्यो,’ उनले भने, ‘झन वर्षाले सडकमा धेरै क्षति हुने अवस्था सिर्जना भएको थियो।’

यो सडक खण्डमा पुरानो कालोपत्रे भत्काएपछि पहिलेको बेसलाई मिलाइएको छ। यसमा पहिलेको बेसलाई सब बेसका रुपमा पूर्ण प्रयोग गरिएको उनले बताए। त्यसपछि थप १५ सेन्टिमिटरको बेस म्याटेरिरयल्स राखिएको उनको भनाइ छ।

‘यसमा ६ सेन्टिमिटरको कालोपत्रे गरिएको छ,’ उनले भने, ‘यसमा पहिले देखिएको सिपेज हुने समस्या हराउने आशा छ। हामीले त्यही अनुसार माटोहरु सबै ल्याबमा लगेर जाँच गरेपछि कालोपत्रे गरिएको छ।’

उनका अनुसार नालीको भाग भने अहिले यथावत राखिएको छ। ‘अहिले नालीको भागमा सिपेज आउने समस्या ठिक भएको छैन,’ उनले भने, ‘अहिले यो भागमा केही गरिएको छैन। यसलाई अब्जर्वेसनमा राखिएको छ।’

यो सडकमा नेपालमा पहिलो पटक सेन्सर पेबर प्रविधि गरेर कालोपत्रे गरिएको पौडेल बताउँछन्। ‘यसले कति थिकनेस हाल्ने हो भन्ने कुरा अटोमेटिक रुपमा काम गर्छ,’ उनले भने ‘यसले कालोपत्रे गर्न तयार पारिएको मसलाको मात्रा आफैं अटोमेटिक रुपमा मिसाउन समेत काम गर्छ।

यो सडक खण्डको मर्मत गर्दा सडक डिभिजन काठमाडौं र ललितपुरले उपत्यकामा रहेका सबै सडकहरुको अवस्था निरीक्षण गरिरहेको थियो। त्यसपछि कलंकीदेखि बल्खुसम्म रहेको १३०० मिटर सडकको सर्भिस लेनमा बेस कमजोरी अर्थात बेस फेल्ड भएको समस्या देखिएको भन्दै नयाँ सडक भत्काएर मर्मत गर्न थालिएको थियो।

सडक विभागमा छलफल गरेर यो सडक मर्मत गर्नुपर्ने निष्कर्षमा पुगेको थियो। यो सडकसहित अन्य यस्ता ४ वटा सडक मर्मतको लागि भ्याटसहित कुल ३४ करोड १७ लाख रुपैयाँ लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell