PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

साफको फाइनल पुग्न भारतले लेबनान र बंगलादेशले कुवेतसँग खेल्ने, तीन खेलमा नेपालले पाँच गोल खाएर फर्कायो दुई गोल



मुकुन्द घिमिरे

साफको फाइनल पुग्न भारतले लेबनान र बंगलादेशले कुवेतसँग खेल्ने, तीन खेलमा नेपालले पाँच गोल खाएर फर्कायो दुई गोल

काठमाडौं : दक्षिण एसियाली फुटबलको महासंग्राम साफ च्याम्पियनसिप हाल भारतमा जारी छ। समूह चरणका खेल सकिँदा सेमिफाइनलको समेत समीकरण बनिसकेको छ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र कुवेत थिए। जसमा नेपाल र पाकिस्तान बाहिरिँदा कुवेत र भारतले सेमिफाइनलमा स्थान बनाएका छन्। त्यस्तै, समूह ‘बी’मा भुटान र माल्दिभ्स बाहिरिँदा लेबनान र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन्।

 

जितविहीन पाकिस्तान, सान्त्वना जित निकालेर घर फर्कियो नेपाल

समूह ‘ए’को प्रतिस्पर्धामा कुवेत र भारत धेरै बलियो देखिए। शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको कुवेतले नेपालमाथि ३-१ तथा पाकिस्तानमाथि ४-० गोलको जित निकाल्दा भारतसँग १-१ गोलको बराबरी खेल्यो। र, ७ अंक जोड्दै शीर्षस्थानमा रह्यो।

समान २ जित र १ बराबरी खेलेको भारतले पनि ७ अंक नै जोड्दै समूह उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो। भारतले पाकिस्तानमाथि ४-० र नेपालमाथि २-० गोलको जित निकाल्दा कुवेतसँग १-१ गोलको बराबरी खेल्यो।

पाकिस्तानविरुद्ध नेपाल। फोटो : एन्फा


समूहको तेस्रो स्थानमा रहेर बाहिरिने टोली बन्यो नेपाल। नेपालले पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित हुँदा दोस्रो खेलमा भारतसँग २-० गोलअन्तरले पराजित भयो। समूह चरणबाटै बाहिरिने निश्चित भएपछिको खेलमा पाकिस्तानमाथि १-० गोलको जित निकाल्दै नेपालले साफको यात्रा टुंग्यायो।

त्यस्तै, पाकिस्तान समूह चरणको पहिलो र दोस्रो खेलमा भारत र कुवेतसँग समान ४-० गोलले पराजित हुँदा तेस्रो खेलमा नेपालसँग १-० गोलले पराजित बन्यो। र, समूह ‘ए’बाट जितविहीन बन्दै बाहिरियो।

 

जितविहीन भुटान, लेबनानको शतप्रतिशत जित

यता, समूह ‘बी’मा लेबनानले शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो।

माल्दिभ्सविरुद्ध लेबनान। Photo: South Asian Football Federation/Facebook


लेबनानले तीन खेल खेल्दा सबैमा जित निकाल्दै ९ अंक जोडेर समूह विजेता बन्दा माल्दिभ्स र भुटानलाई हराएको बंगलादेश ६ अंक जोडेर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। ३ अंक जोडेको माल्दिभ्स र अंकविहिन भुटान तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिए।

साफको समूह चरणमा शतप्रतिशत जित निकाल्ने एकमात्र टोली लेबनान बन्यो।

 

आमन्त्रित टोलीको दबदबा, फेरिएन ‘प्याटर्न’

जारी साफ च्याम्पियनसिप अघिल्ला संस्करणको भन्दा प्रतिस्पर्धात्मक छ। यो विषयलाई भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले पटक-पटक दोहोर्‍याउँदै आएका छन्।

भारत साफ क्षेत्रको कति शक्तिशाली छ भन्न तथ्य हालसम्मका संस्करणमा पाएको सफलताले नै देखाउँछ। सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा भारत च्याम्पियन बनेको थियो।

भारतीय फुटबल बृत्तमा साफ छाडेर माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने भन्ने बहस पनि चलिरहन्छ। यसपाला साफ च्याम्पियनसिपमा दुई टोली आमन्त्रित थिए : कुवेत र लेबनान।

भारतविरुद्ध कुवेत। Photo: South Asian Football Federation/Facebook


यसमा विशेष पहल भारतको रहेको भारतीय फुटबल संघ (एआईएफएफ)का अध्यक्ष कल्याण चौबेले दाबी गर्दै आएका छन्। साफको सर्वाधिक सफल भारत फेरि सेमिफाइनल पुग्दा साफको प्याटर्न उस्तै देखिएको छ।

तर, अनुभवी कुवेत र माथिल्लो वरीयताको लेबनान प्रतियोगितामा आउँदा प्रतिस्पर्धा थप बढेको छ। जसको नतिजा हो : नेपाल समूह चरणबाटै बाहिरिनु। अनुभवका हिसाबले भने यो नेपाललगायत साफ सबै टोलीका लागि बलियो पक्ष रह्यो।

तर आमन्त्रित टोलीमध्ये दुवै टोली शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्दा साफ क्षेत्रका चार टोली समूह चरणबाटै बाहिरिए। र यो अनपेक्षित पनि थिएन। सेमिफाइनलमा साफ क्षेत्रका भारत र बंगलादेश पुग्दा साफ च्याम्पियनसिपको फाइनलमा साफ क्षेत्रकै टोली त नपुग्ने हैनन्? भन्ने प्रश्न चाहिँ उब्जन्छ।

 

तीन खेलमा नेपालको पाँचका विरुद्ध दुई गोल

शहीद स्मारक ‘ए’ डिभिजन लिग चलिरहँदा नेपाली टोलीले साफको राम्रो तयारी गर्न पाएन। चानचुन साता दश दिनको समय पाएको नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेर भारत हानियो।

साफ च्याम्पियनसिप खेलेर स्वदेश फर्किएको टिम नेपाल। फोटो : एन्फा।


साफको समूह चरणमा नेपालले पाँच गोल खाँदा दुई गोल फर्कायो। नेपालले कुवेतसँग ३ र भारतसँग २ गोल खाँदा कुवेत र पाकिस्तानलाई समान १ गोल फर्कायो।

नेपालका लागि अञ्जन बिस्टले कुवेतविरुद्ध र आशिष चौधरीले पाकिस्तानविरुद्ध गोल फर्काए। नेपाली टोली बुधवार स्वदेश फर्किइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell