PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

विश्वासको मतका लागि कोशीका मुख्यमन्त्री कार्कीको अन्तिम दौडधुप, सभामुख निर्णायक



पहिलोपोस्ट

विश्वासको मतका लागि कोशीका मुख्यमन्त्री कार्कीको अन्तिम दौडधुप, सभामुख निर्णायक
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सरकार छाड्नसाथ संकटमा परेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले विश्वासको मतका लागि बिहीवार प्रदेश सभा बैठक बस्दैछ। निर्णायक मतदानको तयारी हुँदै गर्दा मुख्यमन्त्री कार्कीले सरकार टिकाउन विपक्षी दलहरुलाई पत्र पठाएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतलाई कार्कीले विश्वासको पक्षमा मत दिन आग्रह गर्दै पत्र पठाएका हुन्।

कार्कीको मुख्यमन्त्री पद टिक्छ कि टिक्दैन? मतदानपछि यसको टुंगो लाग्नेछ। यता प्रदेश सभाको अधिवेशन आह्वान गरेकै दिन काठमाडौंमा भेला भएका विपक्षी गठबन्धनले प्रस्ताव फेल गराउने निर्णय गरिसकेको छ। कांग्रेस, माओवादी केन्द्रसहित चार दलीय गठबन्धनले विश्वासको मत ‘फेल’ गराउने रणनीति तय गरेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए।

निर्वाचनलगत्तै संघदेखि प्रदेश सरकारमा कब्जा जमाएको नेकपा (एमाले) माओवादी केन्द्रले गठबन्धन परिवर्तन गरेसँगै कोशी प्रदेशमामात्र सीमित हुन पुगेको थियो। संघ र अन्य प्रदेशमा एमाले सरकार क्रमशः ढले पनि कोशीमा एमालेले आफ्नो नेतृत्वमा सरकार चलाइरहेको छ।

प्रदेशको नामाकरणसँगै विवादको घेरामा परेको कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो। गत फागुन १७ गते प्रदेशको नामाकरण कोशी भएको थियो।

कोशीमा एमाले नेतृत्वको सरकार ढलाउन गठबन्धनले निर्णायक मानिएकी जनता समाजवादीकी निर्मला लिम्बूले १७ जेठमा सरकार छाडेकी थिइन्। कोशीमा जसपाको एकमात्र सांसद छ। माओवादीले २३ जेठमा सरकार छाडेसँगै कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो।

यस्तो छ अंकगणित

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। अहिले एमालेको ४० र राप्रपाको छ गरी ४६ जना सांसदको साथ सरकारलाई छ। प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ।

त्यसो त कांग्रेसको २९, माओवादी केन्द्र १२, एकीकृत समाजवादी पार्टीका चार र जनता समाजवादी पार्टी (जसपा)को एक गरी अर्को गठबन्धनसँग पनि ४६ सांसद नै छ। यसले गर्दा सभामुख निर्णायक बन्नुपर्ने देखिन्छ। सभामुख माओवादीका बाबुराम गौतम छन्। गत पुस २४ गते ६० सांसदको समर्थनमा कार्की प्रदेश १ (कोशी) को मुख्यमन्त्री नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell