PahiloPost

Nov 21, 2024 | ६ मंसिर २०८१

पहिले झारफुक, नसुल्टिएपछि उपचारको कोशिश !



रिना थापा

पहिले झारफुक, नसुल्टिएपछि उपचारको कोशिश !
‘कोशिश’ले बुधवार पोखरामा परम्परागत उपचारकर्मीको लागि आयोजना गरेको अभिमुखीकरण।

पोखरा : रुने, चिच्याउने र काम्ने समस्या भएको थियो उमालाई (नाम परिवर्तित)। उनमा यस्तो समस्या देखिएपछि परिवारले चारदिनअघि मात्र झारफुक गर्ने ठाउँमा लगे। पछि उनलाई गण्डकी मेडिकल कलेज पुर्‍याइयो।

अस्पतालको उपचार पश्चात् अहिले उनको अवस्थामा सुधार आएको छ। चिकित्सकसँग कुरा गरेपछि उनमा देखिएको समस्याको कारण पत्ता लाग्यो। घरमा श्रीमानको दुर्व्यवहार र आर्थिक समस्याका कारण उनलाई मानसिक समस्या देखिएको थियो।

यस्तै, राज (नाम परिवर्तित) केही महिनाअगाडि मात्र कानमा समस्या भएको भन्दै मणिपाल शिक्षण अस्पताल पुगे। लामो समय आफनो कानमा केही आवाज सुनिन थालेको उनको गुनासो थियो। चिकित्सकसँग चेकजाँच गराउँदा उनको कानमा समस्या देखिएन।

पछि उनी झारफुक गर्न विन्दावासिनी पुगे। विन्दावासिनीका ‘गुरु’ले उनलाई मनोचिकित्सककोमा जान सुझाए। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका उनको अवस्थामा सुधार आएको छ।

शारीरिक समस्या होस् वा अन्य पहिला बिरामी घरेलु वा अन्य उपचारको विधि अपनाउँछन्। अन्तिम विकल्पको रुपमा मात्र उनीहरु चिकित्सककोमा पुग्छन्। त्यसअघि अधिकांश झारफुक गर्नेकोमा पुग्छन्।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० को तथ्यांकले पनि देखाउँछ कि मानसिक समस्या भएका ६/७ प्रतिशत बिरामी झारफुक गरेर निको हुनेमा विश्वास राख्छन्। यही विश्वासका कारण अधिकांश मानसिक समस्या भएका बिरामी झारफुक गर्ने व्यक्तिकोमा पुग्छन्।

तथ्यांकलाई केलाउँदै ‘कोशिश’ले मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्शको बाटो देखाउन नयाँ उपाय निकालेको छ। परम्परागत उपचारकर्मीमार्फत मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्श वा मनोचिकित्सक समक्ष पुर्‍याउने योजना ‘कोशिश’ले गरेको हो।

‘कोशिश’ले बुधवार पोखरामा परम्परागत उपचारकर्मीलाई मनोसामाजिक मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा उपस्थित परम्परागत उपचारकर्मीले आफूहरुसँग आइपुग्ने बिरामीको समस्या सुनाइरहेका थिए।

कार्यक्रममा उपस्थित पार्वती बास्तोलाका अनुसार उनी समक्ष दैनिक एकजना बिरामी मानसिक स्वास्थ्य समस्या लिएर आइपुग्छन्। केही बिरामीलाई उनी अस्पताल नै रिफर गर्छिन्। केही बिरामीको समस्या सुनेर घरपरिवारसँग समाधान निकाल्ने उपाय सुझाउँछिन्। उनका अनुसार प्रायः व्यक्ति घरव्यवहार र आर्थिक समस्या लिएर आइपुग्छन्।

कोशिशले आयोजना गरेको कार्यक्रममा सहभागीहरु।


‘कुरा गर्दै जाँदा हामीथिम् उपचार गर्न आउने बिरामी धेरैको पारिवारिक र आर्थिक समस्याका कारण आउनुहुन्छ,’ उनले भनिन्।

