PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आदिपुरुषको निर्माण टिमप्रति अदालत आक्रोशित, सोध्यो : फिल्ममा राम रावण देखाउने अनि रामायण होइन भन्ने?



पहिलोपोस्ट

आदिपुरुषको निर्माण टिमप्रति अदालत आक्रोशित, सोध्यो : फिल्ममा राम रावण देखाउने अनि रामायण होइन भन्ने?

फिल्म आदिपुरुषको प्रदर्शन रोक्न माग गर्दै भारतको विभिन्न राज्यमा मुद्दा दर्ता भएका छन्। आजमात्रै भारतको सर्वोच्च अदालतमा पनि आदिपुरुषको प्रदर्शन रोक्न माग गर्दै मुद्दा दर्ता भएको छ। ओम राउत निर्देशित रामायणमा आधारित आदिपुरुषले हिन्दुहरुको भावनामा आघात पुर्‍याइएको आरोप लगाइएको छ। यस्तै, निवेदकले फिल्मको संवादहरुप्रति असहमति राख्दै त्यति संवाद ‘गल्ली ब्वाइज’हरुले मात्रै भन्ने रिटमा उल्लेख गरेका छन्। निवेदकले फिल्मलाई दिइएको सेन्सर सर्टिफिकेटसमेत फिर्ता लिनुपर्ने माग राखेका छन्।

सर्वोच्चमा आज यो मुद्दा दर्ता भइरहँदा अलहावाद उच्च अदालतमा आदिपुरुषकै मुद्दाको सुनुवाइ भइरहेको थियो। गत डिसेम्बरमा नै आदिपुरुषले अयोध्या र हिन्दु धर्मको छविलाई बिगार्ने काम गरेको भन्दै रिट दर्ता भएको थियो। सोही रिटमाथि न्यायाधीश राजेश सिंह चौहान र श्री प्रकाश सिंहको इजलासमा भएको बहस हो। त्यसक्रममा न्यायाधीशहरुले फिल्म निर्माण टिमको आलोचना गरेका छन्।

न्यायाधीशहरुले सेन्सर बोर्डप्रति पनि आक्रोशित हुँदै फिल्मका दृश्य संवाद कसरी स्वीकृत गरियो भन्दै प्रश्न गरेका छन्। यो फिल्म प्रदर्शनपछि कुनै ठूलो हिंसात्मक घटना नघटेको भन्दै हिन्दुहरुको सहिष्णुताको परीक्षा लिने काम भएको टिप्पणी गरेको छ।

इजलासले भनेको छ, ‘ हामीले यस विषयमा पनि आँखा बन्द गर्ने हो, किन भने भनिन्छ यो धर्म(हिन्दू) का मानिसहरु धेरै नै सहिष्णु हुन्छन्, के अब यसको परीक्षा लिने? ’

इजलासले भगवानलाई फिल्ममा प्रस्तुत गरेको विषयमा पनि टिप्पणी गरेको छ। ‘डिस्क्लेमर’ को नाममा भगवानलाई जुन हिसाबले पनि प्रस्तुत गर्न नपाउने न्यायाधीशहरुले बताएका छन्। फिल्मका लेखक मनोज मुन्तशिरलाई पनि कारवाहीको दायरामा ल्याउनुरपर्ने इजलासले बताएको छ।

‘डिस्कलेमर राखेर मान्छेहरुले के देशवासी र युवाहरु मस्तिष्क बिहीन् छन् भन्ने थान्छन्? तिमी भगवान राम भगवान लक्ष्मण भगवान हनुमान, रावण, लंका देखाउँछौं र पछि त्यो रामायण होइनौ भन्छौं?,’ इजलासले सोधेको छ।

फिल्मका लेखक मुन्तशिरले आफूले फिल्म रामायण नबनाएको तर त्यो रामायणबाट प्रभावित भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell