PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मौसमी गर्मीसँगै बेइजिङमा कूटनीतिक सरगर्मी



पहिलोपोस्ट

मौसमी गर्मीसँगै बेइजिङमा कूटनीतिक सरगर्मी
होण्डुरसका राष्ट्रपति चीनमा/ फाइल फोटो

सांघाई: मौसमले गर्मीयाम छोएसँगै तापक्रम बढ्दै गर्दा बेइजिङमा कूटनीतिक सरगर्मी पनि तातिँदो छ। मंगलबार मात्र बेइजिङमा राष्ट्रपति सि चिनफिङले चार देशका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट गरे।

चिनियाँ प्रधानमन्त्री लि छियाङ्को निमन्त्रणामा थियानचिनमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको १४औँ एनुअल मिटिङ अफ न्यू च्याम्पियन (एएमएनसी) 'समर डाबोस'मा सहभागी हुन चीन पुगेका न्युजिल्याण्ड, बार्बाडोस, भियतनाम र मंगोलियाका प्रधानमन्त्रीसँग राष्ट्रपति सिले मंगलबार बेइजिङमा छुट्टाछुट्टै भेट गरे। २०२३ लागेसँगै कूटनीतिक सक्रियतालाई तीब्र पारेको बेइजिङले यसबिच फ्रान्सेली राष्ट्रपतिदेखि जर्मन चान्सलर सम्मलाई ग्रेट हल अफ पिपल्समा स्वागत गरिसकेको छ। त्यस्तै प्यालेस्टिनी राष्ट्रपतिदेखि तीन महिना अगाडि मात्र कूटनीतिक सम्बन्ध स्थापना गरेको होन्डुरसका राष्ट्रपति समेत यो महिनामा नै बेइजिङ पुगेका छन्। 

यही जुनको मध्येतिर चिनियाँ प्रधानमन्त्री लि युरोपेली देशको भ्रमण गरेका छन्। उनले फ्रान्स र  जर्मन भ्रमण गरि त्यहाँ उच्चस्तरीय भेटवार्ता गरेका छन्। पेरिसमा रहँदा उनले छिमेकी देश पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफसँग पनि भेट गरे।

त्यस्तै मेको अन्त्यतिर ग्रेट हल अफ पिपल्समा रुसी प्रधानमन्त्रीलाई स्वागत गरेको बेइजिङले मेमै पाँच मध्ये एसियाली देशका नेताहरुलाई एकसाथ स्वागत गर्‍यो। सियानमा चिनियाँ राष्ट्रपति सिले चाइना-सेन्ट्रल एसिया समिटको आयोजना गर्दै काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका राष्ट्रपतिलाई चीन निम्ताए। मेमै इरिटियाका राष्ट्रपतिलाई समेत ग्रेट हल अफ पिपल्समा सिले स्वागत गरे।

एक पछि अर्को राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई बेइजिङमा स्वागत गरेको चीनले यसबिच विश्वका व्यवसायिक नेतृत्वलाई पनि स्वागत गरिरहेको छ। एप्पल, टेस्ला, मेटादेखि माइक्रोसफ्टका मालिकलाई स्वागत गरेको छ।  

डिकपल-डिरिस्क लाई अस्वीकार

अमेरिकी चीनप्रतिको 'डिकपल' नीति र युरोपेली युनियनको 'डिरिस्क'को नीतिलाई चिर्दै चीनले यतिबेला आफ्नो कूटनीतिक सक्रियतालाई तीव्र पारेको छ। मंगलबार थियानचिनमा सम्पन्न समर डाभोस फोरमले आर्थिक मन्दीको जोखिम न्यूनीकरण, विश्वव्यापी आर्थिक पुनरुत्थान र वृद्धिका लागि सम्वाद र सहकार्यको खाँचो औँल्याउँदै डिकपल र डिरिस्क नीतिको आलोचना गर्‍यो। विश्व अर्थतन्त्र एकाआपसमा गाँसिएकाले 'डिकपल' र 'डिरिस्क' गलत प्रस्ताव भएको निष्कर्ष निकाल्यो।

सो मिटमा विश्व व्यापार संगठनका महानिर्देशक नोगोजी ओकोन्जो–इवेलाल विश्वलाई दुई व्यापारिक ब्लक विभाजित गरियो भने यसले दीर्घकालीन रूपमा विश्वव्यापी जीडीपी पाँच प्रतिशतले खुम्चिनेछ, विकासशील देश दोहोरो अंकको नोक्सानीको साथ सबैभन्दा ठूलो शिकार हुने भन्दै विखण्डनको कुरा संसारले सहन नसक्ने बताए। भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले डिकपलिङ मुद्दा हेरिरहेको र यसले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन नगर्ने भन्दै भने,  'कुनै पनि देशले मात्र यी समस्याको समाधान गर्न सक्दैनन्।'

न्युजिल्याण्डले चीनसँगको सम्बन्धको विकासलाई ठूलो महत्व दिने भन्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले राष्ट्रपति सिसँगको भेटमा भनेका छन्, 'मैले यस पटक चीनमा एक विशाल आर्थिक र व्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गरेँ जुन अधिक सहयोगका अवसरहरूको खोजी गर्ने र न्युजिल्याण्ड-चीन सम्बन्धलाई नयाँ स्तरमा बढावा दिने आशामा थियो। न्युजिल्याण्ड चीनसँगको कर्मचारी आदानप्रदानलाई मजबुत बनाउन, अर्थतन्त्र र व्यापार, शिक्षा, विज्ञान र प्रविधि र मानविकीका क्षेत्रमा सहयोग विस्तार र गहन बनाउन र दुई देशबीचको स्वतन्त्र व्यापार सम्झौताको अपग्रेड गरिएको संस्करणलाई संयुक्त रूपमा कार्यान्वयन गर्न इच्छुक छ।'

उनले दुई देशबिचको मतभेदले द्विपक्षीय सम्बन्धलाई परिभाषित गर्न नहुने भनेका छन्, 'स्पष्ट आदानप्रदान, पारस्परिक सम्मान र मतभेद बिना सद्भावलाई परिभाषित गर्नुपर्दछ। न्युजिल्याण्ड टापु राष्ट्रहरूको विकासमा सहयोग गर्न चीनसँग सम्पर्क कायम राख्न इच्छुक छ।'

अमेरिकी नेतृत्वको 'फाइभ आइज अलायन्स' र 'एंग्लो-साक्सन राष्ट्र'हरुको सदस्य न्युजिल्याण्डले चीनसँगको सम्बन्ध विकास गर्न चाहनु आफैमा महत्त्वपूर्ण हो। फाइभ आइज अलायन्सका राष्ट्रहरु मध्ये न्युजिल्याण्ड चीनसँगको सम्बन्धलाई अगाडि बढाइरहेको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, र क्यानडा पछिको अलायन्स सदस्य न्युजिल्याण्डले २०२२ को अप्रिलमा पूर्ववर्ती सरकारको पालामा दुई देशबिचको स्वतन्त्र व्यापार सम्झौताको प्रोटोकललाई अपग्रेड गरेका थिए।

त्यस्तै, चीन भ्रमणमा निस्कुनु अगाडि न्युजिल्याण्डका प्रधानमन्त्री हिप्किन्सले चिनियाँ राष्ट्रपति सि प्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको टिप्पणीप्रति असहमति व्यक्त गरेका थिए। 'चीन सरकारको रुप चिनियाँ जनताको विषय' भएको भन्दै अमेरिकी नेतृत्वको टिप्पणीलाई उत्तेजक भएको बताएका थिए। उनको यो टिप्पणीले न्युजिल्याण्ड चीनसँगको सम्बन्धमा स्वाधिन नीति अंगिकार गर्दै आएको देखाउँछ।

व्यवसायिक नेतृत्व चिनियाँ पक्षमा

चीनले आफ्नो कूटनीतिक सर्कललाई फराकिलो पार्दै अगाडि बढेको छ। छिमेकी देशसँगै प्यसिफिक, मध्ये अमेरिका, ल्याटिन अमेरिका हुँदै अफ्रिकी देशका नेतालाई बेइजिङमा स्वागत गरेको चीनले व्यवसायी नेतृत्वलाई पनि स्वागत गरिरहेको छ।

विशेष गरी गत मार्चमा चिनियाँ प्रधानमन्त्री पदमा आएका लिले खुला आर्थिक नीतिलाई थप खुलापनमा लैजाने भन्दै विश्वभरका व्यवसायी तथा लगानीकर्तालाई चीनमा स्वागत गर्ने घोषणा गरेका थिए। सोही अनुसार विश्व व्यापारमा नेतृतव गरिरहेका लगानीकर्ता तथा व्यापारिक नेतृत्वहरुले बेइजिङको भ्रमण गरिरहेका छन्। त्यस्तै, उनीहरुले अमेरिकी डिकपल नीतिको आलोचना गरिरहेका छन्।

बेइजिङ भ्रमण गर्ने मध्येका एक हुन् टेस्लाका सीइओ एलन मस्क। उनले टेस्लाले डिकपल नीतिको विरोध गर्ने र चीनमा व्यापार बढाउन इच्छुक रहेको बताएका थिए। त्यस्तै माइक्रोसफ्टका लगानीकर्ता तथा विल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका सहअध्यक्ष विल गेट्सले पनि चीनमा विकास र उत्पादनलाई बढवा दिनु चीन, विकासशील देश तथा विश्वकै लागि फाइदाको कुरा भएको बताएका छन्। त्यस्तै भोल्सवागन, स्टारबक्सलगायतका पश्चिमा कम्पनीका प्रमुखले पनि डिकपल नीतिको विरोध गरेका छन्।

यसैबिच अर्थमन्त्री जेनेट येलेनले जुलाईको पहिलो साता चीनको भ्रमण गर्ने बताइएको छ। अमेरिकी सञ्चार माध्यमहरुले भ्रमणबारे रिपोर्ट प्रकाशित गरे पनि चिनियाँ विदेश मन्त्रालयले भने यसको पुष्टि गरेको छैन। यो भ्रमण भए दुई देशबिच तिक्ततापछि बेइजिङ भ्रमण गर्ने बाइडेन क्याविनेटकी दोस्रो अधिकारी हुने छन्। 

अमेरिकी फेडरल रिजर्भमा माइक्रोइकोनोमिक्स्टको रुपमा काम गरिसकेकी उनी चीनसँगको व्यापार सम्बन्धमा नरम मानिन्छिन्। उनले हालै अमेरिकी कंग्रेसको टेस्टोमोनीका क्रममा चीनसँगको स्वस्थ आर्थिक सम्बन्धको पक्षमा बोल्दै चीनसँग 'डिकपलिङ' गम्भिर भुल हुने बताएकी थिइन्।  यद्यपि बाइडेन प्रशासनले चीनमा अमेरिकी लगानीलाई नियमन र कटौती गर्ने कार्यकारी आदेश जारी गर्ने तयारी गरिरहेको छ। जुन जुलाईको अन्त्यसम्म हुने अपेक्षा गरिएको छ। अर्कोतर्फ अमेरिका आफैमा पनि आर्थिक संकटबाट गुज्रिरहेको छ। यसबीच बाइडेन प्रशासनले ऋणको सीमा बढाएको छ। त्यसका लागि ऋणका लागि क्रेता खोज्नुपर्ने पनि छ। बाइडेनले २०२५ जवरी १ सम्ममा ३१.४ ट्रिलियन अमेरिकी डलर रहेको ऋणको सीमालाई निलम्बन गर्ने विधेयकमा हस्ताक्षर गरेका थिए। अमेरिकी ऋणको एक महत्त्वपूर्ण क्रेता चीन हो। २००८ मा अमेरिकामा आर्थिक मन्दी छाउँदा चीनले ऋण खरिद गरेर सहयोग पुर्‍याएको थियो। त्यतिवेला पनि कुटनीतिक संकटका बीचअमेरिकी अर्थमन्त्री बेइजिङ पुगेका थिए।

ब्लिंकनको भ्रमणले केही संवादको वातावारण खुला गरे पनि अझै सहज भने भइसकेको छैन। ब्लिंकन बेइजिङबाट फर्किए लगत्तै बाइडेनले चिनियाँ राष्ट्रपतिलाई 'अधिनायक' भएको आरोप लगाएका थिए। त्यस्तै पछिल्लो समय फेन्टानिलको मुद्दा अमेरिकामा चर्किँदै गएको छ। अर्कोतर्फ क्युवामा चिनियाँ जासुसी अड्डाको मुद्दा अमेरिकी अधिकारी तथा सञ्चार माध्यमले उचालिरहेका छन्। अमेरिकी प्रशासनमा दुई लबी समूहको टकराब यतिवेला देखिन्छ। एउटा लवि समूह सैन्य अर्को आर्थिक। आर्थिक समूह चीनसँगको सम्वादलाई सहज बनाउन चाहन्छ। अर्कोतर्फ सैन्य समूह चीनसँग डिकपल नीतिलाई तिब्र पार्न चाहन्छ। वित्तिय तथा व्यापार समूहको नेतृत्व गर्ने अर्थमन्त्री येलेनले बेइजिङको भ्रमण गर्ने इच्छा पहिले देखि नै राख्दै आए पनि सैन्य टकरावका कारण हुन सकेको छैन्। 

आफ्नो लबिलाई बलियो पार्दै चीन

अमेरिकासँगको टकरावलाई एकातिर राख्दै बेइजिङ कूटनीतिक रुपमा आफ्नो लबिलाई अगाडि बढाइरहेको छ। अमेरिकी अलायन्सका राष्ट्रहरुसँग कूटनीतिक संवादलाई निरन्तरता दिँदै आफ्नो खेमाका राष्ट्रहरुसँगको सक्रियतालाई बढाइरहेको छ।

चीनले बीआरआईसँगै ग्लोवल सेक्युरिटी इनिसिएटिभ (जीएसआई), ग्लोवल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) जस्ता अवधारणामार्फत आफ्नो प्रभाव र उपस्थितिलाई विस्तार गरिरहेको छ। यही कूटनीतिक सक्रियताकै उदाहरण हो यो गर्मीयाममा बेइजिङमा बढेको कूटनीतिक सरगर्मी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell