
भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी हिंसाग्रस्त क्षेत्र मणिपुर पुगेका छन्। गान्धी सरकारी हेलिकोप्टर प्रयोग गरी मणिपुरको चुराचांदपुर पुगेका हुन्। राहुल बिहीवार त्यसतर्फ जान लाग्दा प्रहरीले विष्णुपुरमा रोकिदिएका थिए। झन्डै ३४ किलोमिटर परै प्रहरीले रोक्नुको कारण थियो, बाटोमा हिंसा भड्किन सक्छ भन्दै।
त्यसपछि राहुल इंफाल फर्केर आएका थिए। मणिपुरमा पछिल्लो २ महिनादेखि स्थानीय कुकी र मैतेई समूदायबीच हिंसा भड्किएको छ। ३ मेबाट शुरु भएको हिंसामा परी १३१ जनाको ज्यान गइसकेको छ भने ४१९ घाइते भएका छन्। आफ्नो भ्रमण त्यहाँ शान्ति र अमनचायन कायमका लागि भएको राहुलले बताएका छन्।
मणिपुरमा ३८ लाख जनसंख्या रहेको छ। यहाँ मैतेई, नगा र कुकी समूदायको बाहुल्यता रहेको छ। मैतेई बढीजसो हिन्दुधर्म मान्छन् भने नगा कुकी क्रिस्चियन। मैतेई समूदायका ५३ प्रतिशत, नगा कुकी समुदाय ४० प्रतिशत रहेको छ। मैतेई समूदायले आफूहरुलाई पनि जनजातिको सूचीमा राख्न माग गरेपछि विवाद चर्किएको बताइएको छ। उक्त समूदायले मणिपुर उच्च अदालतमा यसबारे रिटसमेत दर्ता गरेका छन्। नगा र कुकीले भने मैतेईलाई जनजातिको आरक्षण दिन नहुने भन्दै विरोध जनाइरहेको छ।