PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सहकारीबाट ठूलो रकमको ठगी : केदारनाथ शर्माले कसरी हत्याए अर्बौं रकम?



सविन ढकाल

सहकारीबाट ठूलो रकमको ठगी : केदारनाथ शर्माले कसरी हत्याए अर्बौं रकम?

काठमाडौं : उपकार ब्रान्ड तथा अर्थ न्युज एचडी टेलिभिजनका संचालक लगायत तीन दर्जनभन्दाबढी कम्पनीमा आवद्ध केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन्।

केदारनाथ शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी सस्थाका पूर्व अध्यक्ष हुन्। उनी विरुद्ध सहकारी ठगीमा निक्षेपकर्ताबाट १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँ घोटला भएको उजुरी परेको छ। त्यसैको आधारमा प्रहरीले तीन महिनादेखि उनलाई खोजी गरिरहेको थियो। सोही क्रममा उनी भारतबाट पक्राउ परेका हुन्।

शर्माविरुद्ध विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाबाट पनि बचतकर्ताको रकम हिनामिना गरेको उजुरी परेको थियो। २१ हजार निक्षेपकर्ता खाता खोलेर उनले १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

उनको सहकारीमा भएका सबै निक्षेपकर्ताले प्रहरीमा उजुरी दिइसकेका छैनन्। त्यसैले रकम अझै माथि पुग्ने देखिन्छ।

भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीको काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाहरूका शाखा रहेको छ। ३५ वटा जिल्लामा यसको शाखा रहेको भेटिएको छ। विभिन्न जिल्लाका केही शाखाबाट पनि बचतकर्ताको रकम हिनामिना भएको देखिएको हो।

शर्माको सहकारीसहित ४३ वटा विभिन्न कम्पनीमा आवद्धता देखिएको छ। उनले सहकारीबाट रकम लगानी गरेर साँवा ब्याज समेत फिर्ता गरेका थिएनन्। उनले निक्षेपकर्ताको रकमबाट आफ्नो र आफन्तको नाममा जग्गा जमिन, सवारी साधान लगायत अनुउत्पादक क्षेत्रमा लगानी गरेका थिए। जग्गाको कारोबार मन्दी भएपछि समस्या पर्दै गएको थियो।

जग्गा तथा घरमा लगानी गरेको कारण नै सिभिल सहकारीका ठगी प्रकरणमा पूर्वसांसद तथा सहकारीका अध्यक्ष इच्छाराज तामाङ पनि पूर्पक्षको लागि थुनामा छन्। जिल्ला अदालत काठमाडौंमा तामाङसहितका अभियुक्तविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो।

शर्मा जोडिएको ठगी प्रकरण सहकारीको अहिसम्म कै सबैभन्दा ठूलो रकम हिनामिनामा पर्ने देखिन्छ।

उपकार ब्रान्डमा उनले खाद्यवस्तु उत्पादन र वितरण गर्दै आएका छन्। अर्थ टेलिभिजनमा पनि उनकै लगानी छ जहाँ ४ महिनादेखि कार्यरत कर्मचारीले तलब पाउन सकेका छैनन्।

त्यस्तै, सहकारीबाट मात्र होइन बैंकबाट पनि उनले उल्लेख्य रुपमा कारोबार गरेको देखिएको छ। सहकारी र बैंकबाट गरेर २२ अर्ब बराबरको रकम उनले लिएको देखिन्छ। उनले शिखर अर्गनाइजेसन, शिखर ग्रुप, तुलसी सहकारी, गोर्खा टि, शिखर टोबाको लगायत कम्पनीमा समेत लगानी गरेका थिए।

सीआईबीको टोलीले वैशाख २७ गते शिव शिखर बहुउद्देश्यीय सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ललाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो। गीता शिखर अर्गनाइजेसनको निर्देशक पनि हुन्।

व्यूरोले पहिलो चरणको अनुसन्धान सकेर फाइल अदालतमा बुझाएको थियो। अदालतले पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाएको छ। उनीहरुसँग १ अर्ब ७१ करोड बिगो माग दाबी गरिएको थियो। त्यस्तै अन्य ७ जना फरार रहेका थिए।

केदार शर्मा भारतको मुम्बाईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले समातेर ल्याएको दाबी गरेको छ। उनलाई मुम्बईबाट लखनउ हुँदै काठमाडौं ल्याइएको हो। प्रहरीको प्रारम्भिक बयानमा उनले ८०-९० दिनदेखि भारतमा बसेको बताएका छन्।

शिव सहकारीमा मात्र उनको सहकारीमा देशभर १ लाख ६८ हजार ७ सय २५ जना बचतकर्ता रहेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell