PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सहकारीका ठगी मास्टर केदारनाथ शर्मा भारतबाट समातिए, प्रहरीसँग भने : इन्भेस्टर खोज्न भारत आएको थिएँ



पहिलोपोस्ट

सहकारीका ठगी मास्टर केदारनाथ शर्मा भारतबाट समातिए, प्रहरीसँग भने : इन्भेस्टर खोज्न भारत आएको थिएँ

काठमाडौं : उपकार ब्रान्ड तथा अर्थ न्युज एचडी टेलिभिजनका संचालक केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन्। सहकारी ठगी प्रकरणमा तानिएका उनी केही समयदेखि फरार रहँदै आएका थिए। गत शुक्रावारदेखि उनको टेलिभिजन पनि बन्द भएको थियो। शर्माकी पत्नी गीता शर्मा यसअघि नै पक्राउ परिसकेकी छिन्।

केदारनाथ शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी सस्थाका पूर्व अध्यक्ष हुन्। उनी विरुद्ध सहकारी ठगीमा निक्षेपकर्ताबाट १४ अर्ब रुपैयाँ घोटला भएको उजुरी परेको छ। सबै निक्षेपकर्ताले प्रहरीमा उजुरी दिइसकेका छैनन्। त्यसैले रकम अझै माथि पुग्ने देखिन्छ। भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीको काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाहरूका शाखा रहेको छ। ३५ वटा जिल्लामा यसको शाखा रहेको भेटिएको छ। जिल्लाका केही शाखाबाट पनि बचतकर्ताको रकम हिनामिना भएको देखिएको हो।

शर्माको सहकारीसहित ४३ वटा विभिन्न कम्पनीमा आवद्धता देखिएको छ। उपहकार ब्रान्डमा उनले खाद्यवस्तु उत्पादन र वितरण गर्दै आएका छन्। अर्थ टेलिभिजन पनि उनकै लगानी छ जहाँ ४ महिनादेखि कार्यरत कर्मचारीले तलब पाउन सकेका छैनन्। त्यस्तै, सहकारीबाट मात्र होइन बैंकबाट पनि उनले उल्लेख्य रुपमा कारोबार गरेको देखिएको छ। सहकारी र बैंकबाट गरेर २२ अर्ब बराबरको रकम लिएको देखिन्छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले शर्मालाई भारतबाट पक्राउ गरेर ल्याएको दाबी गरेको छ। सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ललाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो। गीता शिखर अर्गनाइजेसनको निर्देशक पनि हुन्। 

प्रहरीमा जब उजुरी पर्न थाल्यो, उनी फरार भए। 'उजुरी पर्न थालेपछि भारतमा आएर इन्भेस्टर खोज्दै थिएँ,' शर्मालाई उद्तधृ गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

व्यूरोले पहिलो चरणको अनुसन्धान सकेर फाइल अदालतमा बुझाएको थियो। अदालतले पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाएको छ। उनीहरुसँग १ अर्ब ७१ करोड बिगो माग दाबी गरिएको थियो। त्यस्तै अन्य ७ जना फरार रहेका थिए।

केदार शर्मा भारतको मुम्बाईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले समातेर ल्याएको दाबी गरेको छ। उनलाई मुम्बईबाट लखनउ हुँदै काठमाडौं ल्याइएको हो। प्रहरीको प्रारम्भिक बयानमा उनले ८०/९० दिनदेखि भारतमा बसेको बताएका छन्।

सीआईबीको प्रारम्भीक अनुसन्धानमा सहकारीमा १४ अर्ब निक्षेप भएको खुल्छ। त्यसमा ५/६ अर्ब लगानी भए पनि बाँकी रकम कहाँ गयो भन्ने देखिएको छैन। व्यूरोले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ। काठमाडौं र ललितपुरका सेवाग्राहीलाई उजुरी दिन समेत व्यूरोले सुचना जारी गरिसकेको छ।

उनको सहकारीमा देशभर १ लाख ६८ हजार ७ सय २५ जना बचतकर्ता रहेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell