बलिउडका बादशाहका रुपमा स्थापित शाहरुख खानको फिल्म जवानलाई लिएर रजतपटमा निक्कै चर्चा चलिरहेको छ। तीन दशकभन्दा लामो फिल्मी यात्रामा बलिउडको शीर्ष स्थानमा रहँदै आएका शाहरुखको फिल्म जवान आउँदा चर्चा हुनु अनौठो होइन। अनौठो के हो भने बलिउड हङ्गामाले यस फिल्मको टिजर रिलिजको विषयलाई समेत एक्क्लु्सिभ सामग्रीका रुपमा प्रस्तुत गरेको छ। पठानबाट बलिउडका सबै रेकर्डलाई माथ दिएका शाहरुखसँगै फिल्ममा साथउ स्टार विजय सेतुपती र नयनतारा पनि जोडिएका छन्। फिल्म निर्देशक एट्ली नै दक्षिण भारतीय हुन्। त्यसैले पान इन्डियन फिल्म इन्ड्रस्टीकै लागि फिल्म चर्चाको विषय हो।
विशेष स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले जनाएअनुसार जवानको टिजर जुलाई ७ देखि १५ को बिचमा हुनेछ। र, त्यसलाई भव्य समारोहमा उजागर गरिनेछ। 'शाहरुख खान र एट्लीले टिजरको भव्य रुपमा सार्वजनिक गर्ने तयारी छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो डिजिटल लन्च हुनेछ जसले दर्शकलाई ठूलो प्रभाव पार्ने छ,' स्रोतले भन्यो, 'फिल्मले अहिलेसम्म नदेखिएको रुपमा शाहरुखलाई फिचर गरेको छ।'
त्यसो त कुनै पनि फिल्मको टिजर रिलिजभन्दा दुई महिनाअघिदेखि सुरु हुने मार्केटिङको रणनीति हो। तर, लामो अन्तरपछि लिड रोलमा उत्रिएका शाहरुखले जसरी पठानबाट हंगामा गरे, मानिसहरु उनको नयाँ रुप हेर्न व्यग्र हुनु अनौठो होइन। जवान सेप्टेम्बर ७ मा रिलिज हुँदैछ। त्यसैले जुलाई ७ बाट यसको प्रचार प्रारम्भ हुने अपेक्षा गरिएको हो।
'पठानपछि शाहरुखले अर्को ब्लकबस्टर दिँदैछन्,' ट्रेड एनलिस्टलाई उद्धृत गर्दै समाचारमा भनिएको छ। यस फिल्मलाई २०२३ को 'वन अफ दी बिगेस्ट' हुने बताइएको छ। फिल्म रेड चिल्लिज इन्टरटेनमेन्ट र एट्लीले निर्माण गरेका हुन्।