केही दिनअघि मात्र विन्दावासिनीका परम्परागत उपचारकर्मी गणेश शर्माकोमा एक महिला समस्या लिएर पुगिन्। सम्बन्धविच्छेद भइसकेकी ती महिलामा मानसिक समस्या देखिएको थियो। पछि शर्माले उनलाई परिवारसँग कुराकानी गर्न सुझाए।

‘प्रायः पहिला हामीसँगै आउने हो। यस विषयमा आज जानकारी भयो। ११६६ नम्बरबारे थाहा भयो। अब आउने बिरामीलाई उहाँहरु थिम् पठाउन सकिन्छ हामीलेपनि,’ शर्माले भने।

यसरी झारफुक गर्न आउने केही बिरामीलाई निको पनि हुन्छ। यसको मनोवैज्ञानिक सम्बन्धलाई उजागर गर्छन् डा. विश्वबन्धु शर्मा।

मनोचिकित्सक क्षेत्रमा चिनिएका उनले आफनो पुस्तक ‘मान्छेको मन’मा लेखेका छन्, ‘साधारण मानसिक रोग लागेकाहरुलाई धामीझाँक्रीहरुले अलमल्याएर राखेका हुन्छन्। मानिसहरु विश्वासमा परेर निको भएको भ्रममा परिरहेका हुन्छन्। मनोवैज्ञानिक कारणले केही कम हुन्छ। साधारण समस्यामा फाइदा पुग्ला तर अलि कडा रोगमा केही हुँदैन। कतिपय रोगका लागि औषधि नै आवश्यक पर्छ यस्तोमा झारफुक गरेर केही हुँदैन।’

नेपालमा कति प्रतिशत जनसंख्या मानसिक रोगको समस्यामा छ भन्ने ठोस तथ्यांक छैन। तर, सो सर्वेक्षण अनुसार गण्डकी प्रदेशमा १०.७ प्रतिशतमा मानसिक समस्या रहेको तथ्यांकले देखाउँछ। आत्महत्याको उकालो लाग्दो तथ्यांकले पनि प्रष्ट्याउँछ मानसिक रोगको समस्या।

मानसिक समस्यासँग मानिसहरु जुधिरहेपनि भ्रमका कारण उपचार गराउनबाट हच्किन्छ उनीहरु। जसकारण पनि मनोचिकित्सक समक्ष ६.५ प्रतिशत बिरामी पुग्दा ०.२ प्रतिशत मनोविद्कोमा पुग्छन्। जुन तथ्यांक झारफुक गर्नेकोमा पुग्ने भन्दा कम हो। यस्तै, ८.८ प्रतिशत बिरामी फरक रोगको चिकित्सक समक्ष पुग्दा ४७.५ प्रतिशत बिरामी आफैँ निको हुनेमा भ्रममा बस्छन्।

तथ्यांकले पनि देखाउँछ मानसिक रोग लागेका बिरामी सुरुवातमा झारफुक गर्नेकोमा पुग्छन् भन्ने। अन्त्यमा मात्र चिकित्सकको आइपुग्छन् उनीहरु।

यहीँ समस्यालाई हेरेर ‘कोशिश’ले मानसिक समस्या भएका बिरामीलाई चिकित्सक वा मनोपरामर्शसम्म ल्याईपुर्‍याउने बाटो खोजेको हो। आस्थालाई जोडेर मानसिक स्वास्थ्य उपचारमा काम गरे समस्या केही हदसम्म समाधान हुने अपेक्षा राख्छन् ‘कोशिश’का कार्यक्रम निर्देशक सुदीप घिमिरे। घिमिरेले अपेक्षा गरे बमोजिक उपस्थित व्यक्तिहरुले पनि प्रतिक्रिया दिएका थिए।

‘पहिला ११६६,कोशिश भन्ने थाहा थिएन। अब थाहा भयो। यस्तो बिरामी हामीसँग धेरै आउनुहुन्छ। अब त फोन गर्न भन्छौँ। यो संस्थाको बारेमा जानकारी दिन्छौँ,’ उपस्थित एक झारफुक गर्ने व्यक्तिले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell