PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

निराकार ‘शिव’ सुनकाण्डमा मुछिए, पशुपतिमा जलहरी जोखिँदै गर्दा केदारनाथबाट पनि सुन चोरिएको चर्चा



सहयोग रञ्जित

निराकार ‘शिव’ सुनकाण्डमा मुछिए, पशुपतिमा जलहरी जोखिँदै गर्दा केदारनाथबाट पनि सुन चोरिएको चर्चा

काठमाडौं : नेपालमा पशुपति र भारतमा केदारनाथ। निराकार शिवको सबैभन्दा ठूलो र महत्वका मन्दिर हुन् यी दुवै। पशुपतिनाथलाई केदारनाथको शीर समेत भनिन्छ। अहिले यी दुवै शिव मन्दिरमा राखिएका सुन चर्चामा छ।

नेपालमा पशुपतिको गर्भगृहमा रहेको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै अनुसन्धान भइरहेको छ। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनकै पहलमा सुनको जलहरी राख्ने काम भएको थियो।

त्यस क्रममा भ्रष्टाचार भएको प्रश्न उठेपछि केहीदिन अघि ज्योलिर्लिङ्गमा राखिएको जलहरी निकालेर तौल समेत जोखिएको छ। तौलका बारेमा विस्तृत विवरण आउन बाँकी छ।  

पशुपतिमा सुनमा घोटाला भएको चर्चा नेपालमा चलिरहँदा भारतको केदारनाथको गर्भगृहका भित्तामा सुनका 'परत' राख्ने क्रममा घोटाला भएको विषय उठेको छ।

केदारनाथ धामका तीर्थ पुरोहित र चारधाम महापंचायतका उपाध्यक्ष सन्तोष त्रिवेदीले मन्दिरलाई मुम्बईका एक व्यापारीले दानमा दिएको सुनले सजाउने क्रममा चोरी भएको आरोप लगाएका हुन्। गत सेप्टेम्बरमा मन्दिरको भित्तामा सुनका 'परत' टाँसिएको थियो। उनले भित्तामा पोतिएका सुनका परतमा 'पोलिस' गर्न आवश्यकता रहेको भन्दै अनुसन्धान हुनुपर्ने बताएका हुन्।

सुन विवाद बढ्दै गएपछि उत्ताराखण्ड सरकारले संस्कृति एवम् धार्मिक मामिलाका सचिव हरिचन्द्र सेमवाल र गढवालका कमिश्नरको अध्यक्षतामा अनुसन्धान कमिटी बनाएको छ।

मन्दिर समितिले भने आरोप झुटो रहेको दाबी गरेको छ। गर्भगृहमा २३.७८ किलोग्राम सुन प्रयोग भएको समितिले जनाएको छ। जुन १८ मा एक व्यक्तिले मन्दिरको गर्भगृहको भित्तामा सुनको 'परत'मा पोलिस गरिरहेको भिडियो सार्वजनिक गरेका थिए। राति भइरहेको सो कार्य किन गरियो भन्ने ती व्यक्ति प्रश्न गरेका थिए। त्यसपछि सुन राख्ने क्रममा घोटाला भएको विषय बाहिरिएको हो।

 

पशुपति र केदारनाथ दुवैमा विरोध

पशुपतिमा पनि पहिला सुनको जलहरी थिएन। पशुपतिनाथको शिवलिङ्ग मुनि पहिलेदेखि नै चाँदीको जलहरी थियो। 'नेपालको इतिहास र संस्कृतिका केही पक्ष' किताबमा भुवनलाल प्रधानले उक्त चाँदीको जलहरी राजा रणबहादुर शाहले चढाएको उल्लेख गरेका छन्।

पुरानो भएकाले जलहरी ठाउँठाउँमा फुटेको थियो। शिवलिंगको स्नान गर्दा त्यसले भट्टहरुको हात काट्थ्यो। बारम्बार हात काट्न थालेपछि फेर्ने कुरा उठ्नु स्वभाविक थियो।

त्यसैले पशुपति दर्शन गर्न राष्ट्रपति आउँदा मूल भट्टसहित अन्य भट्टहरुले जलहरी परिवर्तन गर्नपर्ने कुरा उठाउँथे। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यस विषयमा चासो देखाएकी थिइन्। त्यही क्रममा हो चाँदीको सट्टा सुनको राख्ने सन्दर्भ उठेको थियो।

सुनको जलहरी राख्ने विषयमा त्यति बेला नै विवाद भएको थियो। निराकर शिवलाई सुन चढाउने विषयमा अहसमति राख्ने धेरै थिए।

तत्कालीन वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले भनेका थिए, ‘हरेक भगवानको आआफ्नो स्वरुप हुन्छ। पशुपति निरन्जन निराकार हुन्। शिव बाघको छाला ओडेर आफू नाङ्गै खरानी घसेर बस्ने तर आफ्ना भक्तहरुलाई भने सम्भ्रान्त बनाउने भगवान् हुन्। त्यसैले महादेवको स्वरुप पहिला जस्तै हुनुपर्छ। त्यसलाई सुनले मोड्ने गर्नुहुन्न। त्यसो गरे भगवानको स्वरुप मेटिन्छ।’

पशुपतिमा सुनको जलहरी राख्ने विषय सुरुमा नै विवादित भए जसरी नै केदारनाथमा पनि सुन राख्ने विषय विवादित भएको थियो। केदारनाथमा सुनको ‘परत’ राख्न नहुने भन्ने धेरै थिए।

सन् २०२२ मा केदारनाथ धाममा सुन राख्ने विषयको विरुद्ध तीर्थ पुरोहित आचार्यले केदारनाथ मोक्षधाम भएको र त्यहाँ सुन लगाउन नहुने भन्दै विरोध गरेका थिए।

'परत राख्ने क्रममा मन्दिरको भित्तामा 'ड्रिलिङ' गरिएको छ। र, त्यस कार्यले गर्भगृहको पांडवकालीन भित्तालाई नोक्सानी भएको छ,' उनले बताए।

सुन राख्ने क्रममा घोटाला भएको विषयलाई राज्य सरकारले गम्भीर रुपमा लिएको छ। दोषीलाई कडा कारवाही गर्ने राज्य सरकारका अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell