PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मेयर बालेन साहको एक्सन जारी, काठमाडौंका सहकारीमाथि निगरानी



पहिलोपोस्ट

मेयर बालेन साहको एक्सन जारी, काठमाडौंका सहकारीमाथि निगरानी

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको एक्सन जारी छ। कतिपय सान्दर्भिक त कतिपय विवादित विषयको घेरामा परिरहेका छन् उनका गतिविधि। आज भने उनी काठमाडौं महानगरपालिका भित्रका सहकारी संस्थालाई लिएर एक्सनमा उत्रिएका छन्।

काठमाडौं महानगरपालिकाले ३० दिन भित्र सहकारी संस्थाहरुलाई विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। महानगरपालिकाले सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु समयमा पेश नगरेको भन्दै बुधवार सूचना निकालेको हो।

काठमाडौं महानगरपालिका सहकारी ऐनले सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष सकिएको मितिले ६ महिना भित्र बोलाउनुपर्ने, आर्थिक वर्ष सकिएको बढीमा ३ महिना भित्र लेखापरीक्षकबाट प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण गराउनुपर्ने भएपनि त्यसो नगरिएको भन्दै सचेत गराएको हो। महानगरले उक्त प्रावधानहरु उल्लंघन गरे सहकारी संस्था विघटन वा दर्ता नै खारेज गर्ने चेतावनी दिएको छ।

पछिल्लो समय काठमाडौं महानगरपालिकासँग देशभर संचालित सहकारी संस्था टाट पल्टिँदै गएका छन्। निक्षेपकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारी संचालकहरु धमाधम पक्राउ परिरहेका छन्। घरजग्गा तथा सेयर बजारमा अन्धाधुन्ध लगानी गरेर टाट पल्टिएपछि महानगरले आफ्नो क्षेत्रभित्र संचालित सहकारी संस्थाहरुको विवरण माग गरेको हो।

‘तरलताको अभाव सृजना भएको सर्वविदितै छ। महानगरपालिकाको सहकारी विभागमा सेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाटै उक्त अवस्था देखिन्छ। यस्तो संवेदनशील समयमा सहकारी संघ/संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भएर सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु,’ महानगर प्रमुख बालेन साहले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